जेन जी आन्दोलनको क्रममा आगजनी, तोडफोड र लुटपाट गरिएको बुटवलको ड्रिम इन्टरनेसनल होटेल र तिलोत्तमाको ड्रिम ल्यान्ड गोल्ड रिसोर्टले होटेल सञ्चालनमा नआए पनि कुनै पनि कर्मचारीले जागिर गुमाउन नपर्ने र सबै कर्मचारीलाई पूरै पारिश्रमिक दिने बताएको छ।
जेन जीहरूले गरेको आन्दोलनको क्रममा गत भदौ २४ गते ड्रिम इन्टरनेसनल होटेल र ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा एकै पटक आगजनी, तोडफोड र लुटपाट गरिएको थियो। ड्रिम ग्रुप अफ इन्डष्ट्रिजले २०६६ सालमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट र २०७८ सालमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालनमा ल्याएको थियो।
भदौ २४ गते गरिएको आगजनी, तोडफोड र लुटपाटबाट दुई वटै होटेलमा करोडौंको क्षति गरिएको छ।
आगजनी र तोडफोड गरिएको ड्रिम इन्टरनेशनललाई मर्मत गरी दुई सातापछि मंगलबारदेखि आंशिक सञ्चालनमा ल्याइएको छ।
ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा भने आगजनी र तोडफोड गरी धेरै क्षति गरिएकोले दसैंअगाडि सञ्चालनमा आउन नसक्ने देखिएको छ।
ड्रिम ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष गोपाल रानाले रिसोर्ट सञ्चालनमा आउन झन्डै एक महिना जति लाग्ने भए पनि दसैंको मुखमा कुनै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आउन नदिने बताए।
‘वर्षौंदेखिको मिहिनेत, पसिना र लगानी खरानीमा परिणत हुँदा म मात्रै होइन, मेरा कर्मचारीहरू पनि उत्तिकै दुःखित हुनुहुन्छ। यस्तो अवस्थामा पनि उहाँहरूले मलाई साथ दिइरहनु भएको छ मैले पनि उहाँहरूको साथ छोड्ने छैन यहाँ कार्यरत कुनै पनि कर्मचारीलाई बेरोजगार बनाउने र दसैंमा खिन्न बनाउने छैन,’ उनले भने।
रानाका अनुसार ड्रिम ल्यान्ड गोल्ड रिसोर्टमा ९० र ड्रिम इन्टरनेशनल होटेलमा ६० गरी एक सय ५० जना कर्मचारी कार्यरत छन्।
आगजनी र तोडफोड गरिएको होटेलमा सरसफाइ र मर्मतको काम जारी रहेकोले क्षतिको सम्पूर्ण विवरण संकलन भई नसकेको रानाले बताए। उनले जेन जी आन्दोलनका नाममा अराजक समूह घुसपैठ गर्दै सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याउने काम भएकोले यसको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
२०४८ सालदेखि विभिन्न पेसा व्यवसाय मार्फत् आफू पनि उत्पादनमा लागिरहेको र युवाहरूलाई पनि उत्पादनमा लाग्न प्रेरित गर्दै आएपनि कुनै अमुक नेताको लगानी रहेको भन्दै गलत अफवाह फैलाइ रिसोर्ट र होटेलमा क्षति पुर्याएकाप्रति उनले दुःख व्यक्त गरे।
आफू अहिलेसम्म कुनै पनि सार्वजनिक लाभको पदमा नरहेको र ३४ वर्षदेखि विभिन्न पेसा र व्यवसायमा क्रियाशिल रहेको अवस्थामा आफ्नो बारे गलत अफवाह फैलाइएको गुनासो गरे।
रानाले आफ्नो, ससुराली र बैंकबाट करोडौं ऋण लिएर होटेल सञ्चालन गरेको बताए। गोपाल अध्यक्ष रहेको ड्रिम ग्रुप अफ इन्डष्ट्रिजमा उनकी श्रीमती गिता थापा, जेठान विष्णु थापा, रिता थापा र वसन्त थापा सञ्चालक छन्।
‘आफूले गरेको कर्म र लगानीलाई अरूसँग जोडेर गरिएको गलत प्रचारले होटेल र रिसोर्टमा गरिएको भौतिक क्षति भन्दा धेरै मेरो आत्मामा क्षति भएको छ,’ रानाले गुनासो गरे।
अपांग आश्रमका आश्रितलाई खाना खुवाएर होटेलको पुनः सञ्चालन
जेन जी प्रदर्शनको क्रममा भएको आगजनी र तोडफोडका कारण भदौ २४ गतेदेखि बन्द गरिएको ड्रिम इन्टरनेशनल नेपाल अपांग आश्रमका आश्रितहरूलाई खाना खुवाएर मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ।
ड्रिम ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष रानाले बुटवलको देविनगरस्थित नेपाल अपांग आश्रमका आश्रितहरूलाई होटलमै ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गरेका हुन्। राना उक्त आश्रमका संरक्षक तथा संस्थापक अक्षयकोष दाता समेत हुन्।
आश्रमका सञ्चालक डोल बहादुर रामदामका अनुसार आश्रममा हाल ४५ जना आश्रित रहेका छन्। आफै पनि दुवै हात गुमाएका रामदामले अपांगताका कारण घर परिवारबाट टाढा भएका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले आश्रम सञ्चालन गरेका हुन्।





