सरकारले विदेशी पर्यटकका लागि सोलो (एकल) ट्रेक बन्द गरेको छ। पदयात्रामा जान चाहने विदेशीले अनिवार्य नेपाली गाइड लिएर जानुपर्छ। स्वदेशीहरू भने एक्लै पदयात्रामा जान सक्छन्।
ट्रेकिङका लागि वर्षमा दुई सिजन उपयुक्त मानिन्छ।
पहिलो — मार्च, अप्रिल, मे।
दोस्रो — सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर।
दुवै सिजनमा एक्लै वा समूहमा पदयात्रामा जानेहरूको लर्को हुन्छ।
एक्लै ट्रेकिङ जाँदा धेरै कुरामा ध्यान दिनुपर्छ। सकेसम्म सजिलो गन्तव्य रोज्नुपर्छ। ट्रेकिङ गइरहने अनुभवीले भने आफूलाई अनुकूल हुने गन्तव्य रोज्न सक्छन्।
हामीले पर्यटन व्यवसायीहरूले दिएको जानकारीका आधारमा एक्लै पदयात्रामा जान सजिला मानिने केही गन्तव्यबारे यहाँ उल्लेख गरेका छौं।
१. खोप्रा डाँडा
कास्की र म्याग्दी जिल्लाको सिमानामा रहेको खोप्रा डाँडा ट्रेकिङका लागि उपयुक्त गन्तव्य हो। विशेषगरी धौलागिरि, अन्नपूर्ण, निलगिरि, टुकुचे लगायत हिमशृंखला हेर्न पाइने हुँदा खोप्रामा आजभोलि आन्तरिक पर्यटकको घुँइचो लाग्छ।
काठमाडौंदेखि जाने हो भने ६ दिनमा यो ट्रेकिङ सकिन्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा नयाँ पुल हुँदै स्याउली बजार र किम्चेसम्म गाडीमा जान सकिन्छ। सोही दिन पदमार्गमार्फत घान्द्रुक पुगिन्छ।
दोस्रो दिन घान्द्रुकदेखि बयेली खर्क र तेस्रो दिन बयेली खर्कदेखि खोप्रा डाँडा पुगिन्छ। भोलिपल्ट खोप्रा डाँडादेखि स्वान्ता, पाचौं दिन स्वान्तादेखि घोरेपानीसम्म र छैटौं दिन घोरेपानीबाट पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ।
२. कपुचे ताल
यो हिमताल दुई हजार ४५० मिटरको उचाइमा छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको फेदीमा रहेको कपुचे हिमताल अहिले धेरैको रोजाइको गन्तव्य हो। यहाँ अप्रिलदेखि अक्टोबर र डिसेम्बरदेखि फेब्रुअरीसम्म पदयात्रामा जान उपयुक्त मानिन्छ। विशेषगरी सिक्लेस र हिमालहरूको दृश्य पदयात्रामा देखिन्छ।
हिँड्ने बानी नपरेकाहरूलाई जंगल र भिरको बाटोमा केही मुस्किल हुन सक्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा र सोही दिन गाडीमार्फत सिक्लेस पुग्न सकिन्छ।
दोस्रो दिन सिक्लेसबाट हुगु गोठ हुँदै कपुचे ताल पुगिन्छ। रात बस्न कपुचेमा होटलहरू छन्। भोलिपल्ट बिहानै कपुचे हिमताल हेर्न र हिमतालमा डुंगा सयर गर्न सकिन्छ। त्यसपछि सोही दिन हुगु गोठ हुँदै सिक्लेस फर्किन सकिन्छ। सिक्लेसमा बसेर गुरूङ समुदायको परिवेश बुझ्दै त्यो दिन त्यहीँ बिताउन पनि सकिन्छ। नभए सोही दिन पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ।
३. कोरी ट्रेक
पछिल्लो समय रोजाइमा परेको पदमार्ग हो कोरी। अन्नपूर्ण क्षेत्रमा रहेको कोरी सोलो ट्रेकिङका लागि पनि उपयुक्त मानिन्छ।
कोरीबाट लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी, धवलागिरि लगायत हिमाल देख्न सकिन्छ। पदयात्रा क्रममा कपुचे ताल पनि देख्न पाइन्छ।
कोरी ट्रेकका लागि चारदेखि पाँच दिन छुट्ट्याउँदा हुन्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा र पोखराबाट सिक्लेस जान सकिन्छ। दोस्रो दिन हिँड्दै सिक्लेसबाट तासासम्म र तेस्रो दिन तासाबाट कोरी पुग्न सकिन्छ।
कोरी घुमघामपछि तेस्रो दिन तासा हुँदै सिक्लेस र पोखरा र पाँचौं दिन काठमाडौं फर्किन सकिन्छ।
४. लाङटाङ
लाङटाङ एक्लै पदयात्रा गर्नेहरूको रोजाइको गन्तव्यमध्ये पर्छ। दुवै सिजनमा लाङटाङका पदमार्गहरूमा विदेशीसँगै स्वदेशी पर्यटकको लर्को देखिन्छ। लाङटाङ पदमार्गको आकर्षण गुराँस हो। सिजनमा वनैभरि गुराँस फुल्छ।
यात्रा क्रममा लाङटाङ लिरूङ, गणेश हिमाल, नयाँ काङ्ग्री, याला चुचुरो, दोर्जे लाप्का, गाङ चेन्पो, अन्नपूर्ण, मनास्लु लगायत हिमशृंखला पनि देखिन्छ।
यो यात्राका लागि पाँच दिन दिए पुग्छ।
पहिलो दिन काठमाडौंदेखि स्याब्रुबेँसीसम्म जान सकिन्छ। रिम्चेसम्मको पदयात्रा यहीँबाट सुरू हुन्छ।
दोस्रो दिन रिम्चेबाट लाङटाङ भिलेज पुगिन्छ।
तेस्रो दिन लाङटाङ भिलेजदेखि क्यान्जिन गुम्बा जान सकिन्छ। चौथो दिन क्यान्जिन री पिक पुगेर फेरि क्यान्जिन गुम्बा हुँदै रिम्चेसम्म आउन सकिन्छ। पाँचौं दिन स्याब्रुबेँसी हुँदै काठमाडौं आउन सकिन्छ।
५. मर्दी हिमाल
छोटो समयमै हिमालको फेदमा पुगिने मर्दी एकल पदयात्राका लागि पहिलो रोजाइमै पर्छ। अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने यो पदयात्रामा जान वर्षको दुई सिजन गरेर पाँच महिना सबभन्दा उपयुक्त मानिन्छ।
काठमाडौंबाट मर्दीसम्म जानेले पाँच दिन छुट्ट्याए पुग्छ। पहिलो दिन काठमाडौंबाट धम्पुस (अस्ट्रेलियन क्याम्प) पुग्न र दोस्रो दिन धम्पुसबाट मर्दी हिमाल बेस क्याम्प (लो-क्याम्प) पुग्न सकिन्छ।
आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल देखिन्छ। त्यस्तै लमजुङ बजार, घान्द्रुक, लान्द्रुक लगायत ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। आधार शिविरबाट यी दृश्य हेर्दै तेस्रो दिन हाइ-क्याम्पसम्म पुगिन्छ। रात त्यहीँ बसेर रमाइलो गर्न सकिन्छ।
चौथो दिन हाइ-क्याम्पबाट पोखरासम्म आउन सकिन्छ। समय पुगे सोही दिन, नभए एक रात पोखरा बसेर भोलिपल्ट काठमाडौं आउन सकिन्छ।
६. खुमै डाँडा
खुमै डाँडा पछिल्लो समय धेरैले रूचाएको गन्तव्य हो। नयाँ ट्रेकिङ ट्रेलका रूपमा चिनिएको खुमै डाँडा अहिलेको सिजनका लागि उपयुक्त मानिन्छ।
कास्कीमा रहेको खुमै डाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण र मर्दी हिमाल देखिन्छ। कोरचनबाट सूर्योदय र सूर्यास्त हेर्न पनि यो ठाउँ उपयुक्त मानिन्छ।
सामान्यतया यो गन्तव्यका लागि चारदेखि पाँच दिन छुट्ट्याए पुग्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा जान सकिन्छ।
दोस्रो दिन घाचोकदेखि सारिपाखासम्म सवारीमा र टुबु क्याम्पिङदेखि पदयात्रामार्फत हिले खर्का हुँदै गोथ चिमलेसम्म पुग्न सकिन्छ।
तेस्रो दिन खुमै डाँडा भ्यु-प्वाइन्ट पुगिन्छ। त्यहाँको दृश्य अवलोकनपछि सोही दिन घाचोकसम्म फर्किन मिल्छ।
चौथो दिन घाचोकदेखि पोखरासम्म र पाँचौं दिन पोखराबाट काठमाडौं फर्किन सकिन्छ।
७. घोरेपानी, पुनहिल
नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट गन्तव्यमध्ये मानिन्छ। यो गन्तव्यमा पनि सिजनमा गुराँस फुलेको देख्न सकिन्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा जान सकिन्छ। दोस्रो दिन पोखराबाट डेढ घन्टा यात्रापछि नयाँपुलबाट पुनहिल पदयात्रा सुरू हुन्छ। उल्लेरी, घोरेपानी र घान्द्रुक हेर्दै पदयात्रा गर्न सकिन्छ।
तिखेढुंगामा पुगेर बसेपछि तेस्रो दिन घोरेपानी जान सकिन्छ।
पुन हिलबाट बिहानीको सूर्योदय अवलोकन गर्न सकिन्छ। यो पदयात्रामा धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, लमजुङ, बाराशिखर, निलगिरि, टुकुचे चुचुरो, हिउँचुली र मनास्लु हिमाल अवलोकन गर्न सकिन्छ।
सोही दिन फर्किएर टाडापानी आउन र पाँचौं दिन काठमाडौं फर्किन सकिन्छ।
८. पाँच पोखरी
सिन्धुपाल्चोकमा रहेको पाँच पोखरीमा पछिल्लो समय पदयात्राका लागि जानेहरू बढेका छन्। काठमाडौं पाँच पोखरी जान ५ दिन छुट्ट्याए पुग्छ। पाँच पोखरी ट्रेकिङका लागि अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर विशेष हुन्।
नेवार, ब्राह्मण, क्षेत्री र गुरूङ बस्तीहरू पार गर्दै यो गन्तव्य पुगिन्छ। गाउँका बस्ती, जंगल, पहाड, हिमनदी, हिमाल, खोला लगायतका कुरा अवलोकन गर्न सकिन्छ। यस बीचमा त्यहाँका स्थानीय कला संस्कृतिमा भुल्दै अर्गानिक खानेकुराको स्वाद लिन पाइन्छ।
पाँच पोखरी ट्रेकिङमा गौरीशंकर, दोर्जे लाक्पा, जुगल र रोल्वालिङ हिमालय शृंखला देख्न सकिन्छ।
पाँचपोखरी दुइटा बाटो भएर पुग्न सकिन्छ। एउटा पदयात्रा सानो ओखरेनीबाट चौतारा हुँदै र अर्को भोताङबाट मेलम्ची हुँदै। भोताङ सबैभन्दा सजिलो र रूचाइएको मार्ग हो।
पहिलो दिन काठमाडौंबाट भोताङ, मेलम्ची हुँदै देउरालीसम्म जान सकिन्छ। संस्कृति कला र मौलिकता झल्किने बस्ती, प्राकृतिक, सुन्दर र मनमोहक दृश्य, वनस्पति र जीवजन्तुहरू देख्न सकिन्छ।
दोस्रो दिन देउरालीबाट अगाडि नोसेम्पटी हुँदै लाहुरे भञ्ज्याङ जान सकिन्छ। तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ। यही दिन पाँचपोखरी अवलोकन गरेर टाङ्गुमा बास बस्न सकिन्छ।
चौथो दिन टाङ्गुबाट भोताङ र पाँचौं दिन भोताङबाट मेलम्ची हुँदै काठमाडौं आउन सकिन्छ।
ट्रेकिङका चाहिने सामग्री
ट्रेकिङ जाँदा ह्याट वा क्याप, चस्मा, ट्रेकिङ सुज, लठ्ठी, पन्जा आवश्यक सामान हुन्। पहिरनको कुरा गर्दा जिन्स वा अरू भारी कपडाभन्दा सजिलो र खुकुलो टिसर्ट र ट्राउजर लगाउन उपयुक्त हुन्छ। त्यस्तै बाक्लो ज्याकेट, टोपी र मोजा पनि बोकेर हिँड्नुपर्छ।
यीबाहेक झोला, पानीको बोतल, सनब्लक क्रिम, हेडलाइट, इयरफोन, सानो चक्कु पनि तपाईंको आवश्यक सामानको सूचीमा हुनुपर्छ। त्यस्तै लेक नलाग्ने औषधि, जीवनजल, ब्यान्डेज लगायत प्राथमिक उपचारका सामग्री बोक्न पर्यटन व्यवसायीहरू सुझाउँछन्।