एक वर्षदेखि उडान बन्द रहेको गुण एयरलाइन्सले अब नियमित उडाउने तयारी थालेको छ। आर्थिक संकटका कारण गुणले गत वर्षको फागुनदेखि उडान बन्द गरेको थियो।
अब नियमित उडानका लागि बक्यौता किस्तामा बुझाउने गरी तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गुणको करिब पाँच करोड रूपैयाँ बक्यौता छ।
'गुणले मासिक २५ लाख रूपैयाँका दरले तिर्ने र उडानमा फर्कने गरी पत्र पठाएको छ,' प्राधिकरणका एक अधिकारीले भने, 'यसबारे प्राधिकरणको बोर्डले छलफल गरेर निर्णय गर्नेछ।'
गुणले सबै उडान गत वर्षको फागुन १ गतेदेखि बन्द गरेको थियो। आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान गर्ने गुणका जहाज अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका (ग्राउन्डेड) छन्।
आर्थिक संकटमा गुज्रिएको गुणले पाइलट तथा अन्य कर्मचारीलाई समयमै तलब उपलब्ध नगराएको भन्दै तत्कालीन समयमा उड्डयन नियामक निकाय उड्डयन प्राधिकरणले गुणलाई सबै उडान रोक्न निर्देशन दिएको थियो।
गुणले उडानमा रहेका जेट स्ट्रिम जहाज बिक्री गर्ने र एटिआर, बम्बार्डियर वा एम्ब्रेअर वा अन्य जहाज निर्माता कम्पनीका मध्यम आकारका, ५० देखि ७० सिट क्षमताका जहाज किन्ने योजना रहेको बनाएको थियो। जहाज हेर्न केही कम्पनीका प्रतिनिधिहरू काठमाडौं पनि आएका थिए। तर जहाज बिक्री भएनन्।
'पाँच वटै जेटस्ट्रिम जहाज बिक्री गर्ने र अझ बढी सिट भएका जहाज ल्याएर थप गुणस्तरीय सेवा दिने कम्पनीको उद्देश्य थियो। तर जहाज बिक्री भएनन्, 'एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले भने, 'अब प्राधिकरणको रिक्वायरमेन्ट पूरा गरेर फेरि उडानमा फर्कने तयारी गरिरहेका छौं।'
गुणसँग पाँचवटा जेटस्ट्रिम ४१ सिरिजका र दुई वटा बिचक्राफ्ट गरी सात वटा जहाज छन्।
जेटस्ट्रिमका पाँच जहाजले यसअघि दैनिक २२ वटा उडान गर्थे। पोखरा, भरतपुर, नेपालगन्ज, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, तुम्लिङटार र म्याउन्टेन फ्लाइट हुन्थ्यो। यसमा पनि सबभन्दा बढी उडान काठमाडौं-पोखरामा हुने गरेको थियो। यी गन्तव्यमा गुणका जेटस्ट्रिमसँगै बिचक्राफ्टले पनि नियमित उडान गर्थे।
तर अब नियमित उडानमा आए पनि तत्काल दुई वटा जेटस्ट्रिम जहाजबाट उडान थाल्ने सिइओ श्रेष्ठले बताए।
'लामो समयसम्म ग्राउन्डेड राखिएकाले यी जहाजहरू रेगुलर मेन्टेनेन्स गरेर उडानका लागि योग्य भएपछि उडाउने हो। त्यसैले पहिले दुइटा उडाउने अरू जहाज मेन्टेनेन्स गर्दै विस्तारै उडाउने तयारी छ,' उनले थप भने।
गुणले यी जेटस्ट्रिम जहाज २०७८ सालमा यती एयरलाइन्ससँग किनेको थियो।
सोही वर्ष असोजबाट पाँचवटै जहाजमार्फत् गुणले विभिन्न गन्तव्यमा उडान सुरू गरेको हो। केही समय उडाएपछि यी जहाज बिक्री गर्ने र ठूला जहाज भित्र्याउने योजना कम्पनीको थियो।
सन् २०२३ भित्रै दुई वटा नयाँ जहाज ल्याउने योजना बनाए पनि उडान नै रोक्नुपर्ने अवस्थामा पुग्यो। अब फेरि बक्यौता बुझाउँदै नियमित उडानमा फर्कने तयारी गरिरहेको छ।