नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्।
कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरू हुन केही समय बाँकी हुँदा संस्थापनइतर पक्षका नेताहरू साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला भएका छन्।
छलफलमा संस्थापनइतर पक्षका नेताहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, गगन र रामचन्द्र पौडेल सहभागी छन्।
प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठ्न अघि बढेपछि पुन: रामचन्द्रलाई नै अगाडि बढाउन छलफल चलिरहेको स्रोतले बतायो।
हिजो राति १२ बजेसम्म बसेको छलफलमा रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउन प्रस्ताव गरिएको थियो।
सहमतिका लागि आज बेलुकीसम्म प्रयास गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बताए।
‘हिजो पनि छलफल गरिएको थियो। आज पनि छलफल जारी र बेलुकासम्म सर्वसम्मत उम्मेदवार छान्न सकिन्छ भन्ने विश्वास छ’, मिनेन्द्र रिजालले भने।
संस्थापनइतर पक्षमा नेता प्रकाशमान सिंह र शेखर कोइरलाले आफूहरू सभापतिको दौडबाट पछि नहट्ने अडान लिइरहेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता सिंह र कोइरालाबीच सहमति नजुटे महाधिवेशनमा सहभागी नहुनेसमेत बताएका थिए।
यसैबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा शेरबहादुर देउवाले प्रस्ताव गरे आफूले समर्थन गर्ने बताएका छन्।
आज चितवन-काठमाडौं प्रजातान्त्रिक मञ्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा देउवाले पौडेललाई सभापति समर्थन गरे आफू पनि बाधक नबन्ने निधिले स्पष्ट पारेका हुन्।
‘सभापति देउवाले पौडेललाई सभापतिमा प्रस्ताव गरे म समर्थन गर्छु, बाधक बन्दिनँ, नभए म पनि सभापतिमा उम्मेदवारी दिन्छु,’ उनले भने।
उनले १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेकाहरू यसपटक उम्मेदवार नबन्दा राम्रो हुने पनि बताए।
बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा पौडेल उपस्थित नभएपछि निधि र पौडेलबीच फोनमा कुरा भएको थियो।
यता कांग्रेस संस्थापन पक्षले प्रधानमन्त्री एवम् वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको लागि उम्मेदवार छनोट गरिसकेको छ।