काठमाडौंमा लक्जरियस बुटिक होटल 'वर्णवास' सञ्चालनमा आएको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहित बनेको वर्णवास होटल बिहीबारबाट सञ्चालनमा आएको हो।
दुई रोपनी जमिनमा फैलिएको यो होटल २०७६ सालदेखि निर्माण थालिएको थियो। तीन वर्षमा बनाएर सक्ने लक्ष्य भए पनि कोरोनाका कारण समय लम्बिएको होटल सञ्चालक राजेन्द्र बजगाईंले बताए।
पर्यटन व्यवसायी बजगाईंका अनुसार यो होटल निर्माणमा एक अर्ब ३१ करोड रूपैयाँ लगानी भएको छ।
‘तीन वर्षमा सक्ने गरी काम सुरू भएको थियो। कोभिडले झन्डै पाँच वर्ष पुर्यायो,’ कांग्रेस सांसद समेत रहेका बजगाईंले भने, ‘समयसँगै लागत पनि बढ्यो।’
निर्माण सुरू हुनुअघि बजगाईंले एक अर्ब १६ करोड रूपैयाँ लगानी अनुमान गरेका थिए।
होटलमा विभिन्न समुदायका संस्कृति झल्किने कला र संग्रहालयसहित नेपाल चिनाउने सामग्री राखिएको उनले बताए।
'संग्रहालय भनेको पुराना र जीर्ण सामग्री संकलन गरेर सजाउने ठाउँ मात्र होइन,' उनले भने, 'यहाँ धेरै समुदायका संस्कृति झल्किने कलाहरू राखिएको छ। यसले पर्यटकलाई आकर्षित गर्नेछ।'
साढे नौ तलाको होटल तीन तहमा विभाजित छ। ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँछ। तीनै तहमा मूल आदिवासी समुदायका वेशभूषा, रहनसहन र संस्कृति झल्काउने सामग्री सजाइएको छ।
होटलको भुँइतलामा आर्ट ग्यालरी छ। पहिलो तलादेखि छैठौं तलासम्म कोठा छन्।
पहिलो र दोस्रो तलामा 'थारू गेस्ट रूम' छ। यी कोठाका भित्ता थारू समुदायका घर, गोठ, भाँडाकुँडा, खेतबारीमा काम गरिरहेका लगायत जीवनशैली झल्काउने कलाले सजाइएको छ। राई र लिम्बू समुदाय चिनाउने चित्र यही तलामा छन्।
तेस्रो र चौथो तलामा गुरूङ गेस्ट रूम छ। यो तलाले गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर, तामाङ र मुस्ताङका थकाली समुदायको संस्कृति र जीवनशैली चिनाउने उनले बताए।
पाँचौं तलामा 'गुरूङ करिडोर' र छैटौंमा 'शेर्पा गेस्ट रूम' छ।
बजगाईंका अनुसार होटलका कोठा चिनाउन अंकको सट्टा जातजातिको मौलिकता झल्किने नाम राखिएको हो। हरेक कोठाहरूमा फरकफरक जातीय समुदाय चिनाउने चित्र सजाइएको छ।
होटलको नाम 'वर्णवास' हुनुको रहस्य पनि यही हो।
होटलले सबै जसो नेपाली जातजातिको पहिचान दिने भएकाले उक्त नाम रोजिएको उनले बताए।
'हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गरेर वर्णवास बनाइएको हो,' उनले भने, 'यहाँ हरेक समुदायको संस्कृति, रहन सहन र जीवनशैलीका कलाहरू देख्न पाइन्छ। यस्तो सजावटले नेपाली संस्कृति र वेशभूषा संरक्षणमा पनि सहयोग पुग्नेछ।'
छैटौं तलामा रेस्टुरेन्ट छ। यहाँ नेपाली फ्युजन, जापानी, कन्टिनेन्टल र चाइनिज किचन हुन्छ। यसमा विभिन्न परिकार र स्वाद थप्दै जाने उनको योजना छ। रेस्टुरेन्टमा एकै पटकमा कम्तीमा ७० जनाले खाना खान सक्छन्।
बजगाईंले वर्णवासमा विभिन्न समुदायका चाडपर्व मनाउने सोच पनि बनाएका छन्। शेफोक्सुन्डो र मुस्ताङमा मनाइने तिजी चाड, काठमाडौंमा मनाइने भोटेजात्रा, रथयात्रा लगायत चाडपर्व होटलका मुख्य मेनु हुने उनले जानकारी दिए।
'सबै समुदायले मनाउने चाड वर्णवासको मुख्य मेनु हुनेछ,' उनले भने, 'यस्ता चाडपर्व वर्षभरि मनाइनेछ। यसबाट होटलमा पर्यटकको आकर्षण बढ्नेछ।'
वर्णवास होटलको अर्को आकर्षण यसको छानो हो।
होटलको सबभन्दा माथिल्लो भागमा सगरमाथा चुचुरो जस्तो आकृति बनाइएको छ। यो छानोमुनि नाम्चे भञ्ज्याङको डिजाइन पनि छ।
यहीँ 'साउथ कोल बार' छ। सगरमाथा र ल्होत्से हिमालको बीचबाट छुट्टिएर सगरमाथा आरोहणका लागि जाने ठाउँ साउथ कोलको नामबाट यो बारको नाम राखिएको हो।
हिमाल आरोहणभन्दा एक रातअघि साउथ कोलमा सुतेर माथि जाने चलन भएकाले होटलमा त्यसैको झल्को दिन खोजिएको उनले बताए। सगरमाथा चढ्न जाँदा ज्यान गुमाएका व्यक्तिको परिवारजनलाई बारमा रोजगारी दिने उनको योजना छ।
बारमा बसेर काठमाडौं उपत्यका नियाल्न र तल स्विमिङ पुल हेर्न सकिन्छ। स्विमिङ पुलको नाम 'गोक्यो' राखिएको छ।
होटलमा कुल ४८ वटा कोठा छन्। यीमध्ये ६ वटा प्रेसिडेन्टल स्विट, १८ वटा स्विट र बाँकी डिलक्स रूम छन्। सबै स्विट रूममा ज्याकुजी (तातो पानी हुने बाथटब) छ।
'यति धेरै प्राइभेट ज्याकुजी रहेको नेपालकै पहिलो होटल हो वर्णवास,' उनले भने।
वर्णवासमा कोठाका लागि न्यूनतम २५० अमेरिकी डलर (हालको मूल्यमा करिब ३४ हजार रूपैयाँ) पर्छ। बढीमा प्रेसिडेन्टल स्विटका लागि १७ सय डलर (करिब दुई लाख २७ हजार रूपैयाँ) तिर्नु पर्नेछ।
काठमाडौंको केन्द्रमा स्तरीय सेवा-सुविधा भएको बुटिक होटल सञ्चालनमा ल्याउने बजगाईं गोरखाका हुन्।
बजगाईं २९ वर्षदेखि पर्यटन व्यवसायमा छन्। सानै उमेरमा जन्मथलो छाडेर हिँडेका उनी पर्यटन क्षेत्रमा रहेर धेरै अनुभव बटुलेको बताउँछन्।
उनी २०५१ सालमा काठमाडौं, ठमेलको एक गेस्ट हाउसमा कामदारका रूपमा प्रवेश गरेर पर्यटन क्षेत्रमा आएका हुन्। होटल व्यवसाय उनका लागि नौलो थियो। नयाँ कुरा सिक्ने दौडमा उनले गेस्ट हाउसमा करिब चार वर्ष काम गरे।
यसपछि आफ्नै लगानीमा पर्वतीय पर्यटनतिर लागे। व्यवसायको सिलसिलामा सन् २०११ मा विदेशी लगानी भित्र्याएर भैरहवामा 'टाइगर प्यालेस' होटलका साझेदार भए। तर विभिन्न कारणले टाइगर प्यालेसबाट बाहिरिए। यसपछि उनी एकल लगानीमा स्तरीय होटल चलाउने निर्णयमा पुगे।
उनले भने, 'त्यति ठूलो होटल टाइगर प्यालेसबाट निस्किनुपर्यो। यसपछि सानै होस् तर राम्रो होटल बनाएरै छोड्छु भन्ने सोच बनाएँ।'
यो होटलको सोच आठ वर्षअघि फुरेको थियो। उनी शाह वंशीय परिवारका एक सदस्यसँग चिया गफमा थिए। गफमा चार जात छत्तीस वर्णको कुरा निस्कियो। होटल खोल्ने तयारीमा रहेका बजगाईंको दिमागले 'वर्ण' समात्यो। 'जात र वर्ण' को होटल कस्तो बन्ला भन्ने कुरामा उनको दिमाग चल्न थाल्यो।
'पहिले सानो संग्रहालय होटल बनाउने कि भन्ने सोच थियो,' बजगाईंले भने, 'जब साथीले जात र वर्णको कुरा गर्नुभयो, त्यसपछि त्यहीअनुरूपको होटल खोल्ने सोच आयो।'
होटलबारे राम्रो समझ भएका बजगाईंको दिमागमा नाम जुर्यो वर्णवास — अनेक जातजातिका मानिसहरू बस्ने थलो।
अब उनलाई होटलको सजावट सोच्न गाह्रो भएन। हिमाल, पहाड र तराई समेटेर जातजातिका रैथाने कला, संस्कृति झल्किने होटल बनाउने निष्कर्षमा पुगे।
होटल निर्माण भइरहँदा देशमा कोभिड फैलियो। सुरूमा निर्माण सामग्री ल्याउन र श्रमिक राख्न केही गाह्रो भयो। काम भने रोकिएन। कोरोनाकालमै भवन ठडियो।
पुराना होटलहरूले सेवासुविधा स्तरीकरण गर्न नसकेकाले नयाँ होटल खुल्ने क्रम बढेको बजगाईंको बुझाइ छ।
'अहिले चलिरहेका होटलले जुन सुधार र विस्तार गर्नुपर्थ्यो, त्यो गरेनन्,' राजेन्द्र भन्छन्, 'समयअनुसार जे कुराको माग बढी छ, त्यसलाई लक्षित गर्दै नयाँ होटलहरूले नयाँ स्वाद र गन्तव्य दिइरहेका छन्।'
सबै तस्बिर- राजेन्द्र बजगाईं