नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारका आकांक्षीले टाँगेका पम्पिलेट र ब्यानर हटाउन प्रहरीले माइकिङ गर्न थालेको छ।
बिहिबार दिउँसोदेखि प्रचार प्रसार समितिको आग्रहमा प्रहरीले कांग्रेसको निर्वाचन आचार संहिता विपरित राखिएका त्यस्ता ब्यानर टाँग्न नमिल्ने भन्दै हटाउन माइकिङ गरेको हो।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनस्थलमा सम्भावित आकांक्षीले आफुखुसी भृकुटीमण्डप हाताभित्र र बाहिर पम्प्लेट टाँगेर कुरूप बनाएका छन्।
त्यसरी आफूखुसी उम्मेदवारले प्रचार सामाग्री तथा पम्प्लेट टाँग्न नपाइने भन्दै प्रहरीले माइकिङ गरेर हटाउन आग्रह गरेको हो। प्रहरीले यदि ती प्रचार सामाग्री सम्बन्धित व्यक्तिले नहटाए आफैंले हटाउन बाध्य हुने भन्दै माइकिङ गरिरहेको छ।
यसअघि नेपाली कांग्रेस निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकले आचारसंहिता पालना गर्नुपर्ने बताएको छ।
आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।
कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह / भृकुटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्वन्धितस्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री: व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादि टास्न एवं माइकिङ्ग गर्न समेत मनाही गरिएको र यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख गरिएको छ ।
निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थलभित्र (भृकुटी मण्डप / राष्ट्रिय सभा गृह) प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख गरिएको छ।
हेर्नुहोस् आचार संहिता