नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ।
यो महाधिवेशनले नेतृत्व मात्रै परिवर्तन गर्नेछ, नीति महाधिवेशन नयाँ नेतृत्वले पछि आयोजना गर्नेछ।
०७२ को १३ औं महाधिवेशनमा सभापति पदमा उठेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपालि के गर्छन्?, अरूलाई सघाउँछन् कि आफैँ उठ्छन्, उनको भूमिका के हुन्छ खुलिसकेको छैन।
यद्यपी सिटौला आफू जहाँ उभियो त्यहीँबाट कांग्रेस एकता सुरू हुने दाबी गर्छन्। सिटौलाले आफ्नो समूह यसपालि पनि निर्णायक शक्ति रहने संकेत भने महाधिवेशनको पूर्वसन्ध्यामा आफूनिकटको भेलामा गरे।
१३ औं महाधिवेशमा पहिलो चरणमा तेस्रो भोट ल्याएका सिटौला दोस्रो चरणमा निर्णायक भूमिकामा रहे, त्यसबेला उनले शेरबहादुर देउवालाई समर्थन गर्दा देउवा सभापति बनेका थिए। सिटौलाले त्यसपछि आफ्नै गुटलाई निरन्तरता दिइरहेका छन्।
यसपालि उनलाई आफूसँग रहेका नेता सेटल गराउनुपर्ने जिम्मेवारी छ। देउवासँग सहकार्य गर्दै सिटौलाले कतै जिल्ला सभापति जिताए भने प्रदेश १ मा उद्धव थापालाई कांग्रेस सभापति नै बनाएका छन्।
सिटौला पक्षले झापा र बागलुङमा जिल्ला सभापति जितेको छ। सिटौलाले केन्द्रीय सदस्य प्रदीप पौडेल र मन्त्रीसमेत रहेका उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं र नेता भीमसेनदास प्रधान लगायतलाई 'सेटल' गराउनुपर्नेछ।
बागमती प्रदेश सभापति उठेका प्रधानले सभापति देउवा पक्षका उम्मेदवार ईन्द्र बानियाँलाई समर्थन गर्दा बानियाँ सभापति बनेका थिए।
सिटौला पक्षबाट महामन्त्रीमा प्रदीप पौडेलले उम्मदेवारी घोषणा गरेका छन्। पौडेललाई आफैँ सभापति उठेर महामन्त्रीमा उठाउँछन् कि अरू कुनै उम्मेदवारसँग सहकार्य गराउँदै सेटल गराउने भूमिकामा सिटौला रहन्छन् त्यो प्रष्ट भइसकेको छैन।
यद्यपी पौडेललाई उनले आफ्नो राजनीतिक उत्तराधिकारीका रूपमा चिनाउन खोजेका छन्। ‘युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी मेरो तर्फबाट प्रदीप पौडेलजीलाई दिएको छु,’ सिटौलाले भने।
उनले अब युवाहरू पार्टीमा आउनुपर्ने बताएका छन्। ‘युवाहरूलाई म अगाडि बढाउन चाहन्छु। अब पालो युवाको हो,’ सिटौलाले भने, ‘हामीसँग अनुभव छ। बढो इमान्दारितापूर्वक अगाडि बढ्नुस् युवालाई सहयोग गर्छु। छलछाम नगर्नुस्। कसैले कसैलाई प्रयोग नगर्नुस्। विश्वास आर्जन गर्नुस्।’
उनले केन्द्रदेखि तलसम्म रहेका नेताहरूलाई विश्वास दिलाउँदै जुनसुकै परिस्थितिमा साथ दिन आफूले चाहेको पनि बताएका छन्। तर सिटौला चुनावी रणनीतिबारे भन्ने अझै खुलेका छैनन्।
‘मेरो चुनावी रणनीतिक दृष्टिकोणबारे उम्मेदवारको मनोनयन दर्ता (मंसिर २५) का दिन बोल्नेछु,’ प्रेसलाई अन्तर्वार्तासमेत नदिइरहेको उल्लेख गर्दै उनले भने, ‘मनोनयन दर्ता गर्नुअगाडि म आफ्ना कुरा राख्नेछु।’
सिटौला आफैँ सभापतिमा मनोनयन गर्छन् वा गर्दैनन् भन्ने प्रष्ट छैन।
‘मसँग जोडिएका पार्टीका साथीहरू स्थापित गर्ने मेरो लक्ष्य रहनेछ,’ सिटौला भन्छन्, ‘यसो गर्दा कहाँ स्थापित हुन्छु भन्ने मलाई थाहा छैन। तर साथीहरूलाई बलियो बनाएँ भने सतह बलियो हुन्छ। नेता तथा कार्यकर्ता र जनताले हामीलाई भरोसाको नजरले हेरेका छन्।’
सबैको भरोसाको केन्द्र कांग्रेसलाई बनाउने आफ्नो मुल गन्तव्य रहेको सिटौलाले बताए। ‘मेरो निजी केही स्वार्थ यसमा हुने छैन,’ उनले भने। आफू जहाँ उभियो त्यहीँ कांग्रेस रहने दाबी सिटौलाको थियो। आफ्नो समूह निर्णायक रहेको संकेत उनले गरेका छन्।
‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। अहंकार भन्ने लाग्ला तर यो अहंकार होइन। कांग्रेसको सम्पूर्ण एकताको केन्द्र म जहाँ रहन्छु त्यहीँ रहनेछ,’ सिटौलाले भने।
के गर्लान् सिटौला?
१३ औं महाधिवेशनमा सभापति पदमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो।
तत्कालीन कार्यबहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन्।
दोस्रो चरणमा बढी मत ल्याउने देउवा र पौडेलबीच चुनाव गरिएको थियो। त्यसबेला सिटौलाले सभापतिमा देउवालाई सहयोग गरेका थिए। सिटौलाले पहिलो चरणमा तीन सय २४ मत ल्याएका थिए।
देउवाले १८२२ मत ल्याएर सभापति जिते भने पौडेलले जम्मा १२९६ मतमात्रै ल्याए। त्यसबेला तीन हजार एक सय २० महाधिवेशन प्रतिनिधिले भोट हालेका थिए।
त्यसबेला सिटौला पक्षबाट गगन थापा महामन्त्री उठे पनि पराजित भएका थिए। अहिले गगन सिटौलाभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापनइतरका नेताहरूसँग नजिकिएका छन्।
यसपालि महाधिवेशन प्रतिनिधि करिब चार हजार पाँच सय छन्। सभापतिमा संस्थापन पक्षबाट देउवा नै उम्मेदवार छन्। उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा उम्मदेवारी दिँदैछन्।
वरिष्ठ नेता पौडेल पक्षले उम्मेदवार टुंग्याउन सकेको छैन। प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठ्ने तयारीमा छन्। अहिलेसम्म चार जना सभापतिका उम्मेदवार देखिएका छन्।
यस्तो अवस्थामा सिटौलासमेत थपिएर सभापतिमा पाँच जना उम्मदेवार हुन्छन् कि सिटौलाले सभापतिमा अरू कसैलाई समर्थन गर्छन् भन्ने कुर्न शनिबारसम्म पर्खनुपर्नेछ।
सिटौलानिकट एक नेताका अनुसार देशभर आफ्नो पक्षमा कति शक्ति छ भन्ने बुझ्न सिटौलाले सभापति पदमा उम्मेदवारी दिन पनि सक्छन्। तर कसैसँग मिलेर सिटौला आफू उपसभापतिलगायत पदमा नबस्ने दाबी पनि ती नेताको छ।