हामीकहाँ मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर, डिसेम्बरलाई ट्रेकिङको मुख्य सिजन मानिन्छ। अहिले पहाडी पदमार्गहरूमा गुराँस फुल्न थालेका छन्। ढकमक्क गुराँस, पहाड, खोला, झरना र हिमालका दृश्य हेर्दै ट्रेकिङ जान अहिले उपयुक्त मौसम हो।
ट्रेकिङ गइरहेका अनुभवीलाई कहाँ, कसरी जाने भन्नेबारे धेरथोर जानकारी हुन्छ। पहिलो पटक पदयात्रा गर्न खोज्नेलाई भने कुन ठाउँ जाने अलमल हुन सक्छ।
हामीले यहाँ पर्यटन व्यवसायी र गाइडहरूको सहयोगमा ८ ठाउँबारे छोटो जानकारी दिएका छौं। पहिलो पटक पदयात्रामा जाने र गइरहनेलाई पनि यी ठाउँ उपयुक्त हुन सक्छन्।
१. घोरेपानी, पुनहिल
ट्रेकिङका लागि सजिलो र छोटो अवधिमा पुग्न सकिने गन्तव्य हो घोरेपानी, पुनहिल। नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट गन्तव्यमध्ये पर्छ। समयअनुसार ट्रेक लम्ब्याउन वा छोट्याउन सकिन्छ। काठमाडौंबाट घोरेपानी जानेहरूले बढीमा ५ दिन छुट्ट्याए पुग्छ।
पहिलो दिन काठमाडौंदेखि पोखरा जान सकिन्छ।
दोस्रो दिन पोखराबाट नयाँपुल गएपछि पदयात्रा सुरू हुन्छ। उल्लेरी, घोरेपानी र घान्द्रुकका सुन्दर गाउँ हेर्दै पदयात्रा गर्न सकिन्छ। तिखेढुंगा पुगेर बसेपछि तेस्रो दिन घोरेपानी पुग्न सकिन्छ।
पुनहिलबाट सूर्योदयको दृश्यको मजा लिन सकिन्छ। धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, लमजुङ, बाराशिखर, निलगिरि, टुकुचे चुचुरो, हिउँचुली र मनास्लु हिमाल पनि देख्न सकिन्छ।
यसपछि सोही दिन टाढापानी आउन सकिन्छ। टाढापानीबाट घान्द्रुक हुँदै पोखरा र काठमाडौं फर्किन सकिन्छ।
२. पिके पिक ट्रेक
पिके पिक ट्रेक पछिल्लो समय चर्चामा आएको पदयात्रा रूट हो भन्दा फरक पर्दैन। यो पदमार्गबाट सगरमाथा क्षेत्रका सबै हिमाल हेर्न सकिन्छ। त्यसैले यसलाई तल्लो सगरमाथा पदयात्रा पनि भनिन्छ। यो ठाउँ विशेषगरी नयाँ पदयात्री तथा परिवारसहित जानेका लागि उपयुक्त मानिन्छ।
यो पदमार्ग कम्तीमा ५ दिनमा भ्याउन सकिन्छ।
यो पदयात्रामा मकालु, कञ्चनजंघा, आमा दब्लम, ल्होत्से, नुप्तसे, नुम्बुर, गौरीशंकर, लाङटाङ, धौलागिरि जस्ता अग्ला हिमाल देख्न सकिन्छ। बस्ती, प्राचीन गुम्बाहरू, स्थानीय कला र संस्कृति यो यात्राका विशेषता हुन्।
पहिलो दिन काठमाडौंबाट पातले डाँडा पुगिन्छ।
दोस्रो दिन जाप्रेसम्म र तेस्रो दिन त्यहाँबाट पिके आधार शिविरसम्म पुगिन्छ।
चौथो दिन शिविरबाट फाप्लुसम्म पुगेर पाँचौं दिन काठमाडौं फर्किन सकिन्छ।
३. लाङटाङ/गोसाइँकुण्ड
ट्रेकिङको सुरूआत गर्नेका लागि लाङटाङ पनि उपयुक्त गन्तव्य हो। गोसाइँकुण्ड र लाङटाङ एकैपटक गर्न सम्भव छ।
लाङटाङ जान ६ दिन लाग्छ भने गोसाइँकुण्ड मात्र जाँदा छुट्टै पाँच दिन लाग्छ। तर लाङटाङ जाँदा दुई दिन थप्नुभयो भने दुवै गन्तव्य पुग्न सकिन्छ। यसका लागि सुरूमा लाङटाङ अनि गोसाइँकुण्ड पुग्न सकिन्छ।
पहिलो दिन काठमाडौंबाट धुन्चे हुँदै स्याब्रुँबेसी पुग्न सकिन्छ। यहाँ पदयात्रामार्फत पहिरो/बेम्बो पुग्न सकिन्छ।
दोस्रो दिन रिभर साइड हुँदै घोडे तबेला र लाङटाङ भिलेज पुग्न सकिन्छ।
तेस्रो दिन लाङटाङ भिलेजदेखि क्यान्जिन गुम्बा, क्यान्जिन री पिक हुँदै चर्गो री पिक पुग्न सकिन्छ। त्यहाँको दृश्यको मजा लिएपछि त्यही दिन पहिरोसम्म फर्किन सकिन्छ।
चौथो दिन स्याब्रुँबेसी झर्ने बाटोबाट ठूलो स्याब्रुँ हुँदै गोसाइँकुण्ड यात्रा सुरू हुन्छ।
पाँचौं दिन चोलानपाटीसम्म र छैटौं दिन लौरीबिना हुँदै गोसाइँकुण्ड पुगिन्छ।
सातौं दिन गोसाइँकुण्डबाट धुन्चे हुँदै फर्किन सकिन्छ।
४. पाँच पोखरी
सिन्धुपाल्चोकमा रहेको पाँच पोखरीमा पछिल्लो समय पदयात्राका लागि जानेहरू बढेका छन्। काठमाडौं पाँच पोखरी जान ५ दिन छुट्ट्याए पुग्छ।
नेवार, ब्राह्मण, क्षेत्री र गुरूङ बस्तीहरू पार गर्दै यहाँ पुग्न सकिन्छ। गाउँका बस्ती, जंगल, पहाड, हिमनदी, हिमाल, खोला लगायत देख्न सकिन्छ। यसबीच त्यहाँको स्थानीय कला संस्कृतिमा भुल्दै अर्गानिक खानेकुराको स्वाद लिन पाइन्छ।
पाँच पोखरी ट्रेकिङमा गौरीशंकर, दोर्जे लाक्पा, जुगल र रोल्वालिङ हिमालय शृंखला देख्न सकिन्छ।
पाँच पोखरी दुइटा बाटो भएर पुग्न सकिन्छ। एउटा पदयात्रा सानो ओखरेनीबाट चौतारा हुँदै र अर्को भोताङबाट मेलम्ची हुँदै। भोताङ सबैभन्दा सजिलो र रूचाइएको मार्ग हो।
पहिलो दिन काठमाडौंबाट भोताङ, मेलम्ची हुँदै देउरालीसम्म जान सकिन्छ। संस्कृति कला र मौलिकता झल्किने बस्ती, प्राकृतिक, सुन्दर र मनमोहक दृश्य, वनस्पति र जीवजन्तुहरू देख्न सकिन्छ।
दोस्रो दिन देउरालीबाट अगाडि नोसेम्पटी हुँदै लाहुरे भञ्ज्याङ जान सकिन्छ। तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ। यही दिन पाँचपोखरी हेरेर टाङ्गुमा बस्न सकिन्छ।
चौथो दिन टाङ्गुबाट भोताङ र पाँचौं दिन भोताङबाट मेलम्ची हुँदै काठमाडौं आउन सकिन्छ।
५. मर्दी हिमाल
मर्दी हिमाल अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने पदयात्रा हो। वर्षको दुई सिजन गरेर पाँच महिना यहाँ जान सबभन्दा उपयुक्त महिना हुन्; मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर।
काठमाडौंबाट मर्दीसम्म जानेहरूले ५ दिन छुट्टयाए पुग्छ।
पहिलो दिन काठमाडौंबाट धम्पुस (अस्ट्रेलियन क्याम्प) पुग्न सकिन्छ।
दोस्रो दिन धम्पुसबाट मर्दी हिमाल बेस क्याम्प (लो-क्याम्प) पुग्न सकिन्छ। आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियाल्न सकिन्छ। त्यस्तै लमजुङ बजार, घान्द्रुक, लान्द्रुक लगायत ठाउँका मनोरम दृश्य देखिन्छ।
आधार शिविरबाट यी दृश्य हेर्दै तेस्रो दिन हाइ-क्याम्पसम्म पुग्न सकिन्छ। तेस्रो रात हाइ-क्याम्पमै बसेर रमाइलो गर्न सकिन्छ।
चौथो दिन हाइ-क्याम्पबाट पोखरा आउन सकिन्छ। समय मिले सोही दिन नभए एक रात पोखरा बसेर भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ।
६. खुमै डाँडा
खुमै डाँडा पछिल्लो समय धेरैले रूचाएको गन्तव्य हो। नयाँ ट्रेकिङ ट्रेलका रूपमा चिनिएको खुमै डाँडा अहिलेको सिजनका लागि उपयुक्त मानिन्छ।
कास्कीमा रहेको खुमै डाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण र मर्दी हिमाल देखिन्छ। कोरचनबाट सूर्योदय र सूर्यास्त हेर्न पनि यो ठाउँ उपयुक्त मानिन्छ।
सामान्यतया यो गन्तव्यका लागि चारदेखि पाँच दिन छुट्ट्याए पुग्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा जान सकिन्छ।
दोस्रो दिन घाचोकदेखि सारिपाखासम्म सवारीमा र टुबु क्याम्पिङदेखि पदयात्रामार्फत हिले खर्का हुँदै गोथ चिमलेसम्म पुग्न सकिन्छ।
तेस्रो दिन खुमै डाँडा भ्यु-प्वाइन्ट पुगिन्छ। त्यहाँको दृश्य हेरेर सोही दिन घाचोकसम्म फर्किन मिल्छ।
चौथो दिन घाचोकदेखि पोखरासम्म र पाँचौं दिन पोखराबाट काठमाडौं फर्किन सकिन्छ।
७. खोप्रा ट्रेक
कास्की र म्याग्दी जिल्लाको सिमानामा रहेको खोप्रा डाँडा ट्रेकिङका लागि उपयुक्त गन्तव्य हो। विशेषगरी धौलागिरि, अन्नपूर्ण, निलगिरि, टुकुचे लगायत हिमशृंखला हेर्न पाइने हुँदा खोप्रामा आजभोलि आन्तरिक पर्यटकको घुँइचो लाग्छ।
काठमाडौंदेखि जाने हो भने ६ दिनमा यो ट्रेकिङ सकिन्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा नयाँ पुल हुँदै स्याउली बजार र किम्चेसम्म गाडीमा जान सकिन्छ। सोही दिन पदमार्गमार्फत घान्द्रुक पुगिन्छ।
दोस्रो दिन घान्द्रुकदेखि बयेली खर्क र तेस्रो दिन बयेली खर्कदेखि खोप्रा डाँडा पुगिन्छ।
भोलिपल्ट खोप्रा डाँडादेखि स्वान्ता, पाचौं दिन स्वान्तादेखि घोरेपानीसम्म र छैटौं दिन घोरेपानीबाट पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ।
८. आमा याङ्ग्री
सिन्धुपाल्चोकमा रहेको आमा याङ्ग्री नयाँ पदमार्ग हो। यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु र सगरमाथाको मनमोहक दृश्य हेर्न सकिन्छ। यो छोटो ट्रेकिङ मार्ग हो।
पहिलो दिन टिम्बु पुगेर सोही दिन टार्के ग्याङ पुग्न सकिन्छ।
दोस्रो दिन आमा याङ्ग्री पुगेर टार्के ग्याङ झर्न सकिन्छ।
तेस्रो दिन टार्गे ग्याङबाट टिम्बुसम्म र सोही दिन काठमाडौं फर्किन सकिन्छ।
यसरी तीन दिनमा पनि आमा याङ्ग्री घुम्न सकिन्छ। समय लम्ब्याएर घुम्न सकिन्छ।
पर्यटन व्यवसायीहरूका अनुसार यहाँ उल्लिखित समय औसत हो। हिँड्ने क्षमता र कति दिन लगाएर घुम्ने भन्ने आधारमा यो समय फर्क पर्छ।
ट्रेकिङ जाँदा ह्याट वा क्याप, चस्मा, ट्रेकिङ सुज, लठ्ठी, पन्जा आवश्यक सामान हुन्। पहिरनको कुरा गर्दा जिन्स वा अरू भारी कपडाभन्दा सजिलो र खुकुलो टिसर्ट र ट्राउजर लगाउन उपयुक्त हुन्छ। त्यस्तै बाक्लो ज्याकेट, टोपी र मोजा पनि बोकेर हिँड्नुपर्छ।
यीबाहेक झोला, पानीको बोतल, सनब्लक क्रिम, हेडलाइट, इयरफोन, सानो चक्कु पनि तपाईंको आवश्यक सामानको सूचीमा हुनुपर्छ। त्यस्तै लेक नलाग्ने औषधि, जीवनजल, ब्यान्डेज लगायत प्राथमिक उपचारका सामग्री बोक्न पर्यटन व्यवसायीहरू सुझाउँछन्।