नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।
दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्।
उद्घाटन अघि कांग्रेसले र्यालीको आयोजना नगर्ने भएको छ। काठमाडौंका सभापति कृष्ण सबुज बानियाँका अनुसार ट्राफिक अस्तव्यस्त हुन नदिन र्याली नगरिने बताएका हुन्।
महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ।
उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।
महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुनेछन्। तर, एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले आउने-नआउने टुंगो छैन।
महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।
उद्घाटन कार्यक्रम २ घन्टा चल्नेछ।
उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ। बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ।
महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबारे बन्द सत्रमा छलफल हुनेछ।
कांग्रेसले बिहीबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक गरेर यी प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो।
कांग्रेसले अहिले नेतृत्व महाधिवेशन गरेको हो। नीति महाधिवेशन भने नयाँ नेतृत्व आएपछि हुनेछ।
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ। दाबी विरोधउपर निर्णय पनि भोलि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ।
मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछन् भने २९ मतपत्र रहनेछ। कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।