नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल नजाने भएका छन्।
आज बिहान ११:३० बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सुरू हुन ढिलाइ भइरहेको छ।
१३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो। शुक्रबारदेखि कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरू हुँदैछ।
वरिष्ठ नेताको सचिवालयका अनुसार पौडेल आज केन्द्रीय समिति बैठकमा नजाने भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् यो जानकारी सभापति शेरबहादुर देउवालाई दिइएको छ।
‘बैठकका एजेन्डाबारे पनि जानकारी गराइएको थिएन। उहाँ आज केन्द्रीय समिति बैठकमा उपस्थित हुनुहुन्न,’ पौडेलको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
सहमहामन्त्री थप गर्नेजस्ता प्रस्ताव केन्द्रीय समिति बैठकमा आउन सक्ने चर्चा छ। पौडेल सहमहामन्त्री थप गर्ने पक्षमा उभिएका छैनन्।