बाराको गढिमाई नगरपालिका-४ का सन्तोषकुमार यादव १२ दिनदेखि दिनरात काठमाडौंको भृकुटीमण्डपमा भिडिरहेका छन्।
उनका साहुले नेपाली कांग्रेसको आसन्न १४औं राष्ट्रिय महाधिवेशनको मञ्च बनाउने जिम्मा लिएपछि उनी रातदिन नभनी काममा खटिएका हुन्।
उनी भृकुटीमण्डपमै काम गर्न थालेको पाँच दिन भएको छ। त्यसअघि कारखानामा काम गर्थे।
मञ्च बनाउन चाहिने सामान भृकुटीमण्डप ल्याइसकेपछि सन्तोष आफ्ना २० जना सहकर्मीका साथ काम गरिरहेका छन्। अर्डरअनुसारको कामका लागि कामदारलाई खटनपटन गर्छन्। शुक्रबार महाधिवेशन उद्घाटनभन्दा अगाडि नै मञ्च तयार पारिसक्नुपर्ने हुँदा उनी र उनका सहकर्मीलाई यसो अढेस लागेर सुत्ने फुर्सतधरि छैन।
कामको भ्याइनभ्याइले केही दिनदेखि उनीहरू आफ्नो कोठा जान पाएका छैनन्। भृकुटीमण्डपतिरै खानपिन गर्छन्। लुगा, हातखुट्टा मैला छन्। चिसोले पटपटी फुटेका छन्।
‘काम गरेपछि त्यति जाडो हुँदैन, जाडो भयो भने राति कागज, प्लाई बाल्छौं, ताप्दै काम गर्छौं,’ यादव भन्छन्, ‘कांग्रेसको काम थालेपछि एक झमट सुत्न पाएको छैन, राति शित पर्दा ओत लाग्ने ठाउँ पनि छैन।’
कांग्रेस महाधिवेशन उद्घाटनको यो मञ्च ४० लाख रूपैयाँमा ठेक्का लगाइएको हो। रोशन आर्ट सर्भिस, शंखमूलले मञ्च बनाउने ठेक्का लिएको छ।
रोशन आर्टका सञ्चालक रोशन जैसवाल हुन्। सर्लाही, चक्रभट्टा गाउँपालिका-१ का रोशन २२ वर्षदेखि मञ्च बनाउने र सजावटको काम गरिरहेका छन्।
उनका अनुसार यो मञ्च १६० देखि १८० जनासम्म अतिथि अट्ने क्षमताको निर्माण भइरहेको छ। उनले पहिले-पहिले राजनीतिक दलका साना कार्यक्रममा मञ्च बनाएका थिए। भृकुटीमण्डपमा लाग्ने ठूला मेलाहरूमा सजावट गरेका थिए।
‘यति ठूलो राजनीतिक कार्यक्रमको मञ्च पहिलोपटक बनाउँदैछु,’ उनी भन्छन्, ‘सबै गरेर चानचुन ४० लाखको हिसाब पुग्दैछ।’
यादवका अनुसार मञ्च बनाउँदा बेस, फ्रेम, पिलर, खुट्टा पहिले जोडिन्छ। बलिया नट-बोल्ट र तारले कसेर मञ्चको जग उठाइन्छ। जग उठाएपछि उस्तै बलियो छहारी हालेर त्रिपाल टाँगिन्छ। प्लाई राखेर त्यसमाथि कार्पेट बिछ्याइन्छ।
मञ्च बनाउन रातो र हरियो रंगका कपडा प्रयोग गरिएको छ। नेपाली कांग्रेसको झन्डा रातो र चुनाव चिह्न रूख भएकाले त्यसैको रंग संयोजन गरेर मञ्च तयार हुँदैछ।
यादव विगत १० वर्षदेखि रोशन आर्टमा काम गरिरहेका छन्। उनले काठमाडौंमा काम गर्दागर्दै बिहे गरे।
‘पहिले-पहिले पनि मञ्च बनाउने काम गरेको थिएँ तर पार्टीको कार्यक्रमका लागि मञ्च बनाएको पहिलोपटक हो,’ यादव भन्छन्।
भृकुटीमण्डपमा लाग्ने हरेकजसो मेलामा उनीहरू टेन्ट र सजावटको काम गर्छन्, उनले भने, ‘कारको मेला, जुत्ता-चप्पलको मेला, हरेकजसो मेलामा हामी काम गरिरहेका छौं।’
'यस्ता ठूला मञ्च बनाउँदा १०-१५ प्रतिशत सामान फेरि काम नलाग्न सक्छन्। कपडा काम लागेन, त्रिपाल च्यातिन सक्छ, प्लाइ टुटफुट, कसकास गर्न लगाइएका तार लगायत काम नलाग्ने हुन्छन्,’ उनले भने।
भृकुटीमण्डपको फराकिलो ठाउँमा तारजालीसहितको घेराबार लगाएर शुक्रबार बिहानसम्ममा मञ्च चिटिक्क पारिने र त्यसपछि दुई-तीन दिन मज्जाले सुत्न पाइने यादव बताउँछन्।
मञ्च बनाउने काम आफैंमा झन्झटिलो छ। अर्डरअनुसारको आकार-प्रकारको बनाउने, त्यसका लागि सामान तयार गर्ने, पुर्याएर सामान झार्ने, फिट गर्ने, कार्यक्रम सकिएपछि सबै फुकलफाकल पार्ने र फेरि लोड गरेर कारखानामै सामान पुर्याउने काम झन्झटिलो छ।
यो त भयो कांग्रेस महाधिवेशनको मञ्च र त्यसको निर्माण कसरी भइरहेको छ भन्नेबारे।
मञ्चसँगै शुद्ध र टाढासम्म आवाज सुनिने गरी साउन्ड सिस्टमको काम पनि धमाधम भइरहेको छ। इन्टरनेसनल साउन्ड सिस्टम (आइएसएस) ले यहाँ साउन्ड सिस्टम निर्माण गर्दैछ। आइएसएसको कार्यालय न्युरोडमा छ भने यसको स्टोर पाटनको च्यासलमा छ।
महाधिवेशन उद्घाटनका लागि मुख्य स्पिकर मञ्च आसपास राखिएका छन्। त्यसबाहेक सात ठाउँमा ठूला स्पिकर राखिएका छन्। अन्य २५-३० ठाउँमा हर्न जोडिएका छन्।
साउन्ड सिस्टमको काम गरिरहेका गंगाराज बाँस्कोटाका अनुसार एलइडी स्क्रिनसहित साउन्ड सिस्टमको सबै खर्च जोड्दा २५-३० लाख रूपैयाँ लाग्न सक्छ।
बाँस्कोटा रत्नपार्क, टुँडिखेल लगायत राजधानीमा कन्सर्ट हुने ठाउँमा साउन्ड सिस्टम जोड्न पुग्छन्। ‘प्राय: ठूलो कामका लागि पुगिरहेको हुन्छु, शुद्ध आवाज सुनिने, अत्याधुनिक उपकरण जोडेर हामी आवाजको बन्दोबस्त मिलाउँछौं,’ उनले सेतोपाटीसँग भने, ‘हर्न जोडेपछि आवाज टाढासम्म जान्छ।’
साउन्ड सिस्टमको काम बुधबारदेखि थालिएको थियो। बिहीबार र शुक्रबार बिहानसम्म काम सकिने बाँस्कोटाले बताए।
खचाखच मानिसको जमघट हुने मञ्च र त्यसमा प्रयोग हुने साउन्ड सिस्टम चलाउनेका आफ्नै दु:ख छन्, उनले भने, ‘कमाइ त राम्रै हुन्छ, आफूले सिकेको काम हो, काम कुनै पनि सानो-ठूलो हुँदैन।’
कहिलेकाहीँ कार्यक्रम नै हुँदैनन्। कोरोना महामारीका कारण लामो समय लकडाउन हुँदा बाँस्कोटा र यादव कोठामै बसे। पहिले कमाएर जोरजाम गरेको पैसाले भात खाँदै कोठामा बसेको यादव बताउँछन्।
‘लकडाउनमा पट्यारलाग्दो तरिकाले रूममै बसियो, भीडभाडमा जान भएन, पुलिसले लाठी हानिहाल्थ्यो, काम रोकिएपछि बाहिर निस्किनँ,’ यादवले भने।
'लामो समयपछि कांग्रेस महाधिवेशनले हामीलाई व्यस्त बनायो,' उनले भने।