नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेता/कार्यकर्ताको भिड छ।
शुक्रबारदेखि हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि आएका प्रतिनिधिहरू नाम दर्ता गर्न केन्द्रीय कार्यालय पुगेका छन्।
प्रतिनिधिकै भिडमा थपिए पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि। कांग्रेसले लामो समयपछि पार्टी कार्यालयमै आज केन्द्रीय समितिको बैठक राखेको थियो।
यसबीचमा नेता/कार्यकर्ताले क्रियाशील सदस्यताको विवाद समाधान गर्न माग राखेर धर्ना र अनसन गरेपछि कांग्रेसले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै निवास बूढानिलकण्ठमा केन्द्रीय समिति बैठक राखेको थियो।
तर आज केन्द्रीय समिति बैठक भने पार्टी कार्यालयमै गरियो। पार्टी कार्यालयमा अरू बेलाजस्तो नेता/कार्यकर्ता अनसनमा थिएनन्, महाधिवेशनको उत्सव थियो।
बिहान ११:३० का लागि केन्द्रीय समिति बैठक राखे पनि नेताहरू अलि ढिला गरी पुगे। सभापति देउवा आइसक्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल आएनन्, पार्टी कार्यालयमा उनलाई नेता/कार्यकर्ताले खोजे।
आजको केन्द्रीय समिति बैठक कांग्रेसका लागि विशेष थियो। २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक थियो। भोलिदेखि १४ औं महाधिवेशन सुरू हुँदैछ।
महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा नेता पौडेल र प्रकाशमान सिंह उपस्थित भएका थिएनन्। पौडेलको सचिवालयका अनुसार बैठकमा नआउने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति देउवालाई पठाइएको थियो।
‘बैठकका एजेन्डा पनि जानकारी थिएन। उहाँ आज बैठकमा नजानुभएको हो। यसबारे सभापतिलाई जानकारी थियो,’ पौडेलको सचिवालय स्रोतले भन्यो। आफ्नो पक्षबाट सर्वसम्मत सभापतिका लागि उम्मेदवार तय गर्न नसक्दा पौडेल तनावमा छन्।
साथै सहमहामन्त्री थप्न केन्द्रीय समितिमा प्रस्ताव ल्याउन सक्ने चर्चा पनि थियो। पौडेल आठ सहमहामन्त्रीबाट वृद्धि गर्ने पक्षमा छैनन् भने सभापति देउवा दुई जनासम्म खुलातर्फ सहमहामन्त्री थप्न सकिने बताइरहेका थिए।
आज करिब आधा घन्टा मात्रै केन्द्रीय समिति बैठक चल्यो। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तीन वटा प्रतिवेदन पारित भयो भने विधान संशोधनलगायत अनुमोदन गरिएको छ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का तथा कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको छ।
बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले मात्रै बोलेका थिए।
केन्द्रीय समिति बैठकमा पौडेललाई नदेखेपछि खोजी भएको थियो। पौडेललाई बैठकमा सहभागी हुन मुख्यसचिव पौडेल बोहराटारस्थित वरिष्ठ नेता पौडेलको घरमै गएर आग्रहसमेत गरेको जानकारी बैठकमा गराइएको थियो। मुख्यसचिवलाई वरिष्ठ नेता पौडेलले केन्द्रीय समिति बैठकमा आफू सहभागी नहुने बताए पनि कारण खुलाएका थिएनन्।
बैठकपछि प्रवक्ता शर्माले केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता उपस्थित नभएको बताए। ‘उद्घाटन सत्रमा पनि आउनु भएन भने दु:खद हुन्छ,’ उनले भने।
साथै सहमहामन्त्री सुनिलबहादुर थापाले पनि पौडेललाई आफूले केन्द्रीय समिति बैठकमा खोजे पनि नदेखेको बताए। ‘उहाँ किन आउनुभएन हामीलाई जानकारी छैन। तर मैले उहाँलाई केन्द्रीय समिति बैठकमा नदेखेपछि खोजेँ,’ उनले भने।
पौडेलले आफ्ना पक्षबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार तय गर्न नसक्ने हो भने आफूलाई राजनीतिबाटै बिदा दिन आफूनिकट शीर्ष नेता र केन्द्रीय सदस्यहरूलाई बुधबार साँझ चाक्सीबारीमा आग्रह गरेका थिए।