नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा उनले १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफ्नो उम्मेदवारीसँगै ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणापत्र पनि सार्वजनिक गरेका छन्।
उनले पार्टी पुनर्जागरण र रूपान्तरणका लागि आफूले उम्मेदवारी दिएको बताए।
शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागू गर्नुपर्ने उल्लेख गरे।
नेता थापाले उक्त कार्यदिशा अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे।
‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन। चुनाव आफैं जितिन्छ। आफैं आउँछन मतदाता। लाइन लागेर आउँछन्। कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन्। कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो,’ उनले भने, ‘त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ। हाम्रो कार्यक्रमले बनाउँछ। यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो।’
हेर्नुहोस् पूर्णपाठ