गण्डकी प्रदेश घुम्न आउने विदेशी पर्यटक औषतमा १२ दिन बस्ने गरेको एक अध्ययनले देखाएको छ।
अध्ययन प्रतिवेदन अनुसार उनीहरूको दैनिक खर्च जम्मा ८ हजार ३५५ रुपैयाँ अर्थात ६२ अमेरिकी डलर छ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालय अनुसन्धान इकाइले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा गरेको ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति’ सम्बन्धी विशेष अध्ययन प्रतिवेदनले उक्त तथ्यांक दिएको हो।
सर्वेक्षणमा भाग लिएका पर्यटकले गण्डकीमा १२ दिन बिताउने र नेपालको कुल बसाई भने २२ दिन मात्र भएको उल्लेख गरेका छन्।
गण्डकी घुम्न आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण अमेरिकाबाट आउने पर्यटक १९ दिन बस्ने गरेको पाइएको छ भने सबैभन्दा कम एसियाली पर्यटक ९ दिन बस्ने गरेको पाइएको छ। अष्ट्रेलियाली पर्यटक १५ दिन, उत्तर अमेरिकी र युरोपियन पर्यटक १३ दिन गण्डकीमा बिताउने गरेका छन्।
गण्डकीमा आएका विदेशी पर्यटकले सबैभन्दा धेरै खर्च खानामा २८ प्रतिशत गर्ने गरेका छन्।
यस्तै, बसाइमा २७ प्रतिशत, यातायातमा २१ प्रतिशत, मनोरञ्जनमा १२ प्रतिशत, किनमेलमा ५ प्रतिशत र कर २ प्रतिशत खर्च गर्ने गरेको उल्लेख छ।
गण्डकीको कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा र नवलपुरमा विभिन्न सिजनमा घुम्न गएका ४ सय जना पर्यटकसँग सर्वेक्षण गरी उक्त प्रतिवेदन तयार पारिएको राष्ट्र बैंक पोखराका प्रमुख बिना ढकालले बताइन्।
‘हामीले गण्डकीका ६ वटा जिल्लामा विविध सिजनमा गएका ४ सय पर्यटकसँग सर्वेक्षण गरेर प्रतिवेदन बनाएका हौं,’ उनले भनिन्, ‘गण्डकीमा पर्यटकको संख्या, बसाई र खर्च बढाउन नीति निर्माण गर्दा यो प्रतिवेदनले सहयोग गर्छ।’
सर्वेक्षणमा विश्वका ४१ वटा देशबाट गण्डकी प्रदेश आएका पर्यटक समावेश थिए। जसमा सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत, अष्ट्रेलियाका पर्यटक छन्। सबैभन्दा धेरै पर्यटक युरोप महादेशमा आएको र अफ्रिका महादेशबाट पर्यटकको आगमन शून्य रहेको प्रतिवेदनमा औंल्याइएको छ।
गण्डकीमा सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा ४० प्रतिशत, मनोरञ्जनका लागि २४ प्रतिशत, सांस्कृतिक प्रयोजनका लागि १६ प्रतिशत धार्मिक प्रयोजनका लागि १० प्रतिशत, अन्य प्रयोजनका लागि ५ प्रतिशत र व्यापारिक प्रयोजनका लागि २ प्रतिशत पर्यटक आएको अध्ययनमा देखिएको छ।
गण्डकीमा घुम्न आएका ६८ प्रतिशत पर्यटक पहिलो पटक यस प्रदेश घुम्न आएको बताएका छन्। बाँकी ३२ प्रतिशत पर्यटक दोहोर्याएर गण्डकी आएको उल्लेख गरेका छन्। यसरी दोहोर्याएर आउनेहरू २ पटकदेखि ३० पटकसम्म आउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
गण्डकीमा घुम्न आउने अधिकांश विदेशी पर्यटक एक्लै आउने गरेको पाइएको छ। सर्वेक्षणमा सहभागी ३४ प्रतिशतले एक्लै घुम्न आएको बताएका छन्। त्यसपछि २८ प्रतिशत साथीसँग, २२ प्रतिशत परिवारसँग र १४ प्रतिशत सामूहिक रूपमा घुम्न आएको बताएका छन्। यसरी घुम्न आएका पर्यटकमध्ये औषतमा महिला १३ दिन र पुरूष ११ दिन मात्र गण्डकीमा बिताउने गरेको प्रतिवेदनमा उल्लेख छ।
सर्वेक्षणमा सहभागी ६० प्रतिशत पर्यटकले गण्डकी बसाई एकदम सकारात्मक रहेको बताएका छन्। यस्तै ३४ प्रतिशत पर्यटकले सकारात्मक, ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत पर्यटकले नकरात्मक अनुभव गरेका छन्।
सर्वेक्षणमा सहभागी ८७ प्रतिशत पर्यटकले गण्डकी प्रदेशबाट सम्पूर्ण आनन्द लिन सकेको र १३ प्रतिशत पर्यटकले पूर्ण आनन्दका लागि थप बसाई बस्नुपर्ने उत्तर दिएका छन्।
गण्डकी प्रदेशको औषत बसाइमा थप २३ दिन बसाई अवधी थप्न सके सम्पूर्ण आनन्द लिन सकिने उनीहरूले जवाफ दिएको प्रतिवेदनमा छ।
गण्डकी प्रदेश घुमफिर गर्दा विदेशी पर्यटकले विभिन्न समस्या भोग्नुपरेको पनि उल्लेख गरेका छन्। सर्वेक्षणमा सहभागी २८ प्रतिशत अर्थात १५० जनाले कुनै समस्या भोग्न नपरको बताएका छन् भने बाँकी पर्यटकले कुनै न कुनै समस्या भोग्नुपरेको बताएका छन्।
गण्डकीमा घुमफिर गर्दा २३ प्रतिशत पर्यटकले यातायातको समस्या भोग्नुपरेको, ३ प्रतिशत पर्यटकले सुरक्षाको समस्या, १२ प्रतिशतले भाषागत समस्या, ६ प्रतिशतले सूचनाको समस्या, १५ प्रतिशत पर्यटकले भुक्तानीको समस्या भोग्नुपरेको बताएका छन्।
यस्तै, सांस्कृतिक फरकपन ५ प्रतिशत र अन्य समस्या ४ प्रतिशतले भोग्नुपरेको उल्लेख गरेका छन्।
गण्डकीमा घुम्न आउने पर्यटकहरू स्वत:स्फूर्त रूपमा आउने पर्यटक ७६ प्रतिशत छन्। उनीहरू कुनै ट्राभल एजेन्सीमार्फत नभइकन आफैँ घुम्न आउने गरेका छन्। ट्राभल एजेन्सीमार्फत आउने पर्यटक २४ प्रतिशत छन्। ट्राभल एजेन्सीमार्फत आउने ५३ प्रतिशत पर्यटक नेपाली ट्राभल कम्पनीमार्फत आउँछन् भने बाँकी ४६ प्रतिशत पर्यटक अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीमार्फत आउने गरेको अध्ययनमा देखिएको छ।
ट्राभल कम्पनीमार्फत प्याकेजमा घुम्न आउने पर्यटकको औषत दैनिक खर्च ११ हजार ८६६ रुपैयाँ अर्थात ८९ अमेरिकी डलर छ भने स्वत:स्फूर्त रूपमा आउने पर्यटकको दैनिक खर्च ७ हजार २१७ रुपैयाँ अर्थात ६२ अमेरिकी डलर रहेको पाइएको छ।
गण्डकीमा घुम्न आउने पर्यटकमध्ये ९४ प्रतिशतले नगद प्रयोग गर्ने गरेका छन्। कार्डबाट ४ प्रतिशत, मोबाइल वालेटमार्फत ०.१० प्रतिशत खर्च गर्ने गरेका छन्। नगदमा भुक्तानी गर्नुका कारणमा सबै ठाउँमा कार्ड रिडिङ मेसिन नहुनु, भएका मेसिनले पनि सबै कार्ड स्वीकार नगर्नु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नु, अनलाइन भुक्तानीको सेटलमेन्टमा ढिलाई हुनु, कार्डबाट भुक्तानी गर्दा वस्तु तथा सेवाको मूल्य बढी तिनुपर्ने जस्ता समस्या पर्यटकले देखाएका छन्।
राष्ट्र बैंक पोखराका प्रमुख बिना ढकालले भुक्तानी प्रणाली सुधार गर्न सके पर्यटकको खर्च बढ्न सक्ने अध्ययनले देखिएको बताइन्।
‘हामीले क्यासलेस पेमेन्टलाई प्रवर्द्धन गरिराखेका छौं। पर्यटकीय क्षेत्रमा इ-पेमेन्टमा देखिएका समस्या समाधान गर्न सके पर्यटकको खर्च बढ्न सक्छ,’ उनले सेतोपाटीलाई भनिन्।
सर्वेक्षणमा सहभागी पर्यटकले सुधार गर्न विभिन्न सुझाव पनि दिएका छन्। उनीहरूले नेपालको प्रकृति, दयालु, सहयोगी र हसिला नेपाली, चम्किला हिमाल, वातावरणीय स्वच्छता, भौगोलिक एवं सांस्कृतिक विविधता, कृषि जीवन, गाउँले जीवन अत्यन्त मन परेको उल्लेख गरेका छन्।
पर्यटन प्रवर्द्धन गर्न उनीहरूले सडक एवं यातायात प्रणाली सुधार गर्न, स्थिर ट्याक्सी भाडा लागु गर्न, ट्याक्सी चालकबाट हुने दुर्व्यवहार रोक्न, फोहोर व्यवस्थापन गर्न, ट्राफिक व्यवस्थापन गर्न, पर्यटक सूचना प्रणाली विकास गर्न, नगदरहित भुक्तानी प्रणाली विकास गर्न सुझाव दिएका छन्।
यस्तै, कार्ड रिडिङ मेसिन सबै ठाउँमा उपलब्ध हुनुपर्ने, पदमार्गबाट सडक टाढा हुनुपर्ने, गुणस्तरीय होटल, सहज बाटो, सार्वजनिक शौचालय, ग्रामिण क्षेत्रमा इन्टरनेट, मौसम पूर्वानुमानको जानकारी दिनुपर्ने, सरकारी क्षेत्रको जिम्मेवारी बढाउनुपर्ने लगायतका सुझाव पर्यटकले दिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र बैंक पोखराले अध्ययन प्रतिवेदनमा गण्डकी प्रदेशका पर्यटकको संख्या, बसाई र खर्च बढाउन अन्तर्राष्ट्रिय स्तरका गतिविधि गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्ने, स्थानीय कला, संस्कृतिका साथै खाना लगायत उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएको छ।
पर्यटकीय पुर्वाधार सुरक्षित र सहज बनाउन, होटल, रेष्टुरेण्ट लगायतका सुविधा गुणस्तरीय बनाउन, अनलाइन भुक्तानी सर्वसुलभ र सहज बनाउन, पर्यटक सूचना प्रणाली विकास गर्न आवश्यक रहेको प्रतिवेदनमा भनिएको छ।
राष्ट्र बैंक पोखराका प्रमुख ढकालले गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना भएकाले उक्त अध्ययन गरिएको बताइन्। प्रदेशमा यस्तो अध्ययन यसअघि नभएको भन्दै उनले विदेशी पर्यटकको संख्या, बसाई र खर्च बढाउन सके रोजगारीको सिर्जना हुनुका अर्थतन्त्र चलायमान हुने र विदेशी मुद्रा आर्जन हुन सक्ने बताइन्।