स्पेनबाट नेपाल घुम्न आएका ३७ वर्षीय पुरूष सोलेर कासानोभास र ३२ वर्षीया महिला मोलास हुन्का घोरेपानी पदयात्रामा गए। गएको शनिबार बिहान सवा १० बजे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को बिरेठाँटी चेक प्वान्टमा रूट परमिट देखाएर उनीहरू प्रवेश गरेका थिए। त्यसपछि उनीहरू हराए।
पुरानो पदमार्ग उल्लेरी हुँदै घोरेपानी तिखे ढुंगामा नजिकै पदयात्राको लट्ठी र झोला भेटियो। तिखे ढुंगा भन्ने ठाउँमा मनमोहक झरना छ। खोजी गर्दै जाँदा सोमबार कासानोभास मृत फेला परे। उनको शव भुरून्दी खोलामा अड्किएको भेटियो।
उनीसँगै रहेकी मोलास अझै बेपत्ता छिन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले दुई दिन खोजतलास गर्दा पनि उनी फेला परिनन्। खोजीमा सशस्त्र प्रहरीका गोताखोर पनि थिए।
पदयात्राका लागि विश्वविख्यात अन्नपूर्ण क्षेत्रमा पर्यटक हराउने तथा लडेर वा चिप्लिएर मृत्यु हुने घटना नयाँ होइन।
पदयात्राका लागि अर्को लोकप्रिय गन्तव्य मर्दी हिमाल बेस क्याम्पमा केही अघि भेडापालक गोविन्द गौतमले निगालाघारीमा मान्छेका दुईवटा हड्डी, एउटा ट्राउजर र आइफोन देखे।
समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइमा मानव अवशेष र अन्य सामग्री देखेपछि स्थानीय माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद क्षेत्री (राजेन्द्र) लाई फोटो र भिडिओ पठाएर जानकारी गराए।
गोविन्दले देखेको मानव अवशेष, आइफोन र ट्राउजर गत गत वर्ष डिसेम्बर ३० मा हराएका स्विडिस पदयात्री माइकल लिउ ब्लोम्बर्गको रहेको पुष्टि भयो। ती अवशेष र सामग्री मृतकका परिवारलाई बुझाएको वडाध्यक्ष क्षेत्रीले बताए।
मर्दी पदमार्गमै पाँच वर्षअघि हराएकी नेदरल्यान्डकी पदयात्री कोरी भान भेगलको स्थिति अहिलेसम्म अज्ञात छ। उनकी आमा हरेक वर्ष छोरी हराएको ठाउँसम्म पुग्छिन् र निराश भएर फर्कन्छिन्।
गत वर्ष अमेरिकी पदयात्री पल जोसेफ साथीहरूसँग मनाङको नार गाउँ पदयात्रा गरेर फर्कने क्रममा चिप्लिएर लडे। मनाङको दानाक्यु र तिमाङको बीचतिर लडेका उनलाई साथीहरूले उपचारका लागि लमजुङको बेसीशहर पुर्याए तर चिकित्सकले मृत घोषित गरे।
एक्यापका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र अन्नपूर्ण क्षेत्रमा लडेर तीन जना विदेशी पदयात्रीको ज्यान गयो।
पदयात्रामा हराउने र लडेर ज्यान जानेभन्दा ठूलो समस्या हो लेक लाग्नु। एक्यापका अनुसार गत आर्थिक वर्षमा मात्र अन्नपूर्ण क्षेत्रमा लेक लागेर २१ जना पर्यटकको मृत्यु भयो।
गत वर्ष असोजमा मुस्ताङमा लेक लागेर युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना, भारतीय नागरिकहरू ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवतीको ज्यान गयो।
मुक्तिनाथ दर्शनका लागि गएका भारतीय पर्यटक सत्यनारायण र रेवतीलाई जोमसोम नपुग्दै लेक लागेको थियो। स्थानीय स्वास्थ्य संस्थामा पुर्याउँदा उनीहरू दुबैको मृत्यु भइसकेको थियो।
लेक लागेर मृत्यु हुने पर्यटकहरूमा सबैभन्दा धेरै भारतीय हुन्छन्।
एक्यापका प्रमुख रवीन कडरियाका अनुसार मुक्तिनाथ दर्शन गर्न हतार गरेर जाने पर्यटकलाई लेक लाग्ने समस्या देखिने गरेको छ।
‘भारतबाट हिँडेका पर्यटक सुनौलीबाट एकै दिन मुक्तिनाथ पुग्न खोज्दा लेक लागेर ज्यान गएको पाइएको छ,’ उनी भन्छन्, ‘हामीले हतार गरेर उचाइमा जाँदा लेक लाग्छ, मृत्यु हुन सक्छ भनेर अंग्रेजी र हिन्दी भाषामा जानकारी गराएका हुन्छौं तर उहाँहरूले नै वास्ता नगरेको देखिन्छ।’
मुक्तिनाथ दर्शन गर्न भारतबाट ठूलो संख्यामा तीर्थयात्रीहरू आउने भएकाले समस्यामा पर्ने पनि भारतीय नै बढी हुने कडरियाको भनाइ छ। उनका अनुसार पोखरामा एक दिन र जोमसोमभन्दा केही तल एक दिन बिताउने हो भने लेक लाग्ने समस्या धेरै हदसम्म समाधान हुन सक्छ।
‘तीर्थयात्रीलाई मुक्तिनाथ लैजाने ट्राभल कम्पनीहरूलाई एकै दिनमा मुक्तिनाथ पुर्याउन नदिन सरकारले कदम चाल्नुपर्छ,’ उनी भन्छन्, ‘पर्यटकले पनि आवश्यक जानकारी लिएर स्वास्थ्यको ख्याल राख्नुपर्छ।’
जोमसोमभन्दा केही तल कम्तीमा एक रात बस्नु राम्रो भए पनि एक्यापले जबर्जस्ती गरेर रोक्न नसक्ने उनले बताए।
स्थानीय तह र एक्यापले मुक्तिनाथ जाने बाटोका केही ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा दिए पनि लेक लाग्ने समस्या उस्तै रहेको उनको भनाइ छ।
लेक लाग्ने समस्या समाधान गर्न जोमसोमभन्दा केही तल एक दिन बस्नै पर्ने गरी टाइम कार्ड लागु गर्न टान गण्डकीका अध्यक्ष पन्थीको सुझाब छ।
एक्यापका प्रमुख कडरियाका अनुसार पदयात्रामा जाने पर्यटकलाई भने लेक लाग्ने समस्या कम हुन्छ। पदयात्रीले पहिले नै तयारी गर्ने र विस्तारै यात्रा गर्ने भएकाले यस्तो समस्या विरलै देखिन्छ।
‘पदयात्रीलाई लेक लाग्ने घटना थोरै हुन्छ। उनीहरूको मुख्य समस्या हराउने र लडेर ज्यान गुमाउने हो,’ उनी भन्छन्, ‘गाइड नलिई जाने पदयात्री पर्यटक यस्तो घटनामा पर्ने गरेका छन्।’
सरकारले २०७९ चैतदेखि संरक्षित क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकले गाइड लैजानै पर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थाको कार्यान्वयन प्रभावकारी छैन।
घोरेपानी पदयात्रा जाँदा हराएका स्पेनिश पदयात्री र मर्दी पदमार्गमा अवशेष भेटिएका स्विडिस पदयात्रीका साथमा गाइड थिएनन्।
गाइड नलिई जाँदा हिमाली क्षेत्रमा बाटो बिर्सेर हराउने, लड्ने जस्ता घटना बढेको एक्याप प्रमुख कडरिया बताउँछन्।
‘हामी (एक्याप) ले पनि गाइड अनिवार्य गर्न भनेका छौं तर प्रभावकारी कार्यान्वयन भएको छैन,’ कडरिया भन्छन्, ‘पर्यटकीय क्षेत्र र पदमार्गका पर्यटन व्यवसायीले पनि विदेशीलाई एक्लै पदयात्रा नगर्न आग्रह गर्ने गरेका छन्।’
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष धर्म पन्थी सरकारले नीतिनियम प्रभावकारी कार्यान्वयन गर्न नसक्दा पर्यटन क्षेत्रमै नकारात्मक असर परेको बताउँछन्।
‘नेपालमा पर्यटकका लागि पदयात्रा, मोटरबाटो, हवाईयात्रा सबै असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुगेको छ,’ उनी भन्छन्, ‘पदयात्रामा जाने विदेशी पर्यटकलाई गाइड अनिवार्य गर्नै पर्छ। यति भएपछि पर्यटक हराउने र मृत्यु हुने घटना रोकिन्छ।’
उनले निरन्तर भइरहेका दुर्घटनाप्रति राज्यका कुनै पनि निकाय जिम्मेवार बन्न नसक्दा पर्यटन व्यवसाय धराशायी हुन सक्ने चिन्ता प्रकट गरे।
राष्ट्रिय राजमार्गका रूपमा स्थापित पृथ्वी राजमार्गमा यही भदौ ८ गते भएको भारतीय बस दुर्घटनाले भारतीय पर्यटकहरूमा नकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
उनले भने, ‘सबैभन्दा धेरै पर्यटक आउने भारतकै पर्यटकहरू ठूलो दुर्घटनामा पर्नु चिन्ताको कुरा हो।’
उक्त दुर्घटनामा २७ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो, १६ जना घाइते भएका थिए।
नेपालको हवाईयात्रा पनि असुरक्षित छ भन्ने सन्देश विश्वबजारमा गएको भन्दै पर्यटन व्यवसायीले चिन्ता प्रकट गरेका छन्। पोखराका पर्यटन व्यवसायी कृष्ण आचार्यका अनुसार नेपालमा भइरहेका हवाई दुर्घटनाका कारण पनि केही पर्यटकले बुकिङ क्यान्सिल गरेका छन्।
नेपालको पर्यटन क्षेत्र नै असुरक्षित छ भन्ने सन्देश गइरहेको छ तर सरकारी निकायहरू जिम्मेवार हुन सकेका छैनन्,' उनले भने, ‘हाइवे (राजमार्ग) र आकाश (हवाईयात्रा) दुबैमा ज्यानको जोखिम हुने भएपछि पर्यटक आउँदैनन्।’
आचार्यका अनुसार पर्यटकका लागि पहिलो शर्त सुरक्षा हो। सबै किसिमको सुरक्षा छ भन्ने विश्वासमा मात्र पर्यटकहरू आउँछन्।
पदमार्गमा पर्यटक हराउने र ज्यान गुमाउने घटनाको जिम्मेवारी नेपाल पर्यटन बोर्डले लिनुपर्ने उनको भनाइ छ।
‘पर्यटन बोर्डले ठाउँठाउँमा चेकपोस्ट राखेर गाइड अनिवार्य गराउनुपर्छ,’ उनी भन्छन्, ‘शनिबार घोरेपानी पदयात्रामा गएका पर्यटक झरनामा पौडी खेल्न जाँदा हराएका हुन सक्छन्। गाइड भएका भए असुरक्षित ठाउँमा जान दिने थिएनन्।’