काठमाडौंको पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घन्टा खुला हुने भएको छ। लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ बाट कार्यान्वयन गर्ने निर्णय भएको हो।
अहिले ठमेलका पसल रातको १० बजेसम्म मात्र चल्छन्। रात्रिकालीन व्यवसाय राति दुई-तीन बजेसम्म खुला रहन्छन्। नयाँ वर्ष २०८१ देखि भने सम्पूर्ण व्यापार व्यवसाय चौबीसै घन्टा पूर्ण रूपमा चल्ने ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए।
'लामो समयको अथक प्रयासपछि ठमेल अब चौबीसै घन्टा खुला रहने छ,' उनले भने, 'आधा रातमै निदाउने ठमेलको सडक र बजारमा रौनक छाउने र व्यापार व्यवसाय पनि बढ्नेछ।'
ठमेललाई काठमाडौंको एक मुख्य पर्यटकीय केन्द्रका रूपमा लिइन्छ। नेपाल आउने पर्यटक प्राय: ठमेल पुगेकै हुन्छन्। पदयात्रा तथा पर्वतारोहणका लागि आवश्यक सरसामग्रीदेखि ट्राभल एजेन्सी, साना-ठूला क्लब, होटल र स्पाका कारण पनि यो क्षेत्र पर्यटकहरूको केन्द्र बन्दै आएको छ।
पर्यटकको बाक्लो चहलपहल हुने ठमेललाई अब चौबीसै घन्टा चलाउन व्यवसायीहरू लागिपरेका छन्।
यो निर्णय कार्यान्वयनमा आएपछि ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढ्ने र व्यवसाय पनि चम्किने परिषदका अध्यक्ष शर्माको आशा छ।
'अहिले कुनै पर्यटक रातको १० बजेपछि ठमेल आए भने बजार बन्द भइसक्छ। हिँड्न, डुल्न, खाना र सपिङ गर्न सकिँदैन,' उनले भने, 'अब ठमेल मात्र होइन, दरबारमार्ग पनि रातभर खुला रहन्छ।'
यसरी चौबीसै घन्टा बजार चल्दा कोभिड महामारीले विस्थापित भएका र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रमा सुधार हुने अपेक्षा व्यवसायीहरूको छ।
अहिले ठमेलमा लगभग साढे ८ हजार विभिन्न किसिमका व्यवसाय सञ्चालित छन्, जसमा ६० हजारभन्दा बढीले रोजगारी पाएका छन्।
'चौबीस घन्टा चल्ने भएपछि व्यवसाय र रोजगारी संख्या वृद्धि हुन्छ' उनले भने,' 'यसले बजार चलायमान बनाउनुका साथै राजस्व संकलन पनि बढ्नेछ।'
रातभर व्यवसाय चलाउन केही कठिनाइ भने देखिन्छ। बजारको होहल्लाले बसोबासमा समस्या आउने भन्दै स्थानीयले विरोध गरिरहेका छन्। यही कारण भगवान बहाल क्षेत्रका व्यवसायीले चौबीसै घन्टा बजार खोल्न नसकिने अडान लिएका छन्। परिषदका अध्यक्ष शर्मा भने यसलाई निषेधित क्षेत्रअन्तर्गत राखेर अरू ठाउँ खुलाउने तयारी भइरहेको बताउँछन्।
'बजारको हल्लाले यहाँको वातावरण बिग्रने हो कि भन्ने चिन्ता केही स्थानीयमा देखिन्छ,' उनले भने, 'गृह मन्त्रालयको निर्देशनअनुसार भगवान बहालका स्थानीयले सुरक्षाको अनुभूति नगरूञ्जेल त्यहाँ राति व्यवसाय गर्न निषेध गरेका छौं। अरू क्षेत्र भने शनिबारबाट चौबीस घन्टा खुला हुनेछ।'
यो निर्णय कार्यान्वयनमा आएपछि यहाँका होटल व्यवसायीले कर्मचारी संख्या थप्नुपर्ने आवश्यकता महसुस गरेका छन्।
ठमेलस्थित एक गेस्ट हाउसका सञ्चालकले १५ जना कर्मचारी थप्नुपर्ने आवश्यकता देखिएको बताए।
'अहिले हामीकहाँ ३० जना कर्मचारी छन्। उनीहरूले बिहान, दिउँसो र साँझको सिफ्टमा छुट्टाछुट्टै काम गर्छन्,' उनले भने 'रातभरि चल्ने भएपछि अर्को सिफ्टका लागि १५ जना कर्मचारी थप्नुपर्छ।'
यो नयाँ व्यवस्थाको कार्यान्वयन स्थिति हेरेर थप कर्मचारी भर्ना लिने उनको तयारी छ।
दरबारमार्गमा पनि चौबीस घन्टा व्यवसाय चलाउन पाउने भएपछि व्यवसायीहरू खुसी छन्। पर्यटक आवतजावत भइरहने दरबारमार्गमा प्राय: राति ९/१० बजे नै पसल तथा होटल बन्द हुन्थे। अब दरबारमार्गको शालिकदेखि नारायणहिटी संग्रहालयसम्म दुवैतर्फका पसल चौबीसै घन्टा चल्ने छन्।
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीका अनुसार दरबारमार्गमा दुई सय व्यवसायी छन्। सात हजारभन्दा बढीले रोजगारी पाएका छन्।
'व्यवसायीहरूले लामो समयदेखि चौबीस घन्टा बजार खुलाउन माग गरिरहेका थिए,' उनले भने, 'ढिलै भए पनि कार्यान्वयनको चरणमा आइपुगेका छौं। अब ठमेल र दरबारमार्ग रातभरि झिलिमिली हुनेछ।'
बोर्डले दरबारमार्ग आउनेहरूका लागि सडकको एकातर्फ पार्किङ बनाउने तयारी गरेको छ। यसले सवारी साधन लिएर जानेहरूलाई सहज हुनेछ।
ठमेल र दरबारमार्गका क्लब लगायत रात्रिकालीन व्यवसाय पनि चौबीस घन्टा चल्नेछन्। यसले रात्रिकालीन व्यवसायमा महामारीपछि सुरू भएको मन्दी अन्त्य हुने र रोजगारी अवसर तीन गुणा बढ्ने व्यवसायीहरूको विश्वास छ।
रात्रिकालीन व्यवसायमा होटल, रेस्टुरेन्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझ लगायत पर्छन्। यसअघि दोहोरी साँझ रातको १२ बजेसम्म र क्लबहरू दुई-तीन बजेसम्म सञ्चालन हुँदै आएका थिए।
ठमेलस्थित नाइट क्लब एलओडी (लड अफ द ड्रिंक्स) का निर्देशक भुपेन कुँवर चौबीसै घन्टा सञ्चालन भएपछि पूरै क्षेत्र चलायमान हुने बताउँछन्।
'विदेशी पर्यटकहरूको चहलपहलले ठमेल चम्किन्छ,' उनले भने, 'अब कर्मचारीहरूको पनि माग बढ्छ।'
यसअघि व्यवसायीहरूले २०६८ देखि रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका थिए। रात्रिकालीन व्यवसायी ठमेल पर्यटन विकास उपसमितिका अध्यक्ष रूपेश गुरूङका अनुसार उनीहरूले यसबारे थुप्रैपटक आवाज उठाएका थिए।
'हामीले रातभर सञ्चालन गर्न पाउनुपर्छ भनेर थुप्रैपटक भन्यौं। सम्बन्धित निकायलाई दबाब दियौं,' उनले भने, 'पाहुनाहरू रातभर रमाउन चाहन्छन् तर व्यवसायीले आधा रातमा बन्द गर्नुपर्ने बाध्यता थियो। ढिलै भए पनि हाम्रो माग सुनुवाइ भएकोमा खुसी छौं।'