नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिले भाग लिन नपाउने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको विवादले अधिवेशन हुन नसक्दा यहाँबाट महाधिवेशन प्रतिनिधि चुनिन पाएनन्।
विवाद समाधान नभएकाले महाधिवेशनपछि मात्र यहाँ क्षेत्रीय अधिवेशन हुने जिल्ला सभापति महेन्द्र रायले जानकारी दिए।
यसअघि १५ मंसिरमा भएको क्षेत्रीय अधिवेशन विवादित भएपछि केन्द्रिय निर्वाचन समितीले क्षेत्रीय सभापतिलगायत सम्पूर्ण प्रतिनिधिलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरेको थियो।
मतदान अधिकृत धिरेन्द्र मण्डलले धाँधलीपूर्वक अधिवेशन गराई प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराएको भन्दै १८ मंसिरमा राजीनामा दिएका थिए।
उनको बयान र निर्वाचन अधिकृत ईन्द्र बहादुर अधिकारीको प्रतिवेदनको आधारमा क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र रद्द गरिएको थियो।
त्यहाँ पुनः अधिवेशन गराउन केन्द्रिय निर्वाचन समितिले हेम बहादुर कार्कीलाई मतदान अधिकृतको रुपमा खटाएको थियो।
अधिवेशनका लागि दुबै पक्षबीच सहमतीको प्रयास सफल नभएपछि तीन दिनअघि उनले पनि राजीनामा दिएका छन्।