आमाको त्यो न्यानो काख अनि बा’को माया
आफू बाँचुन्जेल उहाँहरू रोएको हेर्नु छैन
मनभरि मेरा लागि गरेका संघर्ष र त्यागको भारी छ
आमा-बाको त्यो भारी बिसाउने काँध बन्नु छ
किनकि म छोरी हुँ
आमा-बालाई खुसी राख्नु छ।
आज रजस्वला भएको तीन दिन भएको छ
मनमा आँट अनि तनमा साहस छैन
अझै देखिँदै छन् रगतका बाछिटाहरू
तर उहाँको अगाडि हिम्मतवाली बन्नु छ
किनकि म श्रीमती हुँ
श्रीमानलाई खुसी राख्नु छ।
घरको धन्दा अनि दिनभरिको मेलापात
उमेर छिप्पिएर होला हातगोडा दुखेका छन्
छोरो व्यस्त छ क्यारे, कोठाबाट निस्किएको छैन
उसको लागि खाजा अनि खाना बनाउनु छ
किनकि म आमा हुँ
छोरोलाई खुसी राख्नु छ।
बिहान छोरोलाई स्कुल पुर्याएर अफिस आएको
अफिसमा भिड अनि फिल्ड पनि जानुपर्ने छ
फेरि आजै घरमा पाहुना आउने रे
अफिसबाट छिट्टै आए है बुहारी भन्नुभएको छ
किनकि म बुहारी हुँ
सासू ससुरालाई खुसी राख्नु छ।
मनभित्रका हजार रहर अनि पीडा दबाएर
आफ्नो बाहेक अरू सबैको जीवनमा
मुस्कानसहित सुन्दर रंग थपिदिनु पर्ने छ
आहुति आफ्नै खुसीको दिनु पर्ने छ
किनकि म नारी हुँ
अरू सबैलाई खुसी राख्नु छ।