सिजन नभए पनि अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ। यस वर्षका लागि कैलाश पर्वत र मानसरोवर यात्रा सुरू भएसँगै नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको हो।
हिन्दु र बौद्ध धर्मावलम्बीका लागि उत्कृष्ट गन्तव्य मानिने कैलाश पर्वत र मानसरोवरमा नेपालीसँगै, ठूलो संख्यामा भारतीय र तेस्रो मुलुकका तीर्थयात्री नेपालको बाटो भएर दर्शन गर्न जाने गरेका छन्।
मे, जुन, जुलाई र अगस्ट महिना नेपालको पर्यटनको निम्ति अफसिजन भएपनि नेपालको बाटो हुँदै मानसरोवर जाने पर्यटक बढेपछि व्यवसायीहरू उत्साहित भएको अल्पाइन कैलाश टुर अपरेटर्सका सञ्चालक प्रदीप पण्डितले बताए।
'मानसरोवर सिजन सुरू भइसकेको छ। त्यहाँ जान काठमाडौंबाट विभिन्न प्रक्रिया पूरा गर्नु पर्छ,' उनले भने, 'धेरै ट्राभल कम्पनीहरूका अनुसार विदेशीसँगै नेपालीहरूले बुकिङ थालिसकेका छन्। उत्साहजनक आगमन देखिएको छ।'
मानसरोवर जान भारत, क्यानडा, अमेरिका, अस्ट्रेलिया, बेलायत, मलेसिया लगायत मुलुकबाट मानिसहरू आउँछन्। पर्यटकीय सिजनमा पदयात्रा र पवर्तारोहणमा जानेहरू हुन्छन्। यसबाहेकको समयमा कैलाश/मानसरोवर यात्रामै आउने भएकाले पर्यटन क्षेत्र चलायमान भइरहन्छ।
विगतमा वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल हुँदै मानसरोवर पुगेको तथ्यांक छ।
अहिले यहाँ पुग्नेमध्ये ८० प्रतिशत विदेशी र बाँकी आन्तरिक पर्यटक हुन्। कोरोनाअघि मानसरोवर यात्रामा जाने स्वदेशीको संख्या कम हुन्थ्यो। अहिले बढ्दै उत्साहजनक देखिएको पण्डितले बताए। लामो समयदेखि कैलाश मानसरोवर यात्रा सञ्चालन गरिरहेका पण्डितका अनुसार दुई हजार सात सयदेखि पाँच हजार ६३० मिटरको उचाइमा पुग्नुपर्ने हुँदा यहाँ जाँदा पूर्वतयारी भने गर्नुपर्छ।
कोभिड सुरू भएसँगै तीन वर्षसम्म मानसरोवर यात्रा बन्द थियो। चीनले सन् २०२३ बाट मात्र खुला गरेको हो।
तर चीनले भारतीय पर्यटकलाई नेपालको स्थलमार्ग हुँदै कैलाश/मानसरोवर जान प्रतिबन्ध लगाएको छ। यसअघि नेपाली बाटो हुँदै मानसरोवर जाने भारतीयको संख्या वार्षिक ३० हजारभन्दा बढी थियो।
अहिले भारतीयहरू चार्टर्ड उडान गरेर कैलाश/मानसरोवर दर्शन गरिरहेका छन्। यही सिजनमा मात्र झन्डै सात सय बढी भारतीयले चार्टर्ड उडानबाट दुर दर्शन गरेका छन्।
श्री एयरलाइन्सले यसै वर्षदेखि नेपालगञ्ज विमानस्थलबाट मानसरोवरका लागि माउन्टेन फ्लाइट सुरू गरेको हो। यसनिम्ति श्री एयरले ट्राभल कम्पनीहरूसँग सहकार्य गरेको छ। श्री एयरका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार कैलाश/मानसरोवर उडानका लागि अघिल्लो महिनाबाटै बुकिङ आइरहेको छ। चार्टर्ड उडान भएकाले यात्रु भएपछि उडान हुने उनले बताए।
यो उडान नेपालगञ्जबाट एक घन्टा पाँच मिनेटको हुन्छ। बिहान साढे ६ बजे सुरू हुने यो उडान एक रात दुई दिनको प्याकेजमै आउँछ। नेपालीहरूका लागि शुल्क करिब ३० हजार रूपैयाँ पर्छ।
'धेरै भारतीय र केही नेपालीले चार्टर्ड उडानमार्फत कैलाश/मानसरोवर दर्शन गरिसके,' पथिल होलिडेजका महाप्रबन्धक महेश गौतमले भने, 'बुकिङ अनुसार दैनिक र साप्तहिक उडान भइरहेको छ।'
कोरोनाअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रूटबाट मानसरोवर पुग्थे। चीनले रोकेपछि यो रूट सुनसान बनेको छ।
मानसरोवर रूटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको थियो। यस्तो समयमा कैलाश/मानसरोवरको माउन्टेन फ्लाइटले पर्यटकीय गतिविधि बढाएको गौतमले बताए।