कुनै समय सबैजसो पदमार्ग तथा पर्वतारोहणमा विदेशी पर्यटक मात्र हुन्थे। अहिले भने नेपालीहरूको जमात बढ्दो छ।
यो सिजनमा सहरबाट पर ग्रामीण भेगको परिवेश, संस्कृति, जनावर र ढकमक्क लालीगुराँसले पदयात्रा थप रोमाञ्चक बनाइदिन्छ।
यदि तपाईं पनि ट्रेकिङ जाने सोच्दै हुनुहुन्छ भने यी ७ गन्तव्य उपयुक्त हुन सक्छन्। यहाँ उल्लिखित ठाउँ जान लाग्ने समय औसत हो। यसबारे हामीलाई विभिन्न पर्यटन व्यवसायीहरूले जानकारी दिएका हुन्।
तिलिचो ताल, थोरङ्ला पास
मनाङको तिलिचो ट्रेकिङ जानेहरूको लोकप्रिय गन्तव्यमा पर्छ। ४९१९ मिटर उचाइमा रहेको तिलिचो अन्नपूर्ण हिमालले घेरिएको छ। यसको अधिकांश पदयात्रा अन्नपूर्ण सर्किट मार्गमा छ। अक्टोबर, नोभेम्बर, मार्च र अप्रिल महिना यहाँ जान उपयुक्त समय मानिन्छ।
मनास्लु, लमजुङ, अन्नपूर्ण, गंगापूर्ण हिमशृंखलाको मनोरम दृश्यका कारण पनि यो गन्तव्य लोकप्रिय छ।
तिलिचो ट्रेकिङका निम्ति पाँचदेखि सात दिन लाग्छ। तिलिचो र थोरङ्ला पास एकैपटक जान सकिन्छ।
पहिलो दिन काठमाडौंदेखि बेसीसहर र दोस्रो दिन बेसीसहर हुँदै चामेसम्म गाडीमार्फत जान सकिन्छ।
तेस्रो दिन पदयात्रा गरी चामे, पिसाङ हुँदै मनाङ पुगिन्छ।
चौथो दिन मनाङबाट तिलिचो बेसक्याम्प पुगिन्छ। भोलिपल्ट तिलिचो बेसक्याम्पबाट तिलिचो ताल पुगिन्छ। सोही दिन फर्केर श्रीखर्कसम्म झर्न सकिन्छ। छैटौं दिन श्री खर्कबाट चामे हुँदै सातौं दिन चामेदेखि काठमाडौं फर्कन सकिन्छ।
तर यात्राका क्रममा तिलिचो पुगेपछि थोरङ्ला पास पनि पुग्न सकिन्छ। यसका लागि दुई दिनको समय थपे पुग्छ। थोरङ्ला पास ट्रेकिङलाई अन्नपूर्ण सर्किट पनि भनिन्छ।
थोरङ्ला पास जानका लागि तिलिचो तालबाट याक खर्कहुँदै थोरङ फेदी र अर्को दिन मुक्तिनाथ हुँदै थोरङ्ला पास पुगिन्छ। ५११६ मिटर उचाइमा रहेको थोरङ्ला पास पछिल्लो समय धेरै रूचाइएको ट्रेकिङ गन्तव्यमा पर्छ।
यात्राका क्रममा अन्नपूर्ण, धौवलागिरि, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण लागयत हिमश्रृंखला देखिन्छ।
सगरमाथा आधार शिविर
पर्वतीय पर्यटनमा पहिलो नम्बरमा आउने मुख्य गन्तव्य सगरमाथा आधार शिविर नै हो। यहाँको पदयात्रा एभरेस्ट बेस क्याम्प ट्रेकिङका नामले चिनिन्छ। सगरमाथा क्षेत्रमा मकालु, नुत्से, माउन्ट चो ओयु जस्ता हिमाल शृंखलाको मनोरम दृश्य हेर्न पाइन्छ।
पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमा जान सकिन्छ। सोही दिन फाकदिङसम्म पुगिन्छ।
दोस्रो दिन फाकदिङदेखि नाम्चे, तेस्रो दिन नाम्चेदेखि एभरेस्ट भ्यू प्वाइन्ट पुगेर खुम्दिङ भिलेज हुँदै नाम्चे नै आइपुगिन्छ।
चौथो दिन नाम्चेबाट दिबुचे हुँदै पाँचौं दिन दिबुचेदेखि दिङबोचे, छैटौं दिन दिङबोचेबाट लोबुचे पुगिन्छ।
सातौं दिन भने आधार शिविरका लागि यात्रा सुरू हुन्छ। यो दिन लोबुचेबाट गोरकसेप हुँदै आधार शिविर पुगिन्छ। आठौं दिन गोरकसेपबाट काला पत्थर पुगिन्छ। सोही दिन फिरीचेसम्म आइपुगिन्छ।
नवौं दिन नाम्चे हुँदै लुक्ला आइपुगिन्छ।
दसौं दिन लुक्लाबाट काठमाडौं उडानमार्फत फर्किन सकिन्छ।
अन्नपूर्ण आधार शिविर
अन्नपूर्ण आधार शिविर दोस्रो लोकप्रिय पदयात्राका रूपमा लिइन्छ। एक सातासम्म स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य मन पराउनेका लागि यो रमाइलो पदयात्रा हो।
यहाँ विभिन्न दिशाबाट देखिने अन्नपूर्ण हिमालसँगै हिउँचुली, माछापुच्छ्रे, गंगापूर्ण, बराहा शिखर लगायत हिमशृंखला नजिकबाट नियाल्न पाइन्छ।
काठमाडौंबाट पोखरा गई त्यहाँबाट नयाँपुलसम्म गाडीमा जान सकिन्छ। त्यहाँदेखि घान्द्रुकसम्म हिँड्दै जानुपर्छ।
दोस्रो दिन घान्द्रुकदेखि छोमरोङ हुँदै सिनुवा र तेस्रो दिन सिनुवादेखि बाँस-दोभान-हिमालयन-देउराली पुगिन्छ।
चौथो दिन देउरालीदेखि एमबिसी हुँदै अन्नपूर्ण आधार शिविर पुगिन्छ।
पाचौं दिन शिविरदेखि एमबिसी-देउराली हुँदै सोही ट्रेलमार्फत बाँस फर्किइन्छ। छैटौं दिन बाँसदेखि झिनुसम्म, सातौं दिन मोक्यूदेखि नयाँपुल हुँदै पोखरा र सोही दिन गाडी अथवा उडानमार्फत काठमाडौं आइपुगिनेछ।
मनास्लु सर्किट
यो मौुममा अर्को उपयुक्त गन्तव्य हो मनास्लु सर्किट। यहाँ अन्य आधार शिविरभन्दा भिडभाड कम हुन्छ। खुलेको मौसममा जंगलभरि फूलहरू नियाल्दै हिँड्न सकिन्छ। यो पदयात्रामा गणेश हिमाल, हिमलुङ, काङगुरू, नेमजुङ र अन्नपूर्ण हिमश्रृंखला देखिन्छ।
मनास्लु सर्किटका साता/दस दिनमा पूरा गर्न सकिन्छ।
काठमाडौंबाट पहिलो दिन गाडीमा माछाखोलासम्म पुगिन्छ।
दोस्रो दिन माछाखोलाबाट जगत, तेस्रो दिन जगतबाट ड्याङ, चौथो दिन ड्याङबाट नामरूग पुगिन्छ।
पाँचौं दिन नामरूगबाट ल्हो हुँदै सामागाउँ, छैटौं दिन सामागाउँ धर्मशाला हुँदै लार्के पास पुगिन्छ।
५१०६ मिटर उचाइमा रहेको लार्के पास मनास्लु क्षेत्रको उच्च विन्दु हो।
सातौं दिन लार्के पासबाट झरेर भिमथान, आठौं दिन भिमथानबाट तिल्चे र नवौं दिन तिलचेबाट धारापानी हुँदै सोही दिन वा भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ।
अप्पर मुस्ताङ
अप्पर मुस्ताङ धेरैले रूचाएको ट्रेकिङ गन्तव्य हो। प्राचीन माटोको पर्खाल र सहर, साँघुरा गल्ली, दरबार, गुम्बा यहाँका आकर्षण हुन्।
भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै छ।
अप्पर मुस्ताङ पदयात्रा क्रममा अन्नपूर्ण, निलगिरि लगायत हिमालका दृश्यहरू देखिन्छ।
पहिलो दिन काठमाडौंदेखि पोखरा, दोस्रो दिन पोखराबाट कागबेनी हुँदै चेले, तेस्रो दिन जेलिंग हुँदै चाराङ लोमान्थाङ पुगिन्छ। अप्पर मुस्ताङको सबैभन्दा उचाइ लोमान्थाङ नै हो।
लोमान्थाङबाट ढकमार, त्यसपछि स्याङ्बोचे, छुक्साङ, कागबेनी जोमसोमसम्म पैदल हुँदै गाडीमा पोखरा र काठमाडौं फर्किन सकिन्छ।
शे-फोक्सुन्डो
काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जदेखि जुफालसम्म जहाजमा जान सकिन्छ।
दोस्रो दिन सुलिघाटदेखि कागेनी हुँदै चुनुवार र तेस्रो दिन चुनुवारदेखि फोक्सुन्डो तालसम्म पुगिनेछ।
चौथो दिन फोक्सुन्डो भ्यू प्वाइन्ट पुग्न सकिन्छ।
त्यस्तै पाँचौं दिन फोक्सुन्डोदेखि छेपकासम्मको पदयात्रा, छैटौं दिन छेपकादेखि जुफालसम्म आइपुगिन्छ।
भोलिपल्ट जुफालदेखि नेपालगन्ज र काठमाडौंसम्म जहाजमा फर्किन सकिन्छ।
फोक्सुन्डोको विशेषता भनेको राष्ट्रिय निकुञ्ज अवलोकनसँगै पदयात्राका क्रममा देखिने रिग्म गाउँ, गुम्बा र चैत्य हुन्।
गोक्यो ताल, गोक्यो री
हिमाली क्षेत्रको अवलोकन र रमणीय ट्रेकिङ गर्न गोक्यो उपयुक्त हुन्छ। यो साहसिक ट्रेकिङ गन्तव्य हो। यहाँबाट सगरमाथा, चो ओयु, ल्होत्से र मकालु हिमाल अवलोकन गर्न सकिन्छ।
पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमार्फत् र सोही दिन फाकदिङसम्म ट्रेकमार्फत जान सकिन्छ।
दोस्रो दिन फाकदिङदेखि नाम्चेबजार, तेस्रो दिन नाम्चे बजारदेखि थामे र चौथो दिन थामेदेखि खुम्जुङसम्म पुगिन्छ।
त्यस्तै पाँचौं दिन खुम्जुङदेखि डोल हुँदै माछेर्मो र छैटौं दिन माछेर्मोदेखि गोक्यो ताल पुगिन्छ।
गोक्यो तालबाट करिब तीनदेखि चार घन्टा ट्रेकिङपछि गोक्यो री पुगिन्छ।
सातौं दिन गोक्योबाट माछेर्मो र आठौं दिन माछेर्मोदेखि नाम्चेबजार फर्किन सकिन्छ।
नवौं दिन नाम्चेबजारदेखि लुक्ला पदयात्रा र भोलिपल्ट लुक्लाबाट जहाजमा काठमाडौं फर्किन सकिन्छ।