नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले सभापतिमा प्रस्ताव गरे आफूले समर्थन गर्ने बताएका छन्।
आज चितवन काठमाडौं प्रजातान्त्रिक मन्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा निधिले देउवाले पौडेललाई सभापति समर्थन गरे आफू पनि बाधक नबन्ने बताए।
`सभापति देउवाले सभापतिमा पौडेललाई प्रस्ताव गरे म समर्थन गर्छु, बाधक बन्दिनँ, नभए म पनि सभापतिमा उम्मेदवारी दिन्छु´ उनले भने।
उनले १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेकाहरू यसपटक उम्मेदवार नबन्दा राम्रो हुने पनि बताए।
बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा पौडेल उपस्थित नभएपछि निधि र पौडेलबीच फोनमा कुरा भएको थियो।
पौडेल पक्षले सभापति उम्मेदवार तय गर्न सकेको छैन।