'सर नमस्कार!' आवाजले म झस्केँ। लमक-लमक लम्किरहेको थिएँ, स्कुल जान। नमस्कार फर्काउन पैतालालाई ब्रेक लगाउन आदेश दिँदै झ्वाट्ट हात जोडेर नमस्ते फर्काएँ। एक्कासी चप्पलका हतारिँदा ध्वनि बन्द भयो। अनि विस्तारै मुन्टो तलदेखि माथि र माथिदेखि तलसम्मको नौलो मानिसको चेहेराको चिनारी खोज्न थालेँ।
विगतको घटनावृत्ति अभिलेखका दिमागी तखतामा यताउती खोज्न थालेँ। दिमागी स्मरणका भग्नावशेषहरूले ठम्याउन सकेन। अनि पहेलिएको दाँत देखाउँदै मानसपटलका उद्दार हटाउन झटपट सोधिहालें- 'बाबुको नाम? अनि कसको छोरा हौ?'
प्रश्न भुइँमा झर्न नपाउँदै 'म नहकुल क्या सर, कैलाशको छोरो।'
'ए ए! तिमी रिट्ठे हो?'
'हो सर।'
'कक्षामा खुब चकचक गर्थ्यौ, अहिले यत्रो भएछौ। अनि के गर्छौ बाबु अहिले?'
उसले जवाफ फर्कायो- 'खासै केही गर्दिनँ सर, सरले पढ भन्दा पढिएन। दु:ख सुख प्लस-टु कटाएँ। अमेरिकातिर छु, आजकाल।'
म बेस्कन खुसी भएँ। भित्रभित्रै भने आफैं जलेँ। खेतमा राँगालाई नारेर जोतिरहेको आफ्नो छोराको यादले पोल्यो खुब। खुसी हुने चेष्टा गरेँ, आगोलाई डोकोले छोपेजस्तो भैरहेको थियो। अनुहारबाट प्रष्ट झल्कन्थ्यो।
म जनमंगल प्राविको जागीरमा पदस्थापन हुँदा विद्यालय व्यवस्थापन समिति सदस्य हो कैलाश। द्वन्द्व चर्किँदै गएपछि सपपरिवार राजधानी पलाएन भएका थिए। अलिअलि राजनीति रसले रसिला थिए उनी। त्यही भएर त गाउँ छोड्नु पर्यो।
त्यतिखेर रिट्ठे ५ कक्षा उत्तीर्ण भैसकेको थियो मुस्किलले। सहर छिराएर अमेरिका छिराइसकेछन्। साँवा अक्षर चिनाउने मेरा हातहरू वृद्ध वृक्षका बोक्रा जस्तै भैसकेको थियो। पेन्सन पकाएर पनि दु:ख सुख म आफूलाई जबर्जस्त अगाडि बढाइरहेकै थिएँ। विद्यालयको हेडमास्टर लिन कोही मान्दैनन्, ३६ वसन्त पार भैसकेको थियो मेरो जागीरको यात्रा अनि प्रधानाध्यापक सम्हालेको पनि।
तीन प्रावि दरबन्दीले काम चलाउँदै आएका थियौँ। हिजोआज गाउँमा बच्चा जन्माउँदैनन्, सायद जन्मान्तरण र जनसंख्या व्यवस्थापन र चेतनाको कारणले होला। यता भने स्कुले नानीबाबु नभएर दरबन्दी कटिने डर। अलिअलि भएकाहरू सहरको बोर्डिङले तान्या तान्यै छ। स्थानीय सरकार हाजिरी र भर्ना रजिष्ट्रर भिडाउन दौड्या दौडै छन्। विद्यार्थी घटे दरबन्दी चट, विषय घट्या हैन। मर्ज गर भन्छन्।
भञ्ज्याङ् चौताराबाट लगभग आधी घण्टाको द्रुत हिँडाइपश्चात् स्कुल आउँछ। आधारभूत तह (कक्षा १-५) उत्तीर्णपश्चात् १-८ चलेको स्कुल पुग्न २ घण्टा लाग्छ। त्यही भएर ५ कक्षा दुई पटक दोहोर्याएपछि अर्को स्कुल जान्थे। तराईको माटोमा जन्मेको म पहाडलाई कर्मभूमि बनाइरहेको थिएँ। जे होस साक्षरताको नदीमा कलिला नानीहरू बगाइरहेकै थिएँ।
काठले बारेको कटेज! हावा चल्दा जस्ताका छानाको कहालीलाग्दो चित्कार। एकमुखे चुलोमा धुलाम्मे सिलिन्डर सेता बकुल्लाको घाँटी हिलोमा चोपलिए झैँ फोहोर पाइपले म्वाई खाइरहेको थियो। पुरानो खुट्टा मक्किएको खाट। बोरामा केही आलु लुकेर चियाउथ्यो। कालो कपडामा दूधले चोपलिएर फुस्रो बनेको सिरकको खोल। तन्काउँदा तन्काउँदा खुम्चँदै गएको डस्ना, प्यारालाइसिस भएर थलिए जस्तो। परन्तु कोठा कोठा जस्तो ढोकामा लगाएका पहेँलो ताल्चाले जीवित बनाएको थियो। किलोका दरले बेसाएर ल्याएको चामल पोलिथिन ब्यागभित्र गरिबी अनुहारले नियालिरहे झैं लाग्थ्यो।
गाउँभरका गन्यमान्यदेखि सामान्यसम्मकाले नमस्कार सोझ्याउँथे मतिर। गाउँमा तमसुकदेखि मासु भागका नामावली र बिहे क्षेवरमा पैसाको टिप्पनी मैं उठाउँथें। सामान्य न्याय निसाफदेखि हरहिसाबसम्मको मिलापत्र यही सिकन्दरको हातबाट लेखिन्थ्यो र पो सबैले नमस्कार गर्थे। लगभग चार दशकको लामो जागीरे जीवनले भन्थ्यो- तैँले नमस्ते बाहेक के कमाइस्?
हरहिसाब गर्दा अन्तरमनले भन्थ्यो- तँ समयअनुसार चल्न सकिनस्। मर्ने बेला राष्ट्रले सम्झने त परै जाओस्, जागीरे जीवनको उत्तारार्धमा घचेटेरै घोक्रेठ्याक लाउनेछन्।
तर मेरो जबरजस्त चेतनाले भन्थ्यो- मैले यस्तो सोच्न हुन्न।
घर जान हाइवे छेउमा उभिरहेको थिएँ। उहीँ पाइल चप्पलमा उनिएको खिइँदै गएर चरचरी फुटेको गोडा। वर्षौंदेखि आइरनको दर्शन नपाएको पाइन्ट। खिरिलो खुइलिएको छालाको पेटी, टाउकामा फुङ्ग रङ उडेका गलबन्दीको कफन, पाइन्टको चेन छोप्ने गरी ह्वार्लाङ पारिएको सर्ट गाडीको तीव्र बेगले कहिले पूर्व कहिले पश्चिम हुत्त्याउथ्यो। चेन बिग्रिएर घाँटी थिचिएको चुनावताका वितरण गरिएको खुइलिएको झोला आङमा टमक्क टासिएको थियो। सेत्ताम्मे जुँगामुनि चिल्ला पारिएको चिउँडो। म कहिले हात हल्लाउँथें, गाडी रोक्न इसारा गर्थेँ। कुखुरा बोक्नेदेखि, खसीबोका खाद्ने गाडीसम्मलाई हात फैलाउँथें रोक्ने कुनै मेसो देखिएन।
मन हतारिएको थियो। लालबन्दी चोकको पूर्वपट्टि हुँइकिएपछि सानो खोला पारपश्चात् परमानीपुरको छेउमा फुसको छानाको किचेन र कच्ची झिंगटीको घर, आधा रातो र आधा सेरो माटाले लेपन गरिएको घर मेरो हो। चैत्रमा अँगेनाको आगोले गति छाड्दा जलनमा परेर छालामा गम्भीर जलन भएकी थिई गीता। मेरो प्राणप्रिय। छालामा गम्भीर चोटले ग्रसित थिई। यहीँ खबर आएको थियो तीन दिन अघि। बिदा मिलाएर यसो आउँछु भन्दा भन्दै तीन दिनपछि लामो उकाली ओराली गर्दै थकित मुद्रामा गाडी पर्खेको पर्खै छु। लगभग गाडीमा ४ घण्टामा पुगिन्छ काठमाडौं। उहीँ गाडीको इन्तजार गरिरहेको थिएँ। त्यसपछि अर्को गाडीमा जानुपर्छ।
चिल्ला मोटरहरू प्वँ-प्वँ गर्दै मेरै छेउमा आएर जान्थ्यो। मलाई मेरो गरिबीलाई जिस्काए झैँ लाग्थ्यो। नातागोताले आपतमा लिएका ॠणको ब्याज त परै जाओस् आपतकालीन घडीमा सहानुभूतिबाहेक केही प्रकट गरेनन्। भाइको छोरा कोरिया र अर्को जापान बस्थ्यो। उनीहरूलाई गुहारेँ पैसाको निम्ति। मेरै अगाडि भाइले छोराहरूलाई फोन गरेर 'विचार पुर्याउनू, फर्किने चान्स कम छ, आर्थिकको कुरा हो' भनेको कुराहरू मानसपटलमा नाच्न थाल्यो।
मनहरू एक-एक भाव विवह्ल र किंकर्तव्यविमूढ अवस्थामा जिन्दगीको पानाहरू पलटाउँदै थिएँ। सानो टुकटुके मोबाइलले चार्ज माग्दै थियो। बेलाबेला कुल्टुङ-कुल्टुङ आवाज आउँथ्यो र म झसंग हुन्थेँ। यता पेटमा मुसा दगुरिसकेको थियो, झन् म ग्यास्ट्रिकले ग्रसित बिरामी।
एक्कासी खाल्डोको पानी छ्याप्ल्याङ पार्दै एउटा स्कार्पिओ घुँडा मुन्तिर राता माटाले लिपिदियो अनि झ्यालबाट सेत्ताम्मे दाँत देखाउँदै ङिच्च हाँस्यो, 'आई एम सरी' भन्दै हुइँकियो। नैतिक शिक्षा र अनुशासनको बुँदाहरू सबैले भुलिसकेछन्। म भने त्यहीँ रटाइरहेको थिएँ।
यता आसापास सबैजसो चिन्दछु। नमस्ते गर्छन् अनि ल है सर भन्दै बाटो लाग्छन्। पर टर्निङपछिको जोल्टिङमा पालिका प्रमुखको सेतो नम्बरप्लेटको बोलेर आउँदै थियो। अब यसैमा जान्छु, रोक्छु भनेर लामो सास फेरेँ। हिम्मत नहार गाडी रोक भन्दै मनमनै आत्मबल बढाउँदै थिएँ। पालिकाको राजा हो, आँट त कसरी आउँथ्यो।
नजिकै आएपछि नमस्ते भनेँ, उताबाट अभिवादन फर्कायो। मुसुक्क हाँसेर 'के छ सर? ठीक छ नि सर?' भन्नुभयो। म एकदम खुसी भएँ। 'अँ ठिक छ सर' भन्दै बताएँ। त्यसपछि गाडी अगाडि बढ्यो। न मैले रोक्न भ्याएँ वा रोक्न सकेँ न उसले जाने हो नै भने। म परसम्म नम्बर प्लेट हेर्दै बसिरहेँ।
हाइवेको बाटो भएर व्यस्त थियो गाडीको आवतजावतले। सायद भोलि बिदा भएर होला सेता नम्बर प्लेटमा सानादेखि ठूलासम्मका गाडीहरू ओहोरदोहोर गरिरहेका थिए। निजामती, प्रहरी, सेनाको आफ्नै गाडी, वडासचिवदेखि मुख्य सचिवसम्म आफ्नै कार्यालयको सवारी साधनमा हुइँकिरहेका थिए।
खल्तीमा कोचिएको शिक्षक परिचयपत्र निकालेँ, अनि हेरेँ। सरकारी निशानीछाप अंकित थियो। सरकारी भएको अनुभूत थिएन। सरकारी तलब खान्थेँ, व्यवहार सरकारी थिएन। सरकारी गाडी रोक्ने हिम्मत थिएन।
सरकारी कर्मचारी बनाउन सावाँ अक्षर चिनाउने मैं हुँ। महँगो अस्पतालमा उपचार गर्न नसकुँला, डाक्टर उत्पादन गर्ने हात यी नै हुन्। प्लेनको टिकट काटेर आकाशमा उड्न नसकुँला, उड्न बनाउने सकाउने मैं हुँ। सरूवा बढुवामा पहुँच छैन, पहूँच बनाउन नेता बनाउने हात यी नै हुन्। परन्तु म थाकेको थिएँ, उहीँ चौमासिक तलब ढिलो बुझ्नु, घरपरिवार चलाउनु।
सार्वजनिक पद धारण गरेकाले सामान्य रूघाखोकीको उपचार हुने यो मुलुकमा उपचारको लागि सञ्चयकोषको आफ्नै रकम खर्च गर्नु बाध्यता हो। गीताको छालाको सर्जरीको उपचार गर्न ठिक्क भयो, सालौ साल साँची राखेको रकम।