२०४६ को बहुदल आए बितिक्कै बैतर्नी काकीले बजारबाट एक थान नयाँ थेगो टिपेर घर ल्याइन्, ‘बहुदल आकै छ बोल्न पाकै छ’ भन्ने। उनका पहिले कै मुखझुन्डी भाषा थिए घर कता नानीको भनी सोधेमा ‘खाँबा गाडेका ठाँउमा’, ‘हाती पढेर ठुलो भको हो?’, ‘ओबर भयो भने गोबर हुन्छ’ आदि।
त्यसमाथि एकदिन एउटा राजनीतिक पाटीको चुनाबी आमसभाले २०४८ मा उनलाई गुरु मन्त्रणा दिएछ ‘वाक् स्वतन्त्रता’ भन्ने। आफनै बुताले त उनले बुझेकी होइनन् नेताले भाषण गर्दा बोल्या वाक् स्वतन्त्रता भन्ने नयाँ कुरा। तर, अरुले यसोयसो हो भनेर अर्थ्याई दिएपछि भने काकी भकभकी उम्लिन थालिन्। ‘अब चुप लागेर बसिन्न’, चुलोचौको मात्रै कुरिन्न’ जस्ता कुरा उसै चल्तीको चरममा थिए त्यो बेला।
साच्ची नै काकी त्यसउप्रान्त चुप लागिनन्। मनमा लागेको कुरा भगवानले खोलेको त्यो ओडारबाट फ्वाँसफ्वाँसि निकाल्नु ‘एक लत जिन्दगि’ जस्तै बन्यो काकीको। बाक् स्वतन्त्रता सुनेर आकै दिन बेलुका आफ्ना पतिदेबलाई उनले एउटा कक्षा लिन भ्याइहालिन्।
उनको लेक्चरका केहि भाँती प्रश्तुत गर्छु- ‘...अब जमाना गए चुप लागेर बस्ने...मनमा लागेका कुरा बोल्यो भने मात्रै मान्छेले मान्छेमा गन्छन्...मुखभरिको जिब्रो बोकेर बसेर अब चल्दैन....एकबारको जुनीमा केको घोगो हेरेर बस्नु...आफु त बन्द ओठ खोलिन्छ लाग्या कुरा बोलिन्छ...जो रिसाउछ उसैको मुख कालो... कुरो बुज्या हो ?...आदि।
‘साइँली काकी’, ‘माइली काकी’, ‘अन्तरी काकी’ त जान्या हो। भए नि बरु ‘बैदार्नी काकी’ सम्म हुनुपर्ने, भयो कसरी ‘बैतर्नी काकी’ भन्नु होला।
सुन्नुस।
छरछिमेकमा किचलो-अर्घेलो पर्दावर्दा आफ्नो पहिरन घुँडाभन्दा उभैसम्म सुर्केर प्रतिवादीलाई धारे हात पारेर सराप्ने काकीको पहिलो ब्रह्माश्त्र नै ‘तेरा बैतर्नी’ हुने रे सधैं। त्यसपछि मात्रै आउने हुन् ‘तेरा पटक्क पारेर....तेरा हरियो बाँसमा ओछ्यान् लाएर...आदि। त्यसमाथि उनका पति गणनाथ समकालीन बुढापाकामा सबैभन्दा कान्छा। त्यस रितले गर्दा गाउँभरिका दोस्रो पुस्ताले भने ‘गणनाथ काका’। काकाकी जोई हुनुको नाताले बनेकी काकीको क्षेप्याश्त्र ‘तेरा बैतर्नी’को अघिल्लो अंश चैं उडाएर पछिल्लो अंशमा ‘काकी’ जोडिएर बनेको रे उनलाई पुकार्ने गाउलेको साइनो। खोइ के जान्नु, भन्छन् सबै त्यसै।
हाम्रा पुर्बजले लामो भुक्तभोगी जीवनबाट खारिएर बनाएका आहानहरु ‘भन्न पाएँ भनेर प्याच्च नभन्नू, बस्न पाएँ भनेर थ्याच्च नबस्नू’ ‘थुतुनु...जोगाउनू’ जस्ता कुरा बैतर्नी काकीलाई अपवादमा राखेर बनाए होलान् भनेर तपाईंले गम्नु भए हुन्छ।
अब काकीका वाक् स्वतन्त्रताका केहि सिमित नमुना यहाँ पढौं:
‘मान्छे टिमुर्किएको भए पनि च्या चैं मिठो पकाउँदा रछौ’(चारजना इष्टमित्र बोलाएर प्रीतिभोज दिनेका सिकुवामा),‘त्यसका पोल्टा छाम है कति दाना लुकाकी छे’(छिमेकमा बिहेबर्तुन पर्दा कसार बटार्ने स्थलमा), ‘तिमेरु चैं कहिले निकाल्छौ हओ बच्चा, कि थारै बस्छौ ?’(आफ्नो योजनाले बच्चा नपाएका वा कोसिस गर्दा नि नभएर सुर्ताएका हुनसक्ने जोडीलाई जोरिपारिका सामुन्ने), ‘निकाल न हो त्यो तिम्रा बाउको ठुन्को के बिरालाले गु लुकाएझैं लुकाउछौ खिचौं फुटो’ (पर्ब उत्सबमा निम्तो मान्न जाँदा घरकालाई क्यामरा निकाल्न भन्दा), ‘ल्याओ न हो खाजा भोकले मर्ने बेला भो, बुडाबुडी नै चुइंक्क बोल्दैनौ त’ (घुम्दै जाँदा कसैका घरमा पुग्दा), ‘किन लान्थिस तैंले अस्पताल, बुडी कहिले मर्ली र सोरौंला भनेर बसेको तँ’ (उमेरले नै थलिएकी हजुरआमाको रेखदेख गरेर बसेको नातिलाई), ‘काँ तेत्रो दिन बस्न पाइन्छ, माइतै बसेर पुग्ने भए के खान बेउलाघर जानु पर्थ्यो आइमाईलाई?’ (तीजमा छोरी लिन आएका सम्धीलाई), ‘ए बुथुने डराएर हुन्छ? बोल्नु पर्दैन ? भन सबका सामू याँ, कति पल्ट उक्ल्यो बिर्खेले तँलाई ?’(बात लागेका जोडीलाई पन्चभलादमीका मुखेन्जी), हेर छाती सुकेको यसको, प्यान्टे भुँडीमात्रै उछिट्टिएको, खान पनि देओ न ए छोराछोरीलाई, सुत्ने बेलामा त मोज भाको थियो त बिर्सेउ ?’(कसैको बच्चालाई हेरेर उसका बाबुआमालाई), ‘चोक्टा जति सबै गएपछि खाने भनेर लुकायौ कि क्या हो टाँगन झोल मात्रै छ त’ (बिहेको भोजमा मासुभात हसुर्दै गर्दा भोजनदातालाई), ‘के पढाउछौ तिमेरु मास्टर ? सर्खारको पैसा खाएपछि यस्तै हो पारा ? कि पढाउने बेलामा जाँड खाएर आउछौ?’(छोराको परीक्षाफल लिन स्कुल जाँदा बिषय लागेको रिजल्ट पाएपछि प्रधानाध्यापकसँग), ‘बे गर्दैनस ए बद्रे?, तँ भन्दा कान्छाले तीन तीनवटा कोरलिसके, राम्रैसंगले भिउसिने बोकोझैं गनाउदै कहिलेसम्म हिंड्छस (काठमाडौँ बसेर डिग्री पढ्दै गरेको पल्लाघरको अबिबाहित बद्रि दसैंमा घर आकाबेला), ‘होइन ए मास्टर, फलानाकी स्वास्नीसंग कता लठारिदै थ्यौ रे भन्ने गाईंगुंईं सुनिन्छ त, गाउँका आइमाई भेला भएर काँजो लाउनु पर्ने हो तिमीलाई? (अंग्रेजी मास्टरबारे चलेको हल्लापछि स्कुल जाँदै गरेको मास्टरको साइकल रोकेर), ‘पोर्परार पनि त्यो सुर्के खोलामा झोलुंगे हाल्छौं भनेर म्याउँम्याउँ गर्दै भोट मागेउ, खोइ त हालेको? ओबर भयो भने गोबर हुन्छ भन्ने थाहा छैन ?...हामीले खहरे आका बेलामा तिम्रा बाउका लक्कर तेर्स्याएर खोला तर्नु?(भोट माग्न दलबलसहित आँगनमा आएका नेतालाई)....
काकीसँग झन्डै दस बर्षपछि अस्ति नेपाल जाँदा भेट भो। अँह, काकी फेरिएकी छैनन्! फेरिएको भन्या उमेर जवानी ओरालो कुद्या मात्रै देखें मैले काकीको! सिलसोभाउ त ढुंगाको अक्षरझैं अजम्बरी नै रहेछ!
निश्चित रुपमा बिदेसी चकलेटसकलेट, यसो मुख मिठ्याउनी हात लाइयो काकीलाई. ‘ए येमे, के सिँगाने केटाकेटीलाई जस्तो चकलेट लेर आउछस् हामीलाई, काकीलाई एउटा साइको घडी बोकेर आको भा तेरा बाउलाई त रिन लाग्ने थेन त याँ’ काकीले चकलेट खुवाको नख्वाई पारिन् ठाउँको ठाउँ। श्रीमती अलमल्ल परी तिनका हाकाहाकी कुरा सुनेर. अलिअलि डराएजस्तो, भाउसोभाउ पो पुर्याइएन छ कि मान्यजनको भनेजस्तो मुखमंडल पारेर मेरा मुखमा ट्वाँ परेर हेरी उसले।
काकीकै पारामा ‘तिमीले रोपेको घडीको बोटमा फलेका छन् उता र साइको घडी टिपेर ल्याउनलाई’ भन्ने भाउन्न जवाफ त उब्जेको हो मलाई नि मनमा तर ‘अर्को चोटी आउदा है त काकी’ भन्दिएँ. दुवैतर्फ बाँचीबर्ति रहियो भने काकीले छोड्नेवाला छैनन् अर्को पटकको भेटमा भन्ने देखादेखी छ।
बैतर्नी काकीको वाक् स्वतन्त्रताले को नौलोपौलो, को लज्जाशील, को धकवान्, को मित, को जेठाजु, को मुखिया, को सम्धी, को काजि सबैलाई निल्ल नपारेको छैन। उनका चिरिबिरीच्यार्रले अफ्ठ्यारो मान्नेहरुले ‘ए चुप लाग्नै’ नभनेका पनि होइनन् तर उही हो ‘बौदल आकै छ बोल्न पाकै छ।’
उनको उन्मुक्त आत्मविश्वासमा सबै मान्छे सबै बेला उनका खरा नकच्चरा ठट्टा, मजाक र दिल्लगी अमृतझैं खान्छन् र बिना हाजमोला नै पचाउन सक्छन।
‘कति बोलि दुर्छे भए नि मनपेट सफा भकी फलानी’ भन्छन्। कति ‘मान्छे हाँसिदिएर पलाप्पिएकी राहु’ भन्छन्. कति ‘मान्छेका फेला नपरेकी बजिनी’ भन्छन् त कति ‘पोइले छाडा छोडेकी बैला’। गणनाथले ‘यसो’ मात्रै भन्न आँटे भने बैतर्नी काकीले ‘यसो, उसो, कसो, तेसो, मेसो, फेसो’ सब बर्साउँछिन् असिना परेझैं कुमासमा। बोलौं प्रतिकार गरौँ सबै कुराको छ्यानबिबेक बिर्सेर रणभूमिमा ओर्लिनु पर्छ नबोलौं खलाँती एकैछिन रोकिदैन। बैतर्नी काकीका समकालीन अन्य सालीन तथा भद्र काकीहरु जो आफ्नो वाक् स्वतन्त्रतालाई समाज, परिवार, स्वजनका मान्यतामा, मान्छेका ब्यक्तिगत बुझाई, शैली र मुल्यमा दख्खल नपर्नेगरि भरपुर उपयोग गर्छन् तिनले कागलाई जित्ने कोइली रणनीति नै बनाएका छन् ‘बोलेर हार्नु भन्दा नबोलेर जित्नू।’
एकदिन गणनाथ जोइको वाक् स्वतन्त्रताले दिक्क मानेर ओछ्यानमा पल्टिरहेका थिएछन्। भुसुक्क निदाएछन् र सपना देखेछन्। उनि त बिरक्तिएर महादेवको तपस्या गर्न भनि वनतिर लागेछन् रे। महादेव प्रकट भए। भक्तको इच्छाबमोजिम महादेवले तीनवटा छोटाछोटा लट्ठी दिंदै भनेछन् ‘ल यी
लट्ठी स्वास्नीलाई दिनू र उसले चिताएको वर भन्नू र लट्ठी पालैपालो भुईंमा बजार्न लाउनू, आफुले चिताएका तीनवटा बर प्राप्त गरी सुखले जिउनू।’
सपनामा गणनाथ प्रफुल्ल हुँदै एउटा वर यसको मुखालेपन जाओस भनेर माग्न लाउनु परो बाँकी दुइटाले धनदौलत माग्ने इरादा धर्दै घरतिर दौडेछन्। जोइका कारण समाजमा अलिक हेपिएको गणनाथले भगवानको वरको करामत देखाएर सबैको सेखी झार्न सपनामै गाउँलेलाई आगनमा भेला पारेछन्। सबका सामुन्ने गणनाथले ‘मेरो प्याच्च प्याच्च बोल्ने बानि जाओस’ भनेर यो लट्ठी भुईंमा बजार मात्र के भनेथे रे! बैतर्नी काकीले के रे के भनेउ रे ? के कन्डोको वर चाहिया छ मलाई ? भन्दै फन्किदै एउटा लट्ठी हानिहालिछन् भुईंमा। अब परो फसाद! सारा घर आँगन कोठाचोटा सबै कन्डैकण्डा भए। रुवाबासी भो! लज्जाबोधक अङ्गले सबै ढाकेको देखेर महिला दिदीबहिनीले लाजले आँखा छोपे, रामराम पुकारे। दुईटा वर बाँकी थिए। अतालिएको बेला सबै कन्डा जाउन भनेर अर्को लट्ठी नहानेर उपाय भएन, हानेछन्। यसपाली जान त गए तर दुबैका कन्डा पनि बाँकी रहेनन्। अब कन्डोबिना त जिन्दगि चल्दैन। अब बाँकी रहेको एउटा वर छ। कन्ड़ोबिहीन जिन्दगि त कसरी चल्थ्यो र! आफ्ना कन्डा त फिर्ता ल्याउनु परो। लौ हाम्रा कन्डा फिर्ता आऊन भनेर बचेको लट्ठी बजार्दा जोईपोइकै कन्डाचैं फिर्ता आएछन्। महादेवका तीन वर पनि सखाप भए!
आँगनमा भेला भएका गाउँले निम्नबमोजिम टुक्का हाल्दै उठेर बाटो लाग्दा पो गणनाथ सपनाबाट झल्याँस्स बिउझिए रे \!
“गणनाथले बरदान पायो घर आयो हाँस्दै
कन्डा गए कन्डा आए जस्ताको तस्तै”