म आमा, सबैकी आमा। अहिले ७० वर्षकी भएँ। छ न त सबै छन्– छोरा, छोरी, नाति, नातिनी, बुबा, आमा तर म एक्लै छु। मेरो जन्म पहाडको विकट गाउँमा भयो। जन्मँदै आमा अपाङ्ग अनि बुबा सौतेनी थिए। हुर्किँदै जाँदा झगडा, अभाव र तनाव मेरा साथी भए। भाइ विद्यालयसम्म पुग्न पायो तर छोरी भएकै कारणले मैले विद्यालयको पेटीसम्म टेक्न पाइनँ।
१५ वर्षको उमेरमा विवाह भयो। उमेर सानै भए पनि व्यवहारले मलाई परिपक्व बनाएको थियो। विवाह राम्रै घरानामा भयो। छोराछोरी बर्सेनि जन्मिए। ६ जनामा ३ जनाले मात्र पूरा जीवन देखे। जसमा दुई छोरा र एक छोरी अझै छन्। जीवन राम्रै चल्दै थियो। एक्कासि कसको आँखा लाग्यो पत्तै भएन।
छोरी जन्मिएपछि श्रीमानले अर्की लिएर हिँडे। म फेरि आमा जस्तै बनेँ। साँच्चै म न टेक्ने, न समाउने भएँ। मेरो कोलाहल भित्ताहरूमा मात्र सीमित भयो। म बिस्तारै खराब हुन थालेँ। पछि सुनेँ– म नपढेकी भएर पढेकी ल्याएका अरे। सुनाइका कुरा हुन्। सत्य र असत्य थाहा छैन।
सानै उमेर, वर्षै पिच्छेका छोराछोरी, घरमा सासू ससुरा अनि व्यवहार सबै धानेर पढ्न पठाएकी थिएँ। मैले नपढे पनि श्रीमानका पढाइका लागि खाद्यान्नको भारी बोकेर सहरसम्म पुग्ने मै थिएँ। के मेरो योगदान उसको पढाइको लागि केही थिएन? सायद उसलाई मूल्यहीन लागेको हुन सक्छ।
साना छोराछोरी, न खाने टुङ्गो, न आम्दानीको बाटो अनि आफन्तको हेला। श्रीमानले छोडेर गएका धेरै वर्ष दुःखमा चुर्लुम्म डुबेँ। कति रात मैले भातको भाँडो चाटेर कटाएँ। कति रात खान मन छैन भनेर कटाएँ। उमेर अनि जिन्दगी थियो तर रहरहरू बीचमा कहिल्यै आउन पाएनन्। किनकि छोराछोरीका सपना प्राप्तिका लागि मैले रहर त्यागेकी थिएँ।
त्यो दिन अझै पनि सम्झनामा ताजा छ, जुन दिन मैले १० पटक पोते उचालेर छाडेकी थिएँ। मलाई लागेको थियो, त्यो पोते किन्ने पैसाले छोराछोरीको फी तिर्छु भनेर। आजसम्म मैले पोते किनेर लगाएकी छैन। पहिला पैसा भएन, अहिले रहर अनि खुसी दुवै छैन।
श्रीमानले अनपढ भनेर छोडे। म आफ्ना सन्तानलाई शिक्षित बनाउँछु भनेर धेरै वर्ष लागी परेँ। मैले श्रीमानले दिएको दुःख, पीडा, आफन्त सबै बिर्सिएँ। ३ सन्तान मेरा सर्वस्व थिए। छोराछोरीले राम्ररी पढे। जागिर पनि खाए। मैले दुःख बिर्सिँदै गएँ। जेठो छोरो स्थानीय व्यापारी बन्यो। कान्छो छोरो विदेशी संस्थामा काम गर्न थाल्यो। छोरी डिभी परेर अमेरिका गइन्। म जेठो छोरासँग बस्दै थिएँ। मैले आनन्दको सास फेर्न थालेँ।
समय बित्दै गयो। प्रकृतिमा त सधैँ रात हुँदैन, हामी त परिश्रममा विश्वास गर्ने मान्छे। बिस्तारै दुःख टरेर गयो। म हजुरआमा बनेँ। तर त्यो सुख धेरै दिन टिक्न सकेन। म संसार पाएको महसुस गर्दै थिएँ, बुहारी संसार गुमाएको महसुस गर्न थालिन्। सम्बन्धमा भुसे आगो सल्कियो। मैले बोलेको बोली, गरेको काम सबै नराम्रो हुन थाल्यो। दुःख पचाउने बानी थियो। कसैलाई भन्न सकिनँ।
सम्बन्ध यतिसम्म बिग्रियो कि भात कति बेला पाक्छ, को कहाँ जान्छन्, नातिनातिना कतिमा पढ्छन् केही थाहा पाउन छोडेँ। बोली नमिसिएको वर्षौँ भयो। अब खाना पाक्यो होला भनेर अनुमानमा खाना खान जान्थेँ। जोसँग पनि मैले नबोलेका र नगरेका काम सुनाउँदा सुनाउँदा आफन्तले मेरो कुरा पत्याउन छाडे। चित्त यतिसम्म दुख्यो, जति चित्त श्रीमानले छोडेको दिन पनि दुखेको थिएन। यी उदाहरण मात्रै हुन्, घटना त शब्दमा लेखेर सकिँदैन।
छोराछोरीको इज्जत सम्झेर न कसैलाई सुनाउन सकेँ, न मर्न नै सकेँ। यसैबीच छोरी बच्चा जन्माउने भइछिन्। म बच्चा स्याहार गर्न जानुपर्ने भयो। दुई भाइसँग सल्लाह गरेर सबै प्रक्रिया पूरा गरी म अमेरिकातिर लागेँ। लामो समयको अन्तरालमा सबै दूरी हटेर जाने छन्। छोरा, बुहारी र नातिनातिना मलाई ‘आमा’ भन्ने छन्। फेरि घरमा खुसीयाली छाउने छ। मेरो आश यस्तै थियो।
अमेरिकाको बसाइँ पनि राम्रै भयो। नातिनी जन्मिइन्। छोरी र नातिनीको राम्रो स्याहार गरेँ। केही वर्ष उतै बस्ने सोचेकी थिएँ। आमाछोरी जीवनको गुनासो गरिरहन्थ्यौँ। मलाई छोरी र ज्वाइँले असाध्यै माया गर्थे। समयको उडान छिटो छिटो भइरहेको थियो। नातिनी पनि ठूली भइन्। विद्यालय जाने तयारी हुँदै थियो।
एक दिन म बाहिर निस्किएकी थिएँ। फर्केर आउँदा छोरीज्वाइँ आफ्नै कोठामा गफ गर्दै थिएँ। छोरी भन्दै थिइन्– 'आमालाई अब नेपाल पठाउनुपर्छ। छोरी ठूली भइन्। सधैँ यहाँ राख्न सकिन्न। छिटो नपठाए दाइले पनि नराख्ला अनि जिन्दगीभरि हामीले राख्नु पर्यो भने...'
ज्वाइँले भन्दै थिए– 'त्यस्तो नभन। आमाले यति धेरै सहयोग गर्नुभएको छ।'
छोरी सकिँदैन सकिँदैन भन्दै कराउँदै थिइन्। त्यो दिन फेरि मैले टेकेको जमिन अर्को पटक भासिएको थियो। थाहा नदिई बाथरुम गएर धेरै बेर रोएँ अनि फर्किएँ।
भोलिपल्ट मैले नेपाल आउने कुरा गरेँ। ज्वाइँको मुख अँध्यारो भयो तर छोरी उज्याली थिइन्। उनको उज्यालो अनुहारले मलाई गिज्याइरहेको थियो। मेरो मनले भन्दै थियो– छोराछोरीमा त यति स्वार्थ हुन्छ, आफन्त त परको कुरा। आमा बोझ भएको कुरा सुनेकी थिएँ। अहिले भोग्दै छु।
म प्रक्रिया पुर्याएर पुनः नेपाल फर्किएँ तर मलाई लिन कोही आएनन्। कान्छो छोराले फुर्सद छैन भन्यो। जेठो छोराले फोन उठाएन। बल्लतल्ल घर पुगेँ। औपचारिकता बाहेक बोलचाल भएन। जसलाई जे सोधे पनि उत्तर आउँदैन थियो।
समय बित्दै गयो। जब छोरो घरमा हुँदैन थियो, तब बुहारीले सहनै नसकिने गरी गाली गर्थिन्। हुँदाहुँदै छोराबुहारी नै 'हामी पाल्न सक्दैनौँ, आफ्नै कान्छा छोरासँग गए हुन्छ' भन्न थाले। समाज बसाइयो अनि आफन्त पनि बसाइयो। मेरै गल्ती ठहर भयो। बलेको आगो छोडेर निभेको आगो कसले ताप्थ्यो र! मन अमिलो भयो। उज्यालो हुनासाथ कान्छो छोराको वासस्थानतर्फ लागेँ।
मसँगै मेरा आशा, भरोसा, विश्वास अनि तपस्याहरू पनि गए। केही समयको बसाइँ त्यहाँ पनि ठिकठाक चल्यो। बिस्तारै बिस्तारै उही प्रक्रिया सुरु भयो। छोरो हुँदा राम्रो व्यवहार गर्ने बुहारी, छोरो अफिस जाँदा खाजा सोध्न छोडिन्। गाली सुरु भयो। बुहारीले जे गरे पनि छोराले राम्रो गरेको छ भनेर चित्त बुझाउँथेँ। अर्को विकल्प छैन भनेर चुपचाप बस्थेँ।
पछिपछि त छोराको अगाडि नै मुख छाड्न थालिन्। कहिले जिन्दगी बरबाद भयो भन्थिन्, कहिले सासू पाल्नु पर्यो भने बुढासँग डिभोर्स गर्छु भन्थिन्। कहिले तिमी आमाछोरा बस, म त मर्छु भन्दै लुक्थिन्। छोरो खोज्दाखोज्दै हैरान हुन्थ्यो। कहिले बच्चा छुनु पर्दैन भन्दै खोस्न जान्थिन्। जब खान थाल्यो, तब भन्थिन्– एक जनाको कमाइले कति जनालाई पाल्ने हो! म तबसम्म बसेँ, जबसम्म छोराको व्यवहार सामान्य थियो। छोराको बेवास्तापछि मैले घर छोडेँ।
मेरो बुढो घरले मलाई कुरिरहेको थियो। ठुलो छोरो नयाँ घर बनाएर सरिसकेछ। मैले पुरानै घरमा बस्ने निर्णय गरेँ। श्रीमानले छोड्दा मसँग मन दह्रो थियो। हातखुट्टा बलिया थिए। छोराछोरीमाथि भरोसा थियो। छोराछोरीले छोड्दा मसँग रोग र शोकबाहेक केही थिएन।
घरमा चाहिने कुनै सामान काम लाग्ने थिएनन्। पुराना सामानहरू जोरजाम गरेर नयाँ जिन्दगी सुरु गरेँ। अहिले वृद्ध भत्ताले मेरो सास अडिएको छ। कहिलेसम्म अडिन्छ थाहा छैन तर जहिलेसम्म रहन्छु, तहिलेसम्म सन्तानको दुःख सुन्नु नपरोस्। रोग र तनावले शरीर गलेको छ। कति दिनसम्म ओछ्यानबाट उठ्न सक्दिनँ। त्यही ओछ्यानले मात्र साथ दिन्छ। अरूले सोध्दैनन्।
धेरै वर्ष भयो कुनै पनि चाडबाडले मेरो घरको दैलो चियाएका छैनन्। अझै पनि दसैँमा टीका लगाउन आउँछन् जस्तो लाग्छ। दशमीको दिन टीका मुछ्छु अनि पूर्णिमाको दिन सेलाउँछु। मैले टीका लगाइदिएँ भने सराप दिन्छु रे। म किन सराप दिन्थेँ! यिनैका लागि मैले जिन्दगी सिद्ध्याएकी हुँ। म सकिऊँ तर उनीहरूको प्रगति होस्।
म एक्लै आमाले खुसीका साथ छोराछोरी हुर्काएँ तर तीन जना छोराछोरीले आमालाई हेर्न सकेनन्। म पाल्ने जनावर थिइनँ। मलाई त आमा भनिदिए पुग्थ्यो। गुनासो न जीवनसँग छ, न छोराछोरीसँग छ। मैले रहर बेचेको उनीहरूको सपना किनेकी थिएँ। उनीहरूको खुसीमा आफ्नो खुसी बुनेकी थिएँ र छु पनि। सायद मेरो उमेरमा मेरो अभाव खड्किँदो हो तर म त्यति बेला अस्ताइसक्ने छु।
मलाई जे भए पनि मेरा सन्तानलाई अभाव र तनावले कहिल्यै नचियाओस्। मैले जे भोगेँ, त्यो कुनै सन्तानले भोग्नु नपरोस्। म आमा हुँ अनि मेरो मन आमाको हो। मेरो मरणमा पनि कसैको चित्त नदुखोस्। मेरो इच्छा यति मात्रै हो।