उसले बालाई भिडिओ कलमा भन्यो, ‘भोलि बुहारी र नातिनातिना सुनौलीबाट रात्री बस चढेर आउँदैछन्, ठूलिबिडी बिहानको दश बजेतिर आइपुग्लान्, एक जना भरियालाई नाम्लो लिएर दश बजेतिर ॠषिराम अङ्कलका पसलमा गएर बस्नु भन्दिनु होला है।’
बाले हाँस्दै भन्नुभयो, ‘जानेको छस् गधा! बरु काठमाडौं एयरपोर्टमा कति बेला ल्याण्ड हुन्छन्, बाहिर निस्कनेबित्तिकै फोन गर्न भनेस्।’
एउटा समय थियो जब गाउँमा कोही लाहुरबाट आँउथ्यो, ऊ सिद्धार्थ राजामार्गको ठूलिबिडी भन्ने ठाउँमा उत्रिन्थ्यो अनि उसले ल्याएका झिटीझाम्टा अनि गुन्टा बोक्नलाई भरिया चाहिन्थ्यो।
त्यो बेला टेलिफोनको जमाना थिएन त्यसकारण डाँडाका टुप्पामा रहेका घरपरिवारलाई कोही माथि उक्लने मान्छेसँग खबर पठाउनु पर्थ्यो कि लाहुरे तल आएर बसेको छ, सामान लिन डोको नाम्लो, भरिया बोकेर जाऊ रे भनेर।
उनी १३ वर्षको उमेरमा घरबाट भागेर सुनौली हुँदै भारत छिरेका थिए।
कहिले खसिया पहाड, कहिले मेघालय त कहिले सिलोङमा गाई पालेर होस् या पन्जाबमा चप्पल कारखानामा काम गरेर, कहिले होटेलमा जुठा भाँडा माझेर होस् उनले आफ्नो बचपन र युवा अवस्था उतै गुजारे।
छोराको कुराले उनलाई एकाएक अतितमा फर्काइदियो र त्यो अतित फेरि आँखा वरिपरि ताजा भएर नाच्न थाल्यो। उनी पनि कैयौं पटक गोरखपुर, सुनौली हुँदै रात्री बस चढेर त्यसरी नै गुन्टा बोकेर गाउँ फिर्ने गर्दथे भरियाका साथमा।
उनी १३ वर्षको उमेरमा चार कक्षा पढ्दै गर्दा भागेर भारत पसे, धेरै संघर्ष गरे। उनका बा पनि उतै भारतमा काम गर्दथे। उनका बाले कहिले कलकत्ताको सिनेमा हलमा होस् चाहे मद्रासमा रहेको जोहर मिलमा काम गरेर होस् जिन्दगी नै उतै बिताए। त्यसकारण एक समय बाले नेपालको घर यत्तिकै छाडेर आमा भाइ बहिनीलाई पनि उतै लगेका थिए।
बा धेरै वर्ष उतै बसे, उतै काम गरे। जीवनको उत्तरार्धमा बा पनि उनी सँगै उनले गाई पालेको ठाउँमा सँगै बस्न थालेका थिए। बा बिरामी परे। ठूलै रोग लाग्यो, अनेक औषधि उपचार गर्दा पनि बा ठीक भएनन्। बाको अन्तिम इच्छा थियो आफू जन्मेको माटोमा फर्किने र उतै अन्तिम सास फेर्ने।
बाले जसरी पनि आफूलाई नेपाल लगिदिन आग्रह गरे, उनले पनि नेपाल लैजान हरसम्भव कोसिस गरे। त्यो बेला मेघालय, गुवाटी लगायतका ठाउँमा हिंसात्मक आन्दोलन चल्दै थियो, कारण के रहेछ उनलाई याद भएन तर आन्दोलनको कारण सहरमा अनिश्चितकालीन कर्फ्यू लागेको थियो। उनी बिरामी बासहित त्यहीँ फसे।
आफ्नो गाईगोठ र त्यत्रा गाई अरूलाई जिम्मा दिएर अन्तिम अवस्थाका बालाई नेपाल लिएर हिँडेका उनी तत्कालीन सुन पहाड भन्ने ठाउँ सम्मत आइपुगे। त्यहाँ उनले हरसम्भव उपाय खोजे, वैकल्पिक बाटो खोजे, ट्र्कको पछाडि बसेर जान समेत राजी भए तर त्यो पनि सम्भव भएन। उनका बा त्यहीँ सुन पहाडमा अस्ताए। सदासदाका लागि। न त उनले बाबुको सास नेपाल ल्याउन सके न त मृत शरीर।
बाको अन्तिम धोको पूरा गर्न नसकेको कुरा सम्झिँदा बेला बेला उनको मन अमिलो भएर आउने गर्दछ।
बा विदेशमा बिते, आफूले पनि धेरै वर्ष उतै उपलब्धिविहीन संघर्ष गरेर नेपाल फर्केका उनले जीवनमा धेरै शिशिर अनि बसन्त देखेका छन्, खसिया पहाडदेखि त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसमा सामान्य जागिरे बनेर सेवानिवृत्त हुने बेलासम्म उनले जीवनका धेरै पाटा देखेका छन् जुन सायदै मानिसले देखेका होलान्।
उनलाई विदेशप्रति त्यति मोह छैन र स्वदेशमै केही गर्नु पर्दछ र कर्मशिल भएर लाग्यो भने सफलता पनि मिल्छ भन्ने लाग्दछ तर पनि छोराछोरीको विदेशिने चाहनालाई उनले रोक्न सकेनन्।
आफ्ना बा अनि आफू जस्तै उनका सन्तान पनि विदेश पलाएन भएरै छाडे।
विदेश त उनी पनि गएका हुन्, छिमेकी दुई जना साथी सँगै भागेर। उनीहरू सिलोङ भागेर जान लागेको कुरा थाहा पाएपछि एक जना छिमेकीले पिछा लागेर समात्न खोजेछन्। उनीसँगै हिँडेका साथीको दौडने क्रममा चप्पल फुत्किएछ र उनी चप्पल लिन फर्किंदा ती छिमेकीले समाइहालेछन् तर उनी र अर्को एक जना साथी चाहिँ चप्पल हातमा लिएर कुलेलाम ठोकेछन्। त्यही कुलेलामले धेरै वर्ष उनलाई भारतका विभिन्न ठाउँ र गल्लीमा भौंतारिन बाध्य बनाइरह्यो।
उनको विदेशप्रतिको चाह त मरेर गयो तर उनका सन्तान भने फेरि पलाएन भए। फरक यत्ति थियो उनी चार कक्षामा पढ्दा पढ्दै चप्पल हातमा लिएर खाली खुट्टा मुग्लान भागेका थिए, सन्तान भने धेरै पढ्ने अनि सुखको जिन्दगी बाँच्ने चाहना राखेर ठूलो जहाज चढेर गए।
बाटो र जाने प्रक्रिया जे भए पनि नतिजा एउटै थियो, पलाएन।
छोराछोरीहरू बेला-बेला बाबु आमालाई युरोप घुमाउन लैजाने कुरा गर्ने गर्दछन्, बा-आमालाई पासपोर्ट बनाउन भन्छन् तर उनको मनमा त्यति उत्साह जाग्दैन। उनलाई लाग्ने गर्छ जहाँ गए पनि त्यही खसिया पहाड, सिलोङ अनि मद्रास जस्तै त होला, जुन देखेर उनी अघाइसकेका छन्, सधैंका लागि।
छोराको बिहे भयो, सुरूमा त छोराले नेपालमै सानो तिनो जागिर गर्यो, कहिले आफ्नै व्यवसाय पनि गर्यो तर सोचे जस्तो सफलता हात लागेन र अन्त्यमा उसले पनि परदेश रोज्यो। आफू विदेश गयो, उतैको अस्थायी कार्ड बनायो, बुहारी उतै लग्यो अनि उतै दुई नातिनातिना पनि जन्मे। नातिनातिना चाहिँ जन्मजात विदेशी नागरिक बन्न पुगे।
उनका बाको खसिया पहाड, मेघालय, सिलोङ हुँदै मद्राससम्म पुगेको पैदल यात्रा उनका छोराको पुस्तामा आइपुग्दा बेलायत, पोर्चुगल, डेनमार्क हुँदै बेल्जियमसम्म पुग्यो। उनका बा अनि उनी थोरै धनआर्जन गर्न, घरमा नुन तेल, भुटुनको जोहो गर्ने झिनो सपना बोकेर भारत पसेका थिय तर उनका छोराछोरी महत्वकांक्षा बोकेर युरोप छिरे रातो पासपोर्ट बनाएर सुखसयलले भरिपूर्ण सपनाको जिन्दगी जिउने चाहनामा।
उनका बुहारी र नातिनातिना पोर्चुगल, टर्की, काठमाडौं हुँदै आज घर आइपुगे। आज उनको घरमा फरक रौनक छाएको छ।
बुहारी र नातिनातिना पहिलोपटक घर भित्रिएका छन्। उनीहरूलाई देख्न सबै लालायित छन्, ब्यग्र प्रतीक्षामा छन्। जेठी नातिनी हो ऊ तीन वर्षकी भई भने सानो नाति हो जो सात महिना पुग्दै छ।
दुई जना नातिनातिना नै पोर्तुगिस नागरिक हुन्, उनीहरू आफ्नै जिबाको घरमा पहिलो पटक भित्रिएका छन् पासपोर्टमा भिसा लगाएर पर्यटकको हैसियतमा।
आज भन्दा ३७ वर्ष अगाडि घर अगाडिको ठूलो गार्होमा कोदो रोप्दै गर्दा उनकी श्रीमतीलाई प्रसव ब्यथा लाग्यो अनि उनको जेठो छोरो जन्मिएको थियो आजकै दिनमा।
संयोग नै मान्नुपर्ला आज त्यही दिन पारेर उनको नाति पहिलोपटक त्यही घर भित्रिएको छ जहाँ उसको बाबु जन्मिएको थियो।
उनका बाबु मुग्लान पसे, उनको इहलीला उतै समाप्त भयो। उनी त्यस कारूणिक पलका साक्षी हुन्। आफू पनि केही वर्ष उतै रुमल्लिए, जीवनको ऊर्जाशील समय उतै खेर फाले। छोरा केही गरौं भन्ने समयमा फेरि मुग्लान भासियो त्यहाँसम्म त ठिकै थियो तर आफ्ना नातिनातिना अब सधैंका लागि विदेशी भए।
उनका बाबु त अस्ताउने बेलामै सही आफ्नै बाबु बाजेको माटोमा फर्कन चाहँदै थिए तर अब उनका छोरा बुहारी कुनै दिन स्वदेश फिर्लान नफिर्लान थाहा छैन तर एउटा कुरा के निश्चित छ भने अब उनका नातिनातिना कहिल्यै पनि स्थायी रूपमा यो माटोमा फर्कने छैनन्।
के थाहा नातिनातिनाले नेपाली भाषा कत्ति पनि नजान्ने हुन कि के थाहा आफ्ना पिता पुर्खाको माटो र इतिहासबारे केही पनि नसिक्ने हुन् कि वा आफ्ना पुर्खाको थातथलोलाई वास्तै नगर्ने पो हुन् कि?
धेरै अनुत्तरित प्रश्नहरूको चाङ खडा भएको छ। छोराछोरी युरोप छिरे, कागज बनाए, आर्थिक उन्नति गरे, सुखी र खुसी जिन्दगी जिउँदै होलान् भनेर हर्क मान्ने हो कि अब मेरा भावी पुस्ता कता जालान् भनेर पिर मान्ने उनी बिलखबन्दमा परेका छन्।
उनका बाबु मुग्लान गए, उनी गए, उनीपछि छोरा मुग्लान गयो भने नातिनातिना मुग्लान भन्दा पनि विदेशी भए।
चार पुस्तानै मुग्लान भासिनै पर्ने यो कस्तो बिडम्बना अनि नियतिको खेल हो।
सायद उनका बाबुले सात सालको जहानियाँ राणा शासन विरूद्धको आन्दोलन देखे, उनले ०४६ सालको पन्चायतविरूद्धको आन्दोलन देखे, ऊनको छोरो ६२/ ६३ सालमा राजतन्त्र विरूद्धको आन्दोलनमा सक्रिय सहभागी पनि भयो र पनि फेरि विदेश पलाएन हुनैपर्ने अवस्था आयो।
यहाँ एउटा पुस्ता र बीस वर्षको कुरा रहेन अब। सिङ्गो एक शताब्दी र जिज्यु बाजेदेखि पनातिसम्मका चार पुस्ता हस्तान्तरण हुँदा र राणाशासनदेखि संघीय गणतन्त्रसम्म व्यवस्था आइपुग्दा पनि पनातिपुस्ता पर्यटक बन्न बाध्य हुनु आखिर गलती कसको? यो समस्याको समाधान कहिले होला? उनलाई सोध्न मन छ।
अब अरूका नातिनातिना आफ्नै जिज्युबाजेको थात थलोमा पर्यटक बनेर भित्रिन नपरोस् भन्ने उनलाई लाग्न थालेको छ। बाहिरी दुनियाँलाई त लाग्ला ओहो! फलानाका त छोरा बुहारी, छोरी ज्वाइँ, नातिनातिना सबै विदेशी कार्डवाला छन् तर भोग्नेलाई थाहा हुन्छ आँगनीमा टुकुटुकु हिँड्दै गरेकी नातिनी र भर्खर बामे सर्न थालेको आफ्नै सन्तान, आफ्नै रगत र आफ्नो बंश धान्ने नाति विदेशी हुन् र हाम्रो दैलोमा पर्यटक बनेर भित्रिएका छन् भनेर सोच्नुपर्दाको पीडा।
आखिर उनको अनि उनीजस्तै लाखौं नेपाली युवा र अभिभावकको अवस्था उस्तै कहिलेसम्म रहिरहला, उनी एकान्तमा घोत्लिरहन्छन्। आखिर यो प्रश्नको उत्तर दिने कसले ?