कतारको दोहाका लागि उड्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको जहाज माघ १ गते समस्या देखिएपछि ग्राउन्डेड भयो।
रातको ११ बजे उड्नुपर्ने वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्कियो। 'फ्लाइट कन्ट्रोल सेन्सर' मा समस्या देखिएर जहाज नउडेपछि यात्रुहरू अलपत्र परे।
तर निगम (नेपाल एयरलाइन्स) ले तत्काल यसबारे यात्रुलाई सूचना दिएन। साढे दुई घन्टापछि, रातको साढे एक बजे मात्र उडान रद्द गरिएको सूचना यात्रुले पाए। निगमले मध्यरातमा २७६ जना यात्रुलाई होटलमा लगेर राख्यो।
सोमबार दोहा पुगेर काठमाडौं फर्केपछि सोही जहाज मंगलबार राति जापानको नारिता उड्ने तालिका थियो। जहाज थन्किएपछि नारिता उडान पनि रद्द भयो।
त्यसअघि पुस २३ मा पनि बैंकक उड्ने तयारीमा रहेको न्यारोबडी जहाज ग्राउन्डेड भएको थियो। एक सय ५२ यात्रुलाई राती होटलमा लगेर राखियो। भोलिपल्ट अर्को जहाजमार्फत गन्तव्यमा पुर्याइयो।
निगम स्रोतका अनुसार पछिल्लो एक वर्षमा जहाज बिग्रिएर ११ पटक ग्राउन्डेड भइसकेका छन्। उडानको तयारीमा रहेका जहाज पटकपटक ग्राउन्डेड हुँदा एकातिर यात्रु अलपत्र पर्छन्, समयमै गन्तव्यमा पुग्न सक्दैनन्। अर्कातिर निगमप्रति यात्रुको विश्वास गुम्दै गएको छ।
जहाज ग्राउन्डेड हुँदा बोर्डिङ पास लिइसकेका यात्रुले विरोध समेत गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरू बताउँछन्।
'पटकपटक निगमको जहाजले यात्रुलाई धोका दिइरहेको छ। गन्तव्यमा पुग्न उडान कुरेर बसेका यात्रुहरू मध्यरातमा होटल जानुपर्ने अवस्था छ,' विमानस्थलका एक कर्मचारीले भने, 'यस्तो अवस्थामा विरोध हुन्छ, विमानस्थलमै झडप पनि हुन्छ।'
जहाज बिग्रिँदा निगमले आफ्नै खर्चमा यात्रुको व्यवस्थापन गर्नुपर्छ। निगमले सानादेखि तारे होटलसम्म यात्रुलाई राख्दै आएको छ।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा वाइडबडी र दुइटा न्यारोबडी गरी चार जहाज छन्। यीमध्ये एक सय ५८ सिट क्षमताको न्यारोबडी 'नाइनएन-एकेएक्स' मंसिर १३ देखि ग्राउन्डेड थियो। झन्डै दुई महिनापछि, माघ ५ मा मर्मतका लागि इसराइल पठाइएको छ।
निगमसँग न्यारोबडी र वाइडबडी दुवैको जगेडा इञ्जिन छैन। यस कारण जहाजको इञ्जिनमा समस्या आउँदा महिनौंसम्म ग्राउन्डेड हुने गरेका छन्। निगम व्यवस्थापनले दीर्घकालीन सोच राखेर जगेडा राख्नुपर्ने निगमकै कर्मचारीहरू बताउँछन्। त्यस्तै मर्मत, सम्भार र पाटपूर्जा निकालेर परीक्षण गर्न 'एमआरओ' (मेन्टिनेन्स, रिपेयर, ओभरहल) नियुक्त गर्नुपर्ने उनीहरूको भनाइ छ।
'त्यस्तो हुँदा जहाज ग्राउन्डेड हुनेबित्तिकै इञ्जिन ल्याएर उडाउन र तत्कालै मर्मत गर्न सकिन्थ्यो,' निगमका एक कर्मचारीले भने, 'तर समस्या आउनुअघि यी कुनै काम गरिँदैन।'
ती कर्मचारीका अनुसार जहाज ग्राउन्डेड भएपछि पनि सार्वजनिक खरिद ऐनलाई देखाएर इञ्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरू गर्न ढिलाइ गरिन्छ।
'जबकि नेतृत्वलाई तत्कालै प्रक्रिया अगाडि बढाएर छोटो अवधिका लागि इञ्जिन भाडामा ल्याउन पाउने सुविधा नै छ,' उनले थप भने।
निगमको अर्थ विभागका अनुसार न्यारोबडीले दैनिक डेढ करोड रूपैयाँ हाराहारीको कारोबार गर्छ। एउटा न्यारोबडी ग्राउन्डेड हुँदा त्यति बराबर नोक्सान हुन्छ।
इञ्जिन मर्मतका लागि एमआरओ राख्ने तथा इञ्जिन भाडामा लिने कम्पनी छनौट प्रक्रियामा ढिलाइ गरेर व्यवस्थापन 'कमिसनको खेलमा लाग्ने' गरेको निगम कर्मचारी संघको आरोप छ। समयमै मर्मत गरी नियमित उडानका लागि संघले पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवरले बताए।
कतिपय अवस्थामा छोटो समयमै जहाज मर्मत गरी उडान भएका पनि छन्। कतिपय अवस्थामा भने जहाज महिनौंसम्म विमानस्थलमै अलपत्र हुन्छन्।
'निगमका जहाज सधैंजसो विमानस्थलको पार्किङमा बिरामी अवस्थामा हुन्छन्,' अध्यक्ष कुँवरले भने, 'आर्थिक प्रलोभनमा फसेर आफ्ना जहाज नउडाउने र अरू जहाजबाट यात्रु बोकेर कमिसन खाइरहेका छन्। निगमको इतिहासमै सबभन्दा धेरै जहाज बिग्रिएको अहिले नै हो।'
जहाज बिग्रिनु ठूलो कुरा होइन, प्राविधिक समस्या आइरहन्छन्। तर समयमै मर्मत नहुँदा निगमको साख गुम्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमा विश्वास गुम्दै गएको छ।
हाल भएका जहाज व्यवस्थापन गर्न नसकिरहेको निगमको ध्यान यति बेला नयाँ जहाज किन्नेमा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि आफू नेतृत्वमा छँदै जहाज थप्न लागि परेका छन्। कार्यकालको एक वर्ष पूरा गर्दैगर्दा उनले निगमलाई जसरी पनि जहाज चाहिएको बताएका थिए।
निगमले अहिले भएका जहाजको त हेरचाह गर्न सकेको छैन, नयाँको कसरी गर्छ भन्ने हाम्रो प्रश्नमा मन्त्री किरातीले ठट्यौली पारामा भने, 'एउटा सन्तान मर्यो भन्दैमा अर्को सन्तान नै नजन्माउनु त!'
मन्त्री किराती जति सक्दो चाँडो जहाज किन्न लागि परेका छन्। अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तीन न्यारोबडी जहाज लिने लिज प्रक्रिया अगाडि बढाइसकेको समेत उनले बताएका छन्।
'जहाज बिग्रिँदै गर्छ, मर्मत हुँदै गर्छ। अहिले जहाज संख्या कम छ, गन्तव्य बढाउनुपर्ने छ,' मन्त्री किरातीले भने, 'दुर्गम, क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि पनि निगमलाई जहाज चाहिएकै छ।'
जहाज किन्न निगमले एक खर्ब ३५ अर्ब रूपैयाँ ऋण लिने तयारी गरेको छ। यसका लागि गत बुधबारै अन्तर्राष्ट्रिय आशय पत्र समेत आह्वान भइसकेको छ।
जहाज खरिद र ग्राउन्डेडका विषयमा निगमका अध्यक्ष युवराज अधिकारी भने प्रतिक्रिया दिन चाहँदैनन्। हामीले सोध्दा उनले 'यसबारे आफू नबोल्ने' बताए।
जहाजमा प्राविधिक समस्या देखिँदा ग्राउन्डेड गर्नैपर्ने प्रवक्ता रमेश पौडेलले बताए।
'निगमसँग अहिले चारवटा जहाज छन्। एउटा ग्राउन्डेड हुँदा २५ प्रतिशत यात्रुलाई असर परिरहेको छ,' उनले भने, 'सकेसम्म जहाज उडाउनै पर्छ। तर प्राविधिक समस्या देख्दादेख्दै त उडाउनु भएन नि!'
सामान्यतया जहाज 'म्यानुअल्ली' जाँच्नुपर्ने निगमका प्राविधिकहरू बताउँछन्। जाँचपछि समस्याबारे जहाज उत्पादक कम्पनीलाई खबर गर्नुपर्छ। अनि कम्पनीको समन्वय र निर्देशनअनुसार मर्मत गरिन्छ।
'जहाज मर्मतमा निजी एयरलाइन्स कम्पनीलाई केही सजिलो छ। सञ्चालक समितिले निर्णय गरेर नागरिक उड्डयन प्राधिकरणलाई खबर गरी सिधै मर्मत गर्न पाउँछन्,' निगमका एक प्राविधिक कर्मचारीले भने, 'तर हामीलाई खरिद र मर्मत दुबैको प्रक्रिया केही झन्झटिलो छ। त्यसकारण केही ढिलाइ हुन्छ।'
निगमले हाल भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, बैंकक, क्वालालम्पुर, हङकङ, दोहा, जापान, दुबई, दमाम लगायत ठाउँमा उडान गरिरहेको छ। वाइडबडीबाट कोरिया, अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने निगमको लक्ष्य थियो। तर अहिलेसम्म जापानबाहेक उडान गर्न सकेको छैन।
निगमका अनुसार कोरिया उडानको प्रक्रिया पूरा भइसकेकको छ। तर त्यहाँको उड्डयन निकायले अनुमति दिएको छैन। त्यसैले अहिलेसम्म उडान हुन नसकेको हो।
जहाज समयमै उड्न नसक्दा र लामो समय ग्राउन्डेड हुँदा निगमको आम्दानी पनि घटिरहेको छ। विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा निगमले कुल यात्रुमध्ये १६.५६ प्रतिशतलाई मात्र सेवा दियो। सन् २०१९ मा कुल अन्तर्राष्ट्रिय यात्रुमध्ये १८ प्रतिशतलाई सेवा दिएको थियो। त्यस्तै सन् २०२० मा २५ प्रतिशत, सन् २०२१ मा २० प्रतिशतलाई सेवा दिएको थियो।