रिपोर्ट कुरेर बसेको तीन दिन भइसक्यो। बिसको उन्नाइस भएको हैन। हस्पिटल भन्नु मात्र। खुला आकाशमुनि चिसो भुइँमा जीवनका भिख मागिरहेका छौँ।
जीवन र मृत्युसंँग लडिरहँदा पनि पैसा नलिकन उपचार नै गर्दैनन्। दुःख त यतिबेला लाग्दो रहेछ, पैसाको कारणले नै उपचार नपाएर हजारौँ बिरामीहरूको मृत्यु हुन्छ। प्राणभन्दा पैसालाई प्यारो ठान्ने हस्पिटलको भरोसा मरिसक्यो।
रोगबाट मुक्ति पाउन अस्पताललाई मन्दिर ठान्छौँ र डाक्टरलाई इश्वर तर मन्दिर खाली छ आजकाल। छैनन् इश्वर मन्दिरभित्र। देवता बेच्ने देशमा हामी मान्छेको के अर्थ!
रोगले उमेर नहेर्दो रहेछ। कालले समय नपर्खिदो रहेछ। रूप र रंगले छोड्दै जाँदा सबै पराई हुँदा रहेछन्। अब मलाई लाग्यो रोग र भोकसंँगको लडाइँ हामीले एक्लै लड्नु पर्छ। यो नै ध्रुव सत्य रहेछ, अरू केवल भ्रम रहेछ। सबै भम्र।
छोरीछोरीहरू भन्नु मात्र रहेछ। खै त? चाहिने बेलामा तातो पानी तताएर दिनेसम्म छैनन्। लाखापाखा छन्।
बाह्र छोरा तेरा नाती बुढाको धोक्रो काँधै माथि भन्थे, हो रहेछ। हाम्रो हालत यस्तो भयो। भन्नु पो भाको छैन त।
बुढो शरीरलाई कोल्टे फेर्दै कृष्णेका बा बोले- ‘छोराहरूलाई फोन गरिस् त?’
मैले उनको ढाडमा कपडाले छोप्दै उत्तर दिएँ- ‘पशुपतिले उठायो तर काममा रहेछ। पछि कुरा गर्छु भन्दै राख्यो।’
उनले आँखा पलक्क पल्टाउँदै सानो स्वरमा बोले- ‘अनि कृष्णेलाई?’
‘कृष्णेको त फोन जान्छ तर उठाउँदैन। सायद सुतिराको होला।’
अब यता रात हुँदा उता दिन हुन्छ, उता दिन हुँदा यता रात। दिन र रातमा अलमलिएका छौँ हामी बुढाबुढी।
खै! डाक्टर पनि कता गएका हुन्?
उनले ख्वाङ ख्वाङ खोके। छेउकौ बिरामी तर्सेर जुरूक्क उठ्यो। आँखा पर्लक्क पल्टाएर उनलाई हेर्यो। फोनको घण्टी बज्यो। मैले हेलो भनेँ। उताबाट म राधा बोलेको भन्दै ढोग गरिन्।
मैले विस्तारै बोलेँ, राधाका बाले नसुन्ने गरी। मेरो आवाज सानो र मसिनो थियो। राधाले बाको बारेमा सोध्दै गर्दा मन भक्कानियो।
‘किन? के भयो र बालाई?,’ राधा थोरै आत्तिएकी थिई।
राधा हाम्री एक मात्रा छोरी हुन्। मुस्लिम केटासँग बिहे गरेकी छे। नेपालगन्जमा छे रे। हामीले त केटा पनि देखेका छैन। जानु त परै जाओस्, यसका बाले त मरिसकी हाम्री छोरी भनेर समाज र गाउँमा फुकेका छन्। हुन पनि यसका बा गाउँकै कहलिएका पुरोहित हुन्।
हाम्रो कूल, पूर्खा र इतिहास हिन्दु संस्कृति र रीतिरीवाज मान्दै आइरहेका छौँ। गाउँमा छोरीले बाको नाकै काटेर मुस्लिमसँग गएदेखि बाले पुरोहित काम पनि गर्न छोडे। गाउँमा कुरा काट्ने त भइहाले।
म त आमा हो। नौ महिना गर्भमा राखेर जन्माएको छोरीलाई कहाँ माया मार्न सक्छु र! मेरो मर्यादाले पनि दिँदैन। मैले पनि बाकै जस्तो गरेँ भने संसारबाट आमा भन्नै शब्दै हटाइदिए हुन्छ।
राधा बेस्सरी आत्तिएकी थिई बाको बिरामी अवस्था सुनेर। आउँछु भनेर जिद्धी गर्दै थिई तर मैले नै ठिक भइसक्यो भनेर फोन काटिदिएँ।
फोन राख्ने बित्तिकै डाक्टर आइपुगे। मैले सोधिहालेँ- ‘डाक्टर सर! रिपोर्ट आयो?’
डाक्टरले हातमा रहेको कागज दिँदै भने- ‘तपाईंको श्रीमानलाई मिर्गौला रोगको समस्या देखिएको छ। यहाँ हामीले गर्नसम्म त गर्यौं तर अब यसको उपचार गर्न हामीले सक्दैनौं। आजै काठमाडौंको अस्पातलमा लानू। यो रोग मिर्गौला फेल हुने समस्या हो र सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक पनि हो। यसको समयमै उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ। त्यसैले आजै काठमाडौं लानू। अरू भगवान भरोसा।’
म गहिरो निन्द्राबाट बिउँझे झैँ भएँ। सपना झैँ लाग्यो। कृष्णेका बाको ज्यान खंग्रंग सुकेको थियो। आँखा भित्र भासिएका थिए। ओठ सुक्खा थियो। सुक्खा ओठले भनिरहेको थियो- ‘छोराहरूलाई बोलाइस्?’
म अकमक्क हुँदै गर्दा फेरि टाउको टोपी मिलाउँदै बोले- ‘फोन त गरिस् होला नि?’
हस्पिटलमा बिरामी बुढालाई डाक्टरले सोधे- ‘अनि बा एक्लै हो?’
कृष्णेका बाले सास फ्याक्दै भन्छन्- ‘बुढी पनि आछे। अब यसले पनि छोडी भने मैले धर्ती छोडे भयो नि। को छ भनेर बाँच्नु र?’
‘अनि छोराछोरी?’
‘कृष्णे पोर्जुगल छ। पशुपति अमेरिका र छोरी यतै कतै होली,' मैले बोलिरहँदा कृष्णेका बाले पुलुक्क मलाई हेरे। मैले बुझिहालेँ।
‘छोराहरूलाई फोन गरिस्?’
डाक्टले कागज दिँदै यो दवाई लिएर आउनू भने। मैले कागज लिँदै भने- ‘डाक्टर सर! ठिक हुन्छ त यो दवाईले?’
डाक्टरले मेरो बोली नसकिँदै जवाफ फर्काए- ‘अब हस्पिटल आका छौ, ठिक भइहाल्छ नि।’
सेतो अनुहार भएका डक्टरले नाकको चस्मा मिलाउँदै अर्को बेडमा रहेको बिरामी जाँच्न थाले। कृष्णेका बालाई एकटक हेरेर म दवाईका चक्की लिन अस्पताल तल झरेँ।
दवाईका पसलेलाई कागज दिँदै गर्दा फोनको घण्टी बज्यो। मैले हेलो भन्न नपाउँदै फोन काटियो। पसलेले दवाई दिँदै गर्दा म छक्क परेँ। यति थोरै दवाईको यतिका धेरै पैसा? मेरो जिब्रो बाहिरै आयो। आम्मा...मा… सात हजार!
‘तपाईंको विचार, लाने भए पैसा दिनू नत्र म राख्छु। मेरो समय बर्बाद नगर्नू।’
पसले मेरो छोराको उमेरको थियो। अनुहारमा रिस भरिएको रूखो स्वर थियो। सात हजार पैसा बुझाएर दवाई लिएर आएँ। भित्र पस्ने बित्तिकै नर्सले स्लाइन पानी लगाउँदै रहेछिन्।
मैले नर्सलाई दवाई दिँदै थ्याच्च भुइँमै बसेँ। मैले आँखा माथिको खप्परमा हत्केला राख्दै झ्याल बाहिर हेरेँ। आँखाहरू पर-परसम्म फिँजिए। काठमाडौंले बास बस्न खोज्दै थियो। बत्तीका उज्यालोले काठमाडौं सहर धपक्कै बलेको थियो।
कृष्णेका बा घुर्न थाले। दवाईले लठिएछन्। फोन बज्यो। नर्स बाहिरी सकिछिन्। मैले फोन उठाएँ।
‘म कृष्णे! ढोग गरेँ आमा,’ मेरा ओठबाट शब्द नै निस्केन।
कृष्ण बोलिरहेको थियो, म हराइरहेको थिएँ, यतैकतै एक्लै यो नितान्त सहरमा।
कृष्णले अलिक ठूलो स्वरमा ‘आमा… आमा’ भन्यो। म झस्किएँ। मेरो मुखबाट बोली फुट्यो।
‘छिटो आइज बा! तेरा बा हस्पिटलमा छन्। आज दश दिन भइसक्यो।’
कृष्णेले आत्तिदै सोध्यो- ‘के भयो र बालाई? अनि किन फोन नगरेको त? पशुपतिलाई फोन गर्नुभयो? अनि के भएको रे बालाई?’
‘बालाई मिर्गौला रोगको समस्या देखिएको छ। मलाई त एकदम डर लागिरहेको छ।’
कृष्णेले अलिक मलिन स्वरमा भन्यो- ‘पीर नलिनू, म पैसा हालिदिन्छु। अब आउन त मिल्दैन। फेरि म आएर पनि के गर्नु र? उपचार गर्ने भनेको डाक्टरले हो। ल आमा, बालाई नमस्कार सुनाइदिनु’ भन्दै फोन राख्यो।
कृष्णेका बा कोल्टे फेरे र विस्तारै साउती गर्दै बोले- ‘छोराहरूलाई फोन गरिस्?’
मसँग सान्त्वनाका शब्दहरूभन्दा अरू उत्तर थिएन। भनिदिएँ, ‘कुरा भयो, छिट्टै आउँछन् रे। पैसा पनि पठाइदिन्छु भनेका छन् दुइटैले।’
मेरो कुराले कृष्णेका बाको अनुहार उज्यालो भयो। दवाईका चक्कीहरूले शरीरको दुखाइ कम होला तर सन्तानको मायाले मनको शान्ति र ओठको मुस्कान मिल्दोरहेछ।
कृष्णेके बा झिनो आशा लिएर ओठ माथिका जुँगा बटार्दै फेरि कोल्टे फेरे। यता मेरो आँखा पिरा भएर डम्म भरिए।
हस्पिटल वपरिपरि बिरामीहरूको घुइँचो थियो। औषधिका गन्ध नाकमै आएर ह्वास्स गनाउथ्यो। मेरो अनुहरा खचमचियो। मेरो मन शान्त थिएन।
नर्स आइन्। उनले कृष्णेका बाको काखीमा केही राखिदिइन्। मेरा आँखा हस्पिटलको भित्तामा डुलिरेका थिए। भित्तामा लेखिएका अक्षरहरू धमिलो देखिन्थ्यो। मैले सिरानीबाट कृष्णेका बाको मोटो चस्मा नाकमा राख्दै गर्दा यी अक्षरहरूमा मेरा आँखा गएर रोकिए।
‘भगवान बनाए कसले, इश्वर बनाए कसले
यहाँ मान्छे बनाए कसले, पत्थरको मुटु बनाए कसले’
नर्सले काखीमा राखेको सामान झिकिदिइन्। ज्वरो अलिक बढेछ।
हाम्रो पालामा छाती छामेर ज्वरो यति आएछ भनेर नापिन्थो तर आजकाल जति धेरै प्रविधि त्यति नै धेरै बिरामी। खै के हो के!
यो संसारमा सबैभन्दा ठूलो पैसा त रहेछ। पैसा भएपछि जे पनि पाइने।
पैसासँगै आफ्नै बाउआमा बीचको सम्बन्ध र सम्बोधन पनि परिवर्तन हुँदै जाँदो रहेछ। कृष्णेले किन बुझेन, बालाई पैसा होइन छोरा चाहिएको छ भनेर?
कसरी बुझोस्? सानोमा बाले काँधमा बोकेर गाउँ डुलाएको। काँधमै पिसाब गर्दा पनि खुसीले बुरूक्क उफ्रिने बाको विशाल हृदय। बाको छातीमा सुतेर कथा सुन्दासुन्दै निदाउँदा मैले मेरो छातीमा टाँसेर सुताएको दिनहरू आजसम्म ताजै छ।
बिहान मसँग उठ्दा ‘बाको खाटमा सुतेको थिएँ राति, कसरी म तपाईंको खाटमा?’ भन्दै सोध्दा मैले हाँस्दै भन्थेँ- ‘तँलाई राति सुन्दर परीले बोकेर मसँग ल्याइदिएको।’
मैले यसो भन्दा तैँले जित गरेर त्यो परी को हो भन्दै रून्थिस्। आज त त्यो परीसँग छस्। बिहे गरेको एक वर्ष पनि तिमीहरूसँग बस्न पाएनौँ। यो हाम्रो दुर्भाग्या होला। हामी बुझ्छौँ, हामीभन्दा प्यारो बुहारी र पैसा हो तेरो लागि यतिबेला।
ठिकै छ, हामी यसै पनि ठिक छौँ। अशान्ति मन उढेर अनेक थरिका कुराहरू सोच्न थाल्यो। जीवन यस्तै रहेछ। छोरो हुर्किन्जेल बाको काँध छोरालाई, जीवन सकिँदै जान्छ अनि छोराको काँध बालाई। जल्छ एउटा जीवन अनि जलेको खरानीसँगै उठ्छन् ती सम्झनाहरू! के रहेछ छ र छोराछोरी छन् भनेर गर्व गर्नू?
आज कृष्णेका बाको अनुहार धमिलो छ। निधारका भाग खुम्चिएको छ। नसाहरू प्रष्टै देखिरहेका छन्। विडम्बना, बिरामीको अवस्था झन् जटिल र गम्भीर हुँदै जाँदैछ। पैसाको अभावले म लाचार भएको छु।
यतिबेला मसँग तिलहरीबाहेक केही छैन। त्यो पनि बेच्ने सोच्दैछु। विवाहको चिनो भनेर संगालेर राखेको थिएँ। मान्छे नै मर्न लागे अब भौतिक धातुको के काम र? घाँटीमा भिर्दैमा लोग्नेको आयु बढ्ने भए आज हजारौँ नारी विधवा हुने थिएनन् होला।
फोनको घण्टी बज्यो। हेलो भनेसँगै ‘ढोग गरेँ’ भन्यो।
पशुपति रहेछ।
‘अँ! भन.. भन’ भनेँ। पशुपतिले भन्दै थियो, म सुन्दै थिएँ।
‘कृष्णेले फोन गरेको थियो। बा बिरामी छन् रे। पैसा हाल्दिनू, मसँग छैन भन्दै थियो। अब आमा, तपाईं नै भन्नुहोस् त मसँग चाहिँ कहाँबाट हुन्छ? कति सजिलै पैसा हाल्दिनू भन्छ कृष्णेले?’
मैले लामो सास फ्याक्दै सानो स्वरमा बोलेँ, ‘भैगो बरै! चिन्ता नलिनू। तँ सन्चै छस् नि?’
‘अँ आमा, म ठिक छु।’
‘खै तँ त आजकाल कुरा पनि खासै गर्दिनस्। बिरानो हुँदै जाँदैछस्?’
‘त्यही त आमा! यता पाँच दिन काम हुन्छ अनि शनिबार यताउता गर्यो, आइतबार चर्चको सेवा हुन्छ, जानै पर्यो। फेरि म पास्टर भएपछि सबै जिम्मा मेरोमा नै हुन्छ। तपाईं बुझ्नु हुन्छ त! अनि आमा, अहिले बालाई कस्तो छ?’
‘बल्ल बाको याद आयो पशुपते?’
‘आमा मैले यो नाम फेरिसकेँ। अँ साँच्ची मैले सोध्दै थिएँ, बालाई के भाको रे? मैले कुराकुरैामा सोध्नै बिर्सेछु।’
‘खै के भनौँ, तेरा बा आज हो कि भोलि हो भएका छन् यहाँ। रोगले भन्दा पनि छोराहरूको पीरले मर्लान् जस्तो छ।’
मेरो बोली नसकिँदै पशुपति बोलिहाल्यो- ‘के भाको रे बालाई?’
मिर्गौला रोगको समस्या देखिएको छ। अवस्था झन्-झन् नाजुक र बिग्रिँदै गइरहेको छ। मिल्छ भने एकचोटि आइज बा!’
‘हुन्छ आमा, म कोसिस गर्छु। ल अहिलेलाई राखिदिएँ।’
पशुपतेले फोन राखेसँगै मैले खुइया गरेर आकाश हेरेँ। आकाशमा चन्द्रमा छैन। कालो आकाशमा कता-कता ताराहरू चम्किरहेका छन्। तैपनि मेरा धमिला आँखाले प्रष्टै देख्दैनन्। पर-परसम्म कुकुर कराएको आवाज सुन्छु। आवाज सानो हुँदै हराउँछ।
रात विस्तारै छिप्पिँदै छ। हस्पिटल सुनसान छ। काठमाडौं सहर गहिरो निन्द्रमा छ। म स्थिर ध्यान मुद्रामा कृष्णेका बालाई हेरिरहेको छु। कृष्णेका बाले आँखा चिम्लिरहेका छन्।
मेरो मनमा प्रेम मिलनको अभिलाषा तीव्र हुँदै जाँदैछ। मभित्र मदहोसीपना एकाएक उत्पन्न हुँदै जाँदैछ। मेरो शरीरलाई हल्का हावामा उडाए झैँ भइरहेछ। किन यस्तो हुँदैछ? म आतंकित हुन्छु। आँखामा निन्द्रा पटक्कै छैन। अनायसै आँसु खस्छ बरर..रर!
आँखाहरू आँसुले भिज्छ। निधारमा पीडाका धर्काहरू सल्बलाउन थाल्छन्। म छटपटिन्छु। एकैछिनमा फेरि कता-कता टोलाउन थाल्छु। मन साह्रै उदास र एक्लो भयो।
कृष्णेका बालाई प्रेमले अंगाल्न मन भयो। प्रेमले चुम्म मन नभएको होइन तर आफैसँग लाज लाग्यो। उमेरको पनि ख्याल गर्नुपर्यो। कसैले देख्ला भन्नै डरले यसै टोलाइरहेँ।
एकैछिनको मौनतालाई तोड्दै मेरो देव्रे हातले कृष्णेको बाको गालामा मुसार्दै गर्दा उनी चिसो भइसकेछन्। म चिच्याएँ।
मेरो आवाजले सबै तर्से र उठे। नर्स कुदेर आइन्। हातको नाडी छाम्दै गर्दा डाक्टर आइपुगे। डाक्टरले मुटुको घड्कन सुन्दै गर्दा लामो सास बाहिर फ्याँके। मलाई पुलुक्क हेरे टाउको देब्रे दाहिने हल्लाउँदै भने- ‘अब उहाँ उठ्नु हुन्न।’
‘उठ्नु हुन्न?’ मैले डाक्टरको छातीमा मुड्की बजार्दै कोध्रले कराएँ। डाक्टर एकछिन शान्त भए। सबै बिरामीहरू शान्त थिए। निर्लज्ज भएर टुलुटुलु हेरिरहेका थिए।
नर्सले मलाई च्याप्पै समातेर भुइँमै राखिन्। डाक्टर सरासर बाहिर निस्के। मैले नर्सलाई टुलुटुलु हेरिरहे। एकैछिनमा आँखाबाट समुन्द्र झैँ पानी बग्न सुरू भइहाल्यो। आँसु नसकुन्जेलसम्म रोइरहेँ। नर्सले स्लाइनको सुइँ झिक्दै गर्दा झन् रोएँ।
‘कृष्णेका बा! कृष्णेका बा…! म एक्लो भएँ!’
रातलाई बिदाइ गरेर घामले पाइला टेक्दै थियो। मान्छेहरू विस्तारै उठ्दै थिए। सडकमा मोटरहरू दगुर्न सुरू भइसकेको थियो। मेरा आँखामा बगिरहेको आँसुलाई पनि घामको किरणले छोयो। छोयो सेतो च्यादरभित्र सुतेका कृष्णेका बालाई पनि।
यतिबेला मलाई सबै फनफनी घुमेजस्तो भइरहेको छ। मान्छेहरूको कोलाहल सुरू भइसकेको थियो। बिरामीहरूको ऐया र आत्थासँगै नर्सहरू हस्पिटलभित्र र बाहिर हुन थाले। म निस्सासिँदै जाँदै थिएँ। म नितान्त एक्लो सडकलाई चिर्दै कृष्णेका बालाई बरफको डल्लोभित्र राखेर घर लिएर आएँ।
गाउँलेहरू जम्मा भइहाले। मेरो अँध्यारो मुखमा विधवाको शब्दहरू हालिदिए। कृष्णेका बालाई मझेरीमा राख्न नपाउँदै मेरा पोते र चुरा फुटाइदिहाले। म रंगविहीन भएँ।
दले भुजेलले टाउको टोपी झिक्दै मलाई सान्तवा दियो- ‘के गर्छौ त बजै तिम्रा भाग्यमा यस्तै लेखेको रहेछ त! हुने हार दैव नटार भन्छ नि।’
खुइया गर्दै दलेले आकाशतिर टाउको उठायो। मैले पुरोहित बाजेको गुण बिर्सेको छैन भन्दै कटुवाल साइँलो रूँदै आइपुग्यो।
‘यस्तो बेला छोराछोरीहरू सबै बाहिर छन्। विचरा! पुरोहित बाजेले छोराछोरीको मुखसम्म हेर्न पाएनन्। उफ्,’ लामो सास फ्याँक्दै छोराहरूलाई सुनाइदिनु पर्छ भन्दै थिए।
मेरो कानमा मधुरो आवाज आइरहेको थियो- ‘आगो दिने मान्छे त चाहियो।’
कवीर पण्डित हस्याङफस्याङ गर्दै आइपुगे। पण्डितनी बजै पनि पछि आउँदै रहेछिन्।
‘तिमी पीर नमान, हामी छौँ नि। गाउँलेहरू मरेका छन् र? जे हुनु भैगो, अब तिमी बाँच्नु पर्छ,’ कवीर पण्डित बोल्दै थिए, ‘छोराछोरीहरूका लागि भए पनि। अँ साँच्ची, त्यो कृष्णे र पशुपतेलाई खबर भयो? अनि राधाले थाहा पाई?’
‘भो! राधाको त कुरा नगरौँ,’ मुख लोपार्दै पण्डितनी बजै बोलिहालिन्।
‘त्यो मुस्लिम भएकी छे,’ अर्की आइमाईले थपिन्।
‘जे भए पनि उनीहरूको छोरी हो, खबर दिनुपर्छ’ भन्दै पल्टने सुब्वाले फोन उठाए र कल गरे।
मैले कवीर पण्डितलाई हेर्दै भनेँ, 'छोराछोरीहरूको भ्रम र मोह सबै टुटिसके पण्डित बाजे। मेरो त कोखमै खोटो रहेछ क्यारे,’ फेरि बरर आँसु झरे, ‘सन्तानको भोक हराइसक्यो। मेरो कोख बाँझो छैन भनेर चारैतिर फैलिएको डाँडाकाँडालाई सुनाउथेँ। मेरो छाती गर्वले फुलिएको थियो। मेरा पनि सन्तान भए। आज लाग्दै छ, बाँझो कोख नै पवित्र थियो। कसैको आशमा त बस्नु पर्दैन थियो।’
'एउटै कोखका दुई सन्तान दाजुभाइ पैसाको कुरालाई लिएर झगडा गर्छन्। मोराहरू! सानोमा मर्छन् कि भन्ने डर, ठूलोमा मार्छन् कि भन्ने डर।'
‘आमाबुबाको दृष्टिकोण नै आकाश पातालको फरक हुन्छ। जे भए पनि छोराहरू हुन्। आगो दिने छोरा त चाहिन्छ। झट्टै बोलाउनू’ भन्दै कवीर पण्डितले फोन गर्न लगाए।
मेरो हातका औँलाहरू थररर कामिरहेका थिए। फोन उठाउनै सकिनँ। मैले ह्वात्त पण्डितलाई फोन फ्याकिदिएँ। पण्डित आफैले फोन गरे।
‘ए कति लाचार भाका हुन् यिनका छोराहरू। बाउ मर्दासम्म पनि टिकट महंगो छ भन्छ पशुपते। दुई/चार अक्षर पढेँ भन्दैमा बाउआमालाई नगन्ने भइसकेछ। कृष्णे चाहिँ भोलिसम्ममा आइपुग्छ होला भनेको छ। अब लास उठाउने कुरा भएन। छोराहरू नआउन्जेलसम्म पर्खिनै पर्यो।’
गाउँलेहरू मुखामुख गर्न थाले। कुरा काट्नेहरूको विषय भयो। झुण्ड-झुण्ड भएर बसेका गाउँलेहरूको मुखबाट कुराहरू ओहोदोहोर भइरहेको थियो। मेरो कानसम्म आउँथ्यो र हराउँथ्यो। मैले खासै चासो पनि दिइनँ।
शोक र पीरले आँखा भासिएका थिए। छोराहरूको प्रतीक्षमा कृष्णेका बाले आफूले मझेरीमा पल्टाइदिएका छन्। बाँच्दा एक झल्कोसम्म हेर्न पाएनन्। आब के हेर्लान् र? विचरा! छोराहरूकै पीरले लग्यो कठै।
सेतो कफनमा बेरिएर धुपकाटीको सुगन्धमा सुतिरहेका छन् यतिबेला। गहिरो निन्द्रामा छन्। त्यो कालो दिनले बिदाइ गरेसँगै भोलिपल्ट सूर्यले दर्शन दियो। उदाएको सूर्यसँगै राधा आइपुगी। राधाले मलाई देख्नेबित्तिकै झ्याप्पै अंगालो हालेर ह्वा-ह्वा रोई।
बाको अनुहार हेर्न खोज्दै गर्दा पण्डितले रोके- ‘तँ मुस्लिम भइछस् रे, छुनु मिल्दैन। परै बसेर हेर्। नराम्रो नमान्। सनातन हिन्दु धर्मको अपमान भएको हेर्न सक्दिनँ म। हाम्रा पनि धर्म र मर्यादा छन्। तँ बुझ्छेस्।’
राधा अकमक्क भई। निर्लज्ज भएर पछाडि फर्की। मैले बोल्ने कुरै भएन। त्यो दिन पनि हामी आमाछोरी अंगालो हालेर खुब रोयौँ। आँसुसँगै राधाले बाउलाई बिदाइ गरी, अनन्तको लागि।
भोलि बिहान कृष्णे र पशुपते आइपुगे। आउन बित्तिकै थचक्क भुइँमै बसे। कृष्णेले लामो सास लिँदै बोल्यो- ‘मेरा बा…!’
एकैछिनमा पशुपते पनि भावुक देखियो तर आँसु झरेन। गाउँलेहरू जम्मा भइसकेका थिए। कवीर पण्डितले लास उठाउने र दाहसंस्कारको बारेमा बोल्दै थिए।
कवीर पण्डित बोल्दै गर्दा पशुपते बोलिहाल्यो- ‘म इसाई हुँ। म छोरा भएको नाताले इसाई धर्मबाटै बाको दाहसंस्कार होस् भन्ने चाहन्छु।‘
पशुपतिको बोली नसकिँदै गाउँलेहरू कराउन थाले- ‘हामी मनपरी गर्न कहाँ दिन्छौँ?’
कवीर पण्डितले बा हिन्दु भएका कारण हिन्दु परम्पराअनुसार नै अन्तिम संस्कार गर्ने बताए।
कवीर पण्डितको कुरा नसकिँदै कृष्णे बोल्यो- ‘यस्तो बेलामा पनि के धर्मको कुरा गरिरहन्छस्! किन विवाद गरिरहनु? अब बालाई घाट लानुपर्छ।‘
पशुपतिले आफू आफ्नो धर्मअनुसार नै अन्तिम क्रिया गर्ने निर्णय सुनायो र आफू छिटो फर्किनुपर्ने नि बतायो।
‘फर्किहाल्नु पर्छ? अनि किन आइस् त?,’ कृष्णे रिसले ओगो भयो।
राधाले कृष्णेलाई थुमथुम्याउँदै सुक्क-सुक्क गर्दै मलाई हेरी।
यी मोराहरूले मेरो मर्यादा र बाको इज्जत यति पनि ख्याल गरेनन्। बाँच्दा पनि सुख दिएनन्, मर्दा पनि शान्ति दिएनन्। म आमा भएर पनि आज मौन छु। बोल्नुभन्दा मौन बसेकै ठिक छ।
मृत्यु निश्चित छ, श्रद्धाञ्जलीको नाममा पशुपतेले र पण्डित कवीरले आ-आफ्नो धर्म प्रचार गरेर मृत शरीरलाई बिदाइ गरे। मलाई लाग्यो, मान्छे र मानवताभन्दा अरू के हुन सक्छ र? मानवताभन्दा ठूलो धर्म होइन। यो कुरा किन बुझ्दैनन्?
मृत्युजस्तो संवेदशील घडीमा पनि जात, धर्म, तराई, पहाड, धनी, गरिवजस्तो नजरले हेर्ने मान्छेहरू देख्दा साँच्चै मानवता हराएछ भन्ने लाग्यो। हुन त मान्छेको जात न हो, अरूको दुःखमा खुसी मनाउनेले कहाँ बुझ्नसक्छन् र मनको पीडा।
असंख्य मलामीहरूको भिडमा फगत म एक्लै भौतारिरहेको थिएँ। मलामीहरूको चिरबिर आवाजसँगै मेरा रहर तिमीलाई हेर्नु थियो तर तिमी थिएनौ।
त्यो साँझ मानौँ मेरा लागि औँसीको कालो रात बनेर मलाई छ्याप्प छोप्दै थियो। अब कृष्णेका बा कहिले आउँदैनन्। तिमी जलेर खरानी भएको मेरै आँखा अगाडि देखेर मलाई कस्तो पीडा भयो होला। भो! तिमी सोच्न पनि सक्दैनौ।