पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १९ महिना बित्यो।
यस अवधिमा ७ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भए। अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि आन्तरिक उडान थपियो। पुरानो विमानस्थलबाट साँझ ५ बजेसम्म मात्र उडान हुन्थ्यो। अहिले राति १० बजेसम्म हुने गरेको छ।
पोखराबाट काठमाडौं मात्र नभएर भैरहवा, भरतपुर, नेपालगञ्ज लगायत गन्तव्यमा पनि नियमित उडान हुने गरेको छ।
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान एउटा पनि हुन नसके पनि आन्तरिक उडानको चाप बढेको छ। तर उडान र अवतरणमा सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण प्रविधिले काम नगर्दा पनि बेवास्ता गरिएको पाइएको छ।
विमानस्थलमा उडान र अवतरणको सुरक्षाका लागि ‘राडार’ वा ‘वाइड एरिया मल्टिलेटरेसन (डब्लुएएम (वाम)’ मा जस्ता प्रविधि राख्नुपर्छ। यी प्रविधिले जसले रेडियो वेभमार्फत आफ्नो क्षेत्रभित्र आइरहेका विमान एटिसी टावरमा देखाउँछन्।
विमानस्थलमा राडरको सट्टा संसारमा पछिल्लो समय चलेको भनिएको वाम प्रविधि जडान गरिए पनि त्यसले राम्रोसँग काम गरेको छैन। अधिकारीहरूका अनुसार विमानस्थलको एटिसी टावरमा जडान गरिएको कम्प्युटरमा कहिले भिडिओ देखाउँछ तर कहिले ‘इरर’ देखाउँछ।
वाम प्रविधिले राम्रोसँग काम नगर्दा एटिसी टावरबाट विमानका पाइलटलाई अडिओ सम्पर्क गरेर सूचना लिने र निर्देशन दिने गरिएको छ।
उक्त प्रविधिले काम नगर्दा पोखरा आउजाउ गर्ने विमानसँग अडिओ सम्पर्क गरेर विमान उडान, अवतरण र नियन्त्रण गर्नुपरेको पोखरा विमानस्थलका एक अधिकारीले बताए।
‘राडार वा वाम जुन प्रविधि राखे पनि चलेको अवस्थामा सम्पूर्ण डाटासहित भिजुअलमा विमान देखिन्छ। नचल्दा विमानसँग अडिओ सम्पर्क गरेर पाइलटलाई निर्देशन दिनुपर्ने अवस्था छ।’
विमानस्थलमा राखिने यी दुवै प्रविधिले आफ्नो क्षेत्रभित्र प्रवेश गरेका जहाज वा हेलिकप्टरको भिडिओ देखाउँछ। भिडिओमा उडिरहेको जहाज वा हेलिकप्टर लाइभ मात्र देखाउने होइन, तिनको उचाइ, गति र अन्य अवस्था पनि देखाउँछ।
वामले भन्दा बढी राडरले मौसमको अवस्था पनि देखाउने एटिसी (एअर ट्राफिक कन्ट्रोल) मा काम गरेका अर्का अधिकारी बताउँछन्।
ती अधिकारीका अनुसार राडार वा वाम प्रविधि नहुँदा पाइलटलाई सम्पर्क गरेर अडिओमार्फत विमानको खास अवस्था, उचाइ र गतिको जानकारी लिनुपर्छ। पाइलटको रिपोर्टिङका आधारमा आवश्यक निर्देशन दिनुपर्ने हुन्छ।
एटिसीमा लामो समय काम गरेका ती अधिकारी भन्छन्, ‘आफैले हेरेर जहाज नियन्त्रण गर्ने र निर्देशन दिने काम बढी सुरक्षित हुन्छ।’
अन्तर्राष्ट्रिय विमानस्थलका लागि यस्तो प्रविधि जडान अनिवार्य छ। अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन आइकाओले पनि यसलाई अनिवार्य भनेको छ। पोखरामा जडान गरिएको वाम प्रविधिलाई पनि आइकाओले मान्यता दिएको छ।
काठमाडौंबाट उडेको जहाज मनकामना मन्दिरमाथि आइपुगेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एटिसी टावरले सम्पर्क गर्न सक्छ। विमानस्थलमा जडान गरिएको वाम प्रविधिले काम गरेका बेला त्यही विमान उडेको लाइभ भिडिओसहित उचाइ र गतिसहित अन्य सूचना पनि उपलब्ध हुन्छ।
पोखरामा जडान गरिएको वाम प्रविधि ‘इन्स्टलेसन’ गरिएसँगै आसपासका डाँडाहरूमा ११ वटा बेस स्टेसन राखिएको छ। ती स्टेसनको सहयोगमा ३२ देखि ५० नटिकल माइलसम्म जहाज वा हेलिकप्टरको भिडियो एटिसी टावरमा देखिन्छ।
पोखरा आसपासका डाँडामा बेस स्टेसन राख्ने अधिकांश ठाउँमा नेपाल टेलिकमको टावर प्रयोग गरिएको छ। एउटामा एनसेलको टावर प्रयोग गरिएको छ। यी स्टेसनको मद्दतमा एटिसी टावरमा विमानको भिडिओसहित सूचना प्राप्त हुन्छ।
वामको सट्टा राडर राख्दा धेरै ठाउँमा सबस्टेसन राख्नुपर्दैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको राडरका लागि फूलचोकी डाँडामा मात्र स्टेसन राखिएको छ।
‘राडर वा वाम जे राखे पनि काम गर्नुपर्यो। प्रविधिले काम नगर्दा पाइलटसँग रिपोर्टिङ लिएर कन्ट्रोल गर्नुपर्ने हुन्छ,’ पोखरा विमानस्थलका प्राविधिक भन्छन्, ‘काम गरेको अवस्थामा भिडियो हेरेर जहाज ट्र्याकमा उडेको छ कि अफट्रयाकमा छ भन्ने थाहा हुन्छ र सोहीअनुसार निर्देशन दिन सकिन्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणतर्फका प्रमुख विनेश मुनकर्मीले नयाँ प्रविधि भएकाले राडरको सट्टा वाम राख्ने योजनाअनुसार नै उक्त प्रविधि जडान गरिएको उनको भनाइ छ।
‘डब्लुएएम (वाम) प्रविधि विश्वमा चलेको लेटेस्ट प्रविधि हो,’ उनी भन्छन्, ‘यही प्रविधि राख्ने योजना थियो। त्यसमाथि इपिसी मोडलको ठेक्कामा ठेकेदारले नै प्रविधि छनौट गर्न सक्छ।’
आयोजना निर्माणतर्फका प्रमुख मुनकर्मीले वाम जडान गरिएको भए पनि सञ्चालनमा समस्या आएको बताए। उनका अनुसार समस्या आउनुमा दुईवटा कारण छन्– टावरमा नियमित बिजुली नहुनु र अर्थिङका लागि जडान गएिको तार चोरी हुनु।
टेलिकमका टावरहरूमा जडान गरिएका सबस्टेसन सञ्चालन गर्न बिजुली नियमित हुनुपर्छ। पोखरा र आसपासका डाँडाहरूमा बिजुली नियमित नहुँदा प्रविधि सञ्चालनमा समस्या उत्पन्न भएको छ।
मुनकर्मीले भने, ‘हामीले चिनियाँ विज्ञहरूसँग पनि वाम प्रविधिले काम गरेन भनेर सल्लाह गरेका थियौं। उनीहरूले बिजुली नियमित नभएर हो भनेका छन्।’
उनले टावरमा राखिएको सबस्टेसन चट्याङबाट जोगाउन गरिएको अर्थिङको तार चोरी हुनु दोस्रो समस्या रहेको बताए। अहिले पनि पोखराको विजयपुरमाथि ठुलाखेतमा राखिएको सबस्टेसनको केबल तार चोरी भएको छ।
विमानस्थलले राखेका सबस्टेसनहरूमध्ये एउटा बिग्रिए पनि अरूले काम गर्ने उनले बताए।
‘एउटा सबस्टेसनमा तार चोरी भयो वा बिजुली नभएर बन्द भयो भने पनि अर्कोले काम गर्छ,’ उनी भन्छन्, ‘जुन सबस्टेसन बन्द भएको छ त्यसवरिपरिको ठाउँ देखाउँदैन, बाँकीले काम गर्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रविधि अपनाउन नसकेको भन्दै नागरिक उड्डयन प्राधिकरणकै अधिकारीहरू रुष्ट छन्।
उनीहरू खुलेर बोल्न पनि सकेका छैनन्। हवाई यात्रा सुरक्षित बनाउन यो प्रविधि सञ्चालन अनिवार्य हुने उनीहरूको धारणा छ।
‘राडर वा वाम जुन प्रविधि राखे पनि हुन्छ। मुख्य कुरा त्यसले काम गर्नुपर्यो,’ एक अधिकारी भन्छन्, ‘हावा (हचुवा) को भरमा गरिएको उडान सुरक्षित हुँदैन।’