पर्यटनमा विमानस्थलपछि महत्त्वपूर्ण पूर्वाधारका रूपमा होटललाई लिइन्छ।
पछिल्लो समय होटल उद्योग आशालाग्दो गरी मुलुकभर फैलिरहेको छ। विशेषगरी पर्यटन क्षेत्रमा सम्भावना देखेर व्यवसायीहरूले होटलमा लगानी थपिरहेका छन्।
पहिलोपटक नेपालमा २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो।
त्यसयता करिब ५१ वर्षको इतिहासमा झन्डै दुई सयवटा तारे होटल सञ्चालनमा आएको पर्यटन विभागको तथ्यांक छ।
विभागको तथ्यांकअनुसार हालसम्म देशभर एक सय ८७ वटा तारे होटल छन्। यी सबैमा गरी ११ हजार २४ वटा कोठा र १७ हजार तीन सय २३ वटा बेड छन्।
सरकारले नेपालको पर्यटन क्षेत्रमा सम्भावना देखेर प्राथमिकतामा राखेसँगै होटल व्यवसायमा लगानी बढेको होटल संघ नेपाल (हान) ले जनाएको छ।
भ्रमण वर्ष, लगानी सम्मेलन, पर्यटन दशक जस्ता कार्यक्रमले पर्यटन व्यवसायमा होटलको आकर्षण थपिएको हानका महासचिव साजन शाक्यले बताए।
उनका अनुसार अहिले मुलुकभर पर्यटकीय गन्तव्यहरूमा आकर्षित गराउन सुविधा सम्पन्न होटलहरू थपिइरहेका छन्।
'होटलमा हरेक वर्ष अर्बौं लगानी थपिइरहेको छ,' शाक्यले भने, 'छोटो समयमा लाभ दिन सक्ने भएकाले पनि यसमा लगानीकर्ताको आकर्षण देखिन्छ।'
होटल संघमा मुलुकभरका चार हजार पाँच सय होटलका सदस्यहरू आबद्ध छन्। यसमध्ये केन्द्रबाट मात्र साढे चार सय हाराहारी सदस्य रहेको उनले बताए। विभागबाट तारे होटलको अनुमति लिएका र पर्यटक स्तरीय होटल सञ्चालन गरिरहेकाहरू संघमा सदस्य हुन्छन्।
'धेरै होटलहरूले तारे अनुमति लिएका छैनन् तर पर्यटक स्तरीय होटलहरू संघमा सदस्य छन्,' उनले थप भने, 'यसरी हेर्दा देशभर साढे चार हजारवटा होटलले आतिथ्य सेवा दिइरहेका छन्।'
होटलमा स्वदेशीसँगै विदेशी लगानी पनि भित्रिइरहेको छ। कोभिडपछि बिस्तारै पर्यटक आगमनमा पनि सुधार आएको छ। यसले पर्यटन क्षेत्रमा आशा जगाएको समेत उनले बताए।
'पर्यटकका लागि ट्रेकिङ, ट्राभल्स कम्पनी खुल्ने क्रम बढेको छ। पर्यटक आवागमन पनि राम्रै देखिन्छ,' उनले भने, 'यिनै कम्पनीका व्यवसायीहरू आफैंले धमाधम होटल खोल्न थाले। बिस्तारै होटल व्यवसाय प्रतिष्ठाको विषय बन्यो।'
अहिले पर्यटकीयदेखी अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रम देशभर बढिरहेको छ। करिब एक दर्शन विदेशी चेनले विभिन्न होटलको व्यवस्थापन सम्हालिरहेका छन्। कोभिड महामारीपछि होटलमा अझ धेरै लगानी भित्रिएको उनले बताए।
दुई वर्षयताको तथ्यांक हेर्दा एक सय हाराहारी त्यस्ता होटल निर्माण तथा सञ्चालनको तयारीमा छन्। अझै थुप्रै 'पाइपलाइन' मा छन्। सन् २०२० मा भ्रमण वर्ष घोषणा गरिएपछि होटलमा थप लगानीको प्रतिबद्धता आएको थियो। भ्रमण वर्ष कोरोनाका कारण रोकिए पनि त्यसपछि सञ्चालनमा ल्याउने गरी थुप्रै होटलहरू बने।
'त्यही बेलादेखि निर्माण र सञ्चालन गर्ने गरी साना-ठूला होटल थपिइरहेका छन्,’ होटल व्यवसायी शाक्यले भने।
पाँचतारे होटल निर्माण गर्दा एउटा कोठाका लागि न्यूनतम एक करोड रूपैयाँ खर्च हुन्छ। सयवटा तयार गर्दा कोठाकै लागि एक अर्ब रूपैयाँ पुग्छ। बाँकी पूर्वाधारसहित सञ्चालनमा आउँदा दुई अर्ब रूपैयाँभन्दा धेरै पुग्ने गरेको उनले बताए।
निजी क्षेत्रले पूर्वाधार तयार गरे पनि सरकारी नीतिले आवश्यकता अनुसार पर्यटक भित्र्याउन नसकेको होटल संघका अध्यक्ष विनायक शाह बताउँछन्।
सन् २०२३ मा १२ लाख हाराहारी पर्यटक नेपाल घुम्न आएका थिए।
'अहिले होमस्टेदेखि चेन होटलसम्मको अवस्था हेर्दा झण्डै ३० लाख पर्यटक धान्न सक्ने वातावरण होटल उद्योगले बनाइसकेको छ। होटलहरू अझै थपिइरहेका छन्,' शाहले भने, 'होटलको संख्या र क्षमताको आधा पर्यटक भित्रिएर पुग्छ त? अब नयाँ प्याकेज ल्याएर अघि बढ्नुपर्छ।'
हवाई सञ्जाल बढाउन व्यवसायीको माग
होटलमा प्रशस्तै लगानी भित्र्याए पनि अहिले व्यवसायीहरू निराश छन्। पर्यटकीय सिजनमै पनि काठमाडौं, पोखरा र सौराहाबाहेक अन्य गन्तव्यमा 'अकुपेन्सी' बढ्न नसकेको उनीहरू बताउँछन्।
संघका महासचिव शाक्यका अनुसार अहिले मुलुकभर ३० प्रतिशत अकुपेन्सी छ। जसमा स्वदेशी र विदेशी दुबैको हिस्सा छ। पर्यटकीय सिजनमै पनि ठूला होटलहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।
तैपनि आन्तरिक पर्यटकको पनि चहलपहल बढ्दो क्रममा रहेकाले होटलहरूको अकुपेन्सी बढाउन सहयोग पुगेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशमा तारे होटलहरू धमाधम खुले। हवाई सञ्जाल बढ्ने र पर्यटक संख्या बढ्ने अपेक्षा होटल व्यवसायीहरूको थियो। तर विमानस्थल सञ्चालनको लगभग डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरू चिन्तित छन्।
ठूलो सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधार तयार गर्ने निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने क्षेत्रीय होटल संघ सिद्धार्थनगरका अध्यक्ष सिपी श्रेष्ठले बताए।
'भैरहवामा अझै पनि चार/पाँचवटा तारे होटल थपिँदै छन्। यी होटल राम्रोसँग चल्न विमानस्थल पूर्ण रूपमा चल्नुपर्छ,' श्रेष्ठले भने, 'पर्यटन विकासका लागि निजी क्षेत्रले तयार गर्नुपर्ने पूर्वाधार विकास गरिसकेको छ। अब सरकारले पर्यटन भित्र्याउने वातावरण बनाएर निजी क्षेत्रको लगानी सुरक्षित गर्नपर्यो।'
व्यवसायीहरूले होटल सञ्चालनका लागि पटक पटक अन्तर्राष्ट्रिय उडान माग गर्दै आइरहेका छन्। विभिन्न मुलुकसँग हवाई सञ्जाल विस्तार गर्न सकेमा लुम्बिनी प्रदेशका सबैजसो होटलको अकपेन्सी बढ्ने उनको भनाइ छ।
यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटल व्यवसायीहरू चिन्तित छन्। नियमित उडान भए विदशी पर्यटक बढ्ने व्यवसायीहरू बताउँछन्।
बागमतीपछि गण्डकी र लुम्बिनीमा लगानीकर्ताको आकर्षण
पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म बागमती प्रदेशमा सबभन्दा धेरै होटल छन्।
बागमतीमा एक सय १७ वटातारे होटल छन्। जसमा सबैभन्दा धेरै, ३३ वटा एकतारे र सबैभन्दा कम, ८ वटा चारतारे होटल छन्। त्यस्तै दुईतारे ३१, तीनतारे २७, चारतारे १२ र पाँचतारे १२ वटा छन्। यी होटलमा कुल सात हजार एक सय ८४ वटा रूम छन्। एघार हजार ५८५ वटा बेड छन्।
दोस्रोमा लुम्बिनी प्रदेशमा सबभन्दा धेरै होटल छन्। यहाँ अहिलेसम्म २५ वटा तारे होटल बनिसके। जसमा तीनवटा एकतारे, चारवटा दुईतारे, तीनवटा तीनतारे, १२ वटा चारतारे र तीनवटा पाँचतारे छन्। यी होटलमा एक हजार चार सय ८० वटा रूम छन्। दुई हजार दुई सय ४९ वटा बेड छन्।
तेस्रोमा गण्डकी प्रदेश छ। गण्डकीमा अहिलेसम्म २२ वटा तारे होटल बनेका छन्। एकतारे तीनवटा, दुईतारे आठवटा, तीनतारे दुइटा, चारतारे सातवटा र पाँचतारे दुईवटा होटल छन्। यी सबैमा एक हजार ३८४ वटा रूम छन्। २ हजार ६३ वटा बेड छन्।
मधेस प्रदेशमा ११ वटा तारे होटल छन्। यो प्रदेशमा सबभन्दा धेरै, चारवटा दुईतारे होटल छन्। त्यस्तै एकतारे दुइटा, तीनतारे दुइटा, चारतारे दुइटा र पाँचतारे एउटा होटल छन्। जसमा चार सय ८६ वटा रूममा सात सय ७८ बेड छन्।
कोशी प्रदेशमा नौवटा तारे होटल छन्। यिनमा चार सय ९२ वटा रूम छन् भने सात सय ७८ वटा बेड छन्। कोशीमा एकतारे दुइटा, दुईतारे एउटा, तीनतारे दुइटा, चारतारे दुइटा र पाँचतारे एउटा होटल छन्।
यो प्रदेशमा एक मात्र पाँचतारे डिलक्स होटल पनि छ। त्यो हो झापामा रहेको मेची क्राउन। सामान्यतया काठमाडौंमा डिलक्स होटल हुन एक सय ५० कोठा चाहिन्छ भने उपत्यकाबाहिर सय कोठा भए पुग्छ। मेची क्राउनमा एक सय एकवटा कोठा छन्।
कर्णाली प्रदेशबाट भने अहिलेसम्म कुनै पनि तारे होटल विभागमा दर्ता भएको छैन। थुप्रै पर्यटकीय गन्तव्यले भरिएको कर्णालीमा तारे होटल नभएको विभागले जनाएको छ।
यसबाहेक काठमाडौं उपत्यकामा चारवटा हेरिटेज बुटिक होटल सञ्चालनमा छन्। ती हुन्- होटल द्वारिका, इमिरो प्लाजा, पँबेरा, मनास्लु। मौलिक कला र संस्कृति झल्काउने खालका होटल बुटिक अन्तर्गत पर्छन्।
अर्ब बढी लगानीमा बन्ने ठूला होटलले महँगा पर्यटक तान्न सक्ने सम्भावना धेरै हुने व्यवसायीहरू बताउँछन्। सुविधा सम्पन्न तारे होटलले देशको पर्यटनमा टेवा पुग्ने र फाइदा पनि हुने भएकाले जोखिमबीच पनि लगानी भइरहेको छ।