दोलखाको हिमाली क्षेत्रमा छ ना गाउँ। यसलाई आरोहीको गाउँ भनेर चिनिन्छ। चार हजार दुई सय मिटर उचाइमा रहेको यो गाउँका धेरैजसोको दैनिकी हिमालसँगे जोडिएको छ।
अधिकांश स्थानीय बासिन्दा विदेशी पर्यटकका सहयोगी बनेर जीविकोपार्जन गर्छन्। कतिपय भने हिमालमा झन्डा फहराएर विश्वभर आफूलाई चिनाइरहेका छन्।
यस्तैमध्ये एक हुन् आरोही दावा याङजुम शेर्पा।
सन् २००९ बाट हिमाल चढ्न थालेकी उनी पहिलो अन्तर्राष्ट्रिय महिला माउन्टेन गाइड हुन्। इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आइएफएमजिए) को प्रमाणपत्र पाउने नेपाली मात्र होइन, एसियाकै पहिलो महिला पनि हुन्।
'एसियाकै पहिलो अन्तर्राष्ट्रिय महिला गाइड भनेर चिनिन पाउनु मेरा लागि ठूलो उपलब्धि हो,' ३४ वर्षीया दावाले भनिन्, 'यही उपलब्धिले मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।'
दावाले पहिलोपटक २१ वर्षको उमेरमा सगरमाथा टेकेकी थिइन्। गत वैशाखमा चौथोपटक पुगिन्। आठ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको सफल आरोहण गरिसकेकी छिन्। अब तिब्बतको सिसापांगा हिमाल चढ्न बाँकी छ।
'यो चढेपछि आठ हजार मिटर अग्ला संसारका १४ हिमाल आरोहण गर्ने नेपालकै पहिलो महिला हुन्छु म,' उनले भनिन्, 'अहिले सिसापांगा आरोहणका लागि अनुमति खुलेको छैन। पर्खिरहेकी छु।'
हिमालबाट सुरू भएको दावाको यो मेहनत र सफलताले उनलाई संसारका ठूला र चर्चित ब्रान्डहरूसँग जोडेको छ।
उनी बहुर्राष्ट्रिय कम्पनी 'द नर्थ फेस' र 'रोलेक्स' को ब्रान्ड एम्बास्डर हुन्। नर्थ फेसले उनलाई पहिलोपटक सन् २०१८ मा नेपालका लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको थियो। त्यस्तै महँगा घडी उत्पादक रोलेक्सले सन् २०२१ मा उनलाई एम्बास्डर बनाएको हो।
यी कम्पनीले प्रत्येक दुई वर्षमा एम्बास्डर नवीकरण गर्ने उनले जानकारी दिइन्।
'नेपालीका लागि यो अवसर निकै ठूलो कुरा हो। विश्व प्रसिद्ध ब्रान्डहरूसँग जोडिनु मेरा लागि कल्पनाबाहिरको कुरा थियो,' दावाले खुसी हुँदै भनिन्, 'तर हिमालप्रतिको मेरो लगाव र कडा मेहनतलाई विश्वले हेरेको रहेछ। यसमा मिडियाको पनि उत्तिकै योगदान छ जसले मेरो सफलतालाई प्राथमिकता दिएर विश्वभर चिनाइदिए।'
विकट गाउँमा जन्मेकी दावाको बाल्यकाल हिमालकै फेदमा बितेको थियो। आर्थिक अवस्था कमजोर भएकाले अध्ययन कक्षा चारमै रोकियो। यसपछि दैनिकी घाँसदाउरा र पानी बोक्ने भयो।
त्यो बेला बर्सेनि गाउँका धेरै युवा पुरूषहरू आरोही, गाइड (पथप्रदर्शक) र पोर्टर (भरिया) बनेर हिमालतिर जान्थे। फर्केपछि हिमाल चढेर आएको भन्दै भोज समेत खुवाउँथे।
यो सब देखेर दावालाई अचम्म लाग्थ्यो।
बिस्तारै उनमा हिमाल जाने रहर जाग्न थाल्यो, हिमाल चढ्ने सपना देख्न थालिन्।
'कति गाह्रो र अप्ठ्यारो हुन्छ भन्ने केही थाहा थिएन। तर किशोर उमेर हुँदै गर्दा सगरमाथा चढ्ने रहर बढ्दै गयो,' दावाले भनिन्।
त्यति बेला हिमाल यात्रा महिलाहरूका लागि चुनौती मानिन्थ्यो, अहिले पनि सहभागिता कम नै छ।
दावाले भने छरछिमेक र समाजका पुरूषभन्दा आफूलाई कमजोर ठानिनन्।
सुरूमा उनको सगरमाथा चढ्ने मात्र धोको थियो। साहस बोकेर काठमाडौं पसिन्। नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) बाट तालिम लिइन्। केही समय पर्यटकको टोली लिएर उनी ट्रेकिङ (पदयात्रा) पनि गइन्।
सन् २००९ देखि दावा हिमाल आरोहण गर्न थालिन्। सुरूमा पाँच हजार मिटर उचाइ आसपासका हिमाल चढिन्। धेरथोर अनुभव बटलिन्।
यसपछि माउन्टेन गाइडको तालिमका लागि सोलुखुम्बूको खुम्बूस्थित क्लाइम्बिङ स्कुल पुगिन्। त्यो स्कुल अमेरिकी पर्वतारोही कनर्याड एंकरले स्थापना गरेका हुन्।
'मैले त्यहीँबाट पर्वतारोहण तालिम लिएँ। तर सगरमाथा चढ्न लाखौं पैसा लाग्ने रहेछ। मलाई पहिले थाहा थिएन। मसँग त्यति धेरै पैसा हुने कुरा पनि भएन,' दावाले सुनाइन्, 'यो सपना पूरा नहुने भयो भन्ने लाग्यो।'
त आँट म पुर्याउँछु — यो उक्ति उनको जीवनमा मेल खायो।
उनको हुटहुटीलाई पर्वतारोही एंकरले नै पूरा गरिदिए।
एंकरसँग दावाको भेट क्लाइम्बिङ स्कुलमै भएको थियो। एंकरले उनलाई पर्वतारोहणमा सहयोगी बनेर काम गर्न प्रस्ताव गरे।
'तालिम लिने क्रममा उहाँले मलाई नियाल्नुभएको रहेछ। तिमी बलियो रहिछौ, काम गर्ने हो भनेर प्रस्ताव राख्नुभयो,' दावाले खुसी हुँदै सुनाइन्, 'हुन्छ भनिहालेँ।'
दावाका लागि यो एउटा अवसर बन्यो।
एंकर नर्थ फेस कम्पनीका 'एथलिट' पनि थिए। त्यस बेला नर्थ फेसको एउटा टोली सगरमाथा आरोहण गर्न आएको थियो। त्यसको नेतृत्व एंकरले नै गरेका थिए। यही आरोहणमा उनले दावालाई सहयोगी बन्न प्रस्ताव गरेका थिए।
सपना पूरा हुने सोचेरै उनी दंग परिन्।
आधार शिविरबाट पहिलो, दोस्रो र तेस्रो क्याम्पसम्म दावाले आरोहीहरूका भारी बोकिन्। चौथो क्याम्पबाट भने बोक्नुपरेन।
'म त्यही टोलीसँग गएर सगरमाथाको चुचुरोमा टेक्न सफल भएँ,' उनले भनिन्, 'सपना पूरा गरेरै छाडेँ।'
यो सन् २०१२ को कुरा हो।
सगरमाथा आरोहणपछि दावाको खुसीको सीमा रहेन। काम गरेवापत् ५ लाख रूपैयाँ पारिश्रमिक पनि पाइन्।
'त्यत्रो ठूलो रकम एकैचोटि पाउँदा मलाई एकछिन त पत्यारै लागेन,' दावाले भनिन्, 'यसैले पनि बाँकी जीवन हिमाल र हिमाली क्षेत्रमै काम गरेर बिताउने अठोट लिएँ र माउन्टेन गाइड बन्ने योजनामा लागेँ।'
यसपछि उनले पाँच वर्ष अन्तर्राष्ट्रिय माउन्टेन गाइडको तालिम लिइन्। बीचमा ट्रेकिङ र पर्वतारोहणमा जान्थिन्। अन्तर्राष्ट्रिय माउन्टेन गाइड तालिम पूरा गरेपछि आइएफएमजीएले प्रमाणपत्र दियो।
'यस्तो प्रमाणपत्र पाउने एसियाकै पहिलो महिला रहेछु। यो दिन सम्झिँदा अहिले पनि खुसी लाग्छ। त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन,' उनले भनिन्।
प्रमाणपत्र भइसकेपछि दावा नेपालसँगै विभिन्न मुलुकका हिमालमा पनि गाइडका रूपमा जान थालिन्। उनको यो यात्रा अहिले पनि जारी छ।
'हिमाल चढ्नु कसैको सपना हुन्छ, कसैको रहर। कतिपय आरोहण निकै कठिन हुन्छन्। भयो, अब चढ्दिनँ भन्ने पनि लाग्छ,' उनले भनिन्, 'तर आरोहण सफल भएपछि दुःखपीडा सबै बिर्सिइन्छ। फेरि हिमालतिरै लागिन्छ।'
दावालाई अहिलेसम्मको सबभन्दा कठिन यात्रा अन्नपूर्ण-१ को लाग्छ। यो हिमाल सन् २०२१ मा उनले अक्सिजनबिनै चढेकी थिइन्। हिउँपहिरो गइरहँदा सकिँदैन कि भन्ने डर थियो। तर सफल भइन्।
त्यस्तै पाकिस्तानको केटू हिमाल उनलाई अहिलेसम्मकै रमाइलो यात्रा लाग्छ। सगरमाथापछि नै उनले संसारको दोस्रो अग्लो हिमाल केटू आरोहण गरेकी थिइन्। केटूको सफल आरोहण गर्ने सबभन्दा कान्छी आरोहीको कीर्तिमान उनकै नाममा भयो।
यसरी सानै उमेरमा हिमालको क्षेत्रमा दावाले आफ्नो पहिचान बनाइन्।
'यत्तिको सफलता पाउँछु भनेर सोचेकै थिइनँ कहिल्यै। परिश्रम र लगावकै कारण पाएकी हुँ,' उनले भनिन्।
हरेक काममा महिलाहरू अघि बढ्नुपर्छ भन्ने सोच उनको छ। उनले आफ्ना गाउँका युवा महिलाहरूलाई पर्वतारोहण तालिममा सहभागी गराइरहेकी छिन्। यो काम निरन्तर गर्ने उनी बताउँछिन्।
'दुई-चारवटा हिमाल चढेर नाम कमाउँछु र रमाउँछु भनेर होइन, हिमाललाई नै पेसा बनाउँछु भनेर आयो भने असम्भव केही छैन,' दावा भन्छिन्, 'हिमालले सानो-ठूलो र पुरूष-महिला भन्दैन। यो सब आफैले गर्ने मेहनत हो।'
सबै तस्बिरहरूः दावा याङजुम शेर्पा