नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको भिड छ।
नाम दर्ता गराउँदै उनीहरूले पार्टीले उपलब्ध गराएको झोला लिएका छन्। हरेक महाधिवेशन प्रतिनिधिले ३ हजार शूल्क बुझाएपछि एउटा झोला पाउँछन्।
त्यो झोलाभित्र नेपाली कांग्रेसको विधान, निर्वाचन निर्देशिका, नियमावली, सेनिटाइजर, मास्क, कापी, कलमलगायत सामग्रीहरू छन्। झोलामा कुपन पनि छ। महाधिवेशन अवधिभर त्यो कुपन देखाएर दिनको दुई छाक खाना खान पाइन्छ भने बसोबासका लागि होटलका कोठाको व्यवस्थापन गरिएको छ।
महाधिवेशन उद्घाटन हुने पूर्वसन्ध्यामा पार्टी कार्यालय सानेपा खचाखच छ।
यही मेसोमा उपसभापति विमलेन्द्र निधिले पनि महाधिवेशन प्रतिनिधिलाई बेग्लै उपहार उपलब्ध गराएका छन्।
उनको सचिवालयले महाधिवेशन प्रतिनिधिलाई एउटा झोला नै दिएको छ। झोलाभित्र महेन्द्रनारायण निधिको तस्बिर पनि छ।
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण विमलेन्द्रका बाबु हुन्। विमलेन्द्र यसपालि सभापति पदमा उम्मेदवारी दिँदैछन्।
‘महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू साथीहरूमा बधाई तथा शुभकामनासहित सप्रेम- विमलेन्द्र निधि’ उल्लेख गरेर निधिले झोला उपहार दिएका छन्।
उनले झोलामा ‘नेपाली कांग्रेसको पुस्तक, मेरो उम्मेदवारी किन, विमलेन्द्र निधिको योजना र प्रतिवद्धता पत्र र कलम’ राखेका छन्।
निधिले उपलब्ध गराएको उपहार लिएपछि पार्टी कार्यालय सानेपामा तनहुँ १ बाट महाधिवेशन प्रतिनिधि रहेका टेकबहादुर गुरूङले आफूलाई खुसी लागेको बताए।
‘सबैभन्दा राम्रो यो झोलामा महेन्द्रनारायण निधिको फोटो रहेछ,’ उनले भने।