नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनलाई लक्षित प्रदर्शनीमार्गमा सवारीसाधन ‘वान वे’ बनाइएको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार चाप बढेको खण्डमा बेला-बेला प्रदर्शनीमार्गलाई बन्द गराइने रणनीति बनाइएको छ।
कांग्रेस महाधिवेशन शुक्रबार दिउँसो १ बजे उद्घाटन हुँदैछ। महाधिवेशनमा हुने भिडभाड र सवारीसाधनको चापलाई लक्षित गरी ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए।
उनका अनुसार प्रदर्शनी मार्गको सबै पार्किङ खुलामञ्चमा सारिएको छ। भृकुटीमण्डप, राष्ट्रिय सभागृह, रत्न राज्यलक्ष्मी क्याम्पस वरपर सधैं रहने पार्किङ सबै खाली गराइएको छ।
‘भिआइपीहरूका सवारीसाधन भृकुटीमण्डपमै पार्किङ हुनेछन्, अरूलाई खुलामञ्चमा पठाइएको छ,’ शर्माले भने।
प्रदर्शनीमार्ग हुँदै गुड्ने सवारीसाधनलाई शंकरदेव क्याम्पस हुँदै पुरानो बसपार्क ‘डाइभर्ट’ गरिएको छ।
‘अहिले खासै भिडभाड छैन, जामको समस्या देखिएको छैन,’ प्रहरी उपरीक्षक शर्माले भने, ‘खासै ट्राफिक डाइभर्सन गराउनु परेको छैन।’
टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ। त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएको छ ।
महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ । अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन्। महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ ।
यसरी सवारी रूट र त्यस क्षेत्र तथा आसपासका लागि महाशाखाले एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, २५ जुनियर प्रहरी अधिकृत, ६५ प्रहरी हवल्दार र जवानसहित ९५ ट्राफिक प्रहरी खटाएको छ।
अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिने छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ।