सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ। एक वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघेसँगै लक्ष्य पूरा भएको हो।
यसअघि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए। कोभिडपछि सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा डेढ लाख र २०२२ मा ६ लाख १४ हजार पर्यटक घुम्न आएका थिए।
सन् २०२३ मा भने सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षभरिमा १० लाख १४ हजार ८७४ पर्यटक घुम्न आएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ०७४ र फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक भित्रिएका छन्। मार्चमा पर्यटकको संख्या बढेर ९९ हजार ४२६ पुगेको थियो।
त्यस्तै अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ पर्यटक आएका छन्। अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार ०१२ पर्यटक घुम्न आएका थिए। त्यस्तै अक्टोबरमा पर्यटकको संख्या बढेर १ लाख १७ हजार ३०६ पुगेको थियो। नोभेम्बरमा १ लाख ८ हजार ६३० र डिसेम्बरमा ९६ हजार ५६६ पर्यटक आएका छन्।
लामो समयपछि मासिक एक लाख बढी पर्यटक आउन थालेपछि पर्यटन क्षेत्रमा खुसीका किरण छाएको छ। निराश रहेका व्यवसायीहरू पनि उत्साहित भएका छन्। पर्यटकको आगमन उत्साहजनक रहेपछि पर्वतारोहण, टुर एण्ड ट्राभल, एडभेन्चर लगायतमा पनि चलहपहल छ। कोभिडले थलाएको पर्यटन क्षेत्र अब माथि उठिसकेको व्यवसायीहरू बताउँछन्।
'अरू उद्योगजस्तै कोभिडले पर्यटन क्षेत्रलाई नराम्रैसँग थलायो। कतिपय उद्योगहरू अझै तंग्रिन सकेका छैनन् केही उद्योगहरूले फड्को मारिसके,' एक पर्यटन व्यवसायीले भने, 'पर्यटनले पनि फड्को मार्ने पोइन्टमै छ। अब सबै निकायले ध्यान दिन सक्यो भने नेपालको पर्यटन अर्को वर्ष थप माथि पुग्छ।'
आर्थिक समृद्धिको बलियो आधारका रूपमा लिइएको पर्यटन क्षेत्रबाट मुलुकले वार्षिक अर्बौको आम्दानी गरिरहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२०-२०२१ मा पर्यटनबाट मुलुकले ३२ अर्ब ४४ करोड ७० लाख रूपैयाँ आम्दानी गरेको थियो।
त्यस्तै सन् २०२२-२०२३ मा ६१ अर्ब ५२ करोड २० लाख रूपैयाँ आम्दानी भएको थियो। सन् २०२३-२०२४ को चार महिना (साउन, भदौ, असोज र कात्तिक)मा २५ अर्ब ७३ करोड ३५ लाख रूपैयाँ आम्दानी भएको छ। यसरी पर्यटकबाट हुने आम्दानी बढाउनका लागि पर्यटकको बसाइ अवधि र गुणस्तरीय पर्यटक आगमनमा सरकारले ध्यान दिइरहेको छ।
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो एक वर्षे कार्यकाल पूरा गरेको अवसरमा बोल्दै पर्यटन आगमनमा उल्लेख्य सुधार देखिएको र अब रणनीति बनाएरै पर्यटक भित्र्याउने गरी छलफल भइरहेको समेत बताएका थिए।
यसपालि एक वर्षमा १० लाख पर्यटक कसरी आए? के थिए प्रवर्द्धनका कामहरू?
पर्यटक आगमन बढाउनका लागि सबै निकायले भूमिका खेलेको व्यवसायीहरू बताउँछन्। कोभिड माहामारीपछि नेपालमा पर्यटकको आगमन बढाउनका लागि व्यवासायीहरूले पनि आफ्नो क्षेत्रबाट सकेको प्रयास गरिरहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
पर्यटन प्रवर्द्धन तथा गन्तव्यहरूको प्रचार-प्रसार गरिरहेको पर्यटन बोर्डले पनि सन् २०२३ मा पर्यटक आगमनका लागि थुप्रै कार्यक्रमहरू गरेको निर्देशक मणिराज लामिछानेले बताए। बोर्डले विगतका वर्षहरूमा झै यसपालि पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा 'सेल्स मिसन'को आयोजना गरेको थियो।
उनका अनुसार भारत र बंगलादेशमा थुप्रै कार्यक्रमहरू गरेकाले सोही मुलुकबाट नेपाल आउने पर्यटकको संख्या बढेको छ। सन् २०२३ मा भारतबाट मात्रै ३ लाख १५ हजार बढी पर्यटक नेपाल आएका छन्।
'विगतमा अमेरिका तथा युरोपका मुलुकहरूमा धेरै कार्यक्रमहरू हुन्थे। तर विभिन्न कारण यसपालि ती मुलुकमा बोर्ड पुग्न सकेन,' उनले सेतोपाटीसँग भने, 'भारत र बंगलादेशमा थुप्रै कार्यक्रमहरू भएका थिए जसकारण भारतबाट आउने पर्यटकहरू यसपालि इतिहासकै धेरै छन्।'
छिमेकी मुलुक भएकाले पनि विगतका वर्षहरूमा नेपालले भारत र चीनलाई नै लक्षित गर्थ्यो। तर कोभिडपछि भने लामो समयसम्म चीनले आफ्ना नागरिकलाई बाहिरी मुलुकमा घुम्न निषेध गरेको थियो। त्यस बेला नेपाल घुम्न आउने चिनियाँहरूको संख्या वार्षिक आठ/दस हजारमा सीमित थियो। यसपालि ४० हजार बढी चिनियाँ पर्यटक घुम्न आएका छन्।
२०२३ को मार्चमा चीन सरकारले आफ्ना नागरिक (चिनियाँ पर्यटक)घुम्न जाने देशहरूको सूचीमा नेपाललाई राखेपछि चिनियाँ पर्यटकको संख्या बढेको छ। निर्देशक लामिछानेका अनुसार अहिले दुईदेखि तीन हजार जनासम्म गाइडहरूलाई चिनियाँ पर्यटक लक्षित गरेर तयार गरिएको छ। चिनियाँ भाषा र जीवन शैलीबारे गाइडहरूलाई राम्ररी जानकारी दिइएको छ।
त्यस्तै दुई/तीन सय वटा होटलहरू चिनियाँकै लागि लक्षित गरिएको छ। यसले गर्दा चिनियाँ पर्यटकहरूलाई नेपाल घुम्न सहज बनाउने र आकर्षण बढाउने बोर्डको विश्वास छ।
भारत, चीन र बंगलादेश मात्र होइन। पर्यटकको संख्या बढाउन बोर्डले अन्य मुलुकमा पनि कार्यक्रमहरू गर्ने तयारी गरेको छ।
विशेषगरी पर्यटकहरू बिदा मनाउन, धार्मिक यात्रा र पर्वतारोहणका लागि नेपाल आउँछन्। पर्यटनका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्। पहिलो मार्च, अप्रिल र मे। दोस्रो सेप्टेम्बर, अक्टोबर नोभेम्बर र डिसेम्बर। यी महिनाहरूमा पर्वतीय पर्यटनका लागि पर्यटक आउनेहरू बढी हुन्छन्।
विदेशी पर्यटकले हिमालय शृंखला हेर्न मन पराउँछन्। त्यसकारण पनि उही गन्तव्यमा हरेक वर्ष पदयात्रा र पवर्तारोहणमा जानेहरू थपिन्छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अनुसार नेपाल घुम्न आउनेमध्ये २० प्रतिशत पर्यटक ट्रेकिङ जान्छन्।
कोभिडअघि ट्रेकिङ जाने पर्यटक संख्या निकै राम्रो थियो। टानको तथ्यांक अनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले पदयात्रा तथा पवर्तारोहण गरेका थिए।
'यसपालि ट्रेकिङलाई व्यवस्थित बनाउन अनिवार्य गाइड लैजानुपर्ने नियम कार्यान्वयन गरियो,' टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डितले भने, 'यसले पनि नेपालको ट्रेकिङ थप व्यवस्थित बनेको संन्देश पुगेको छ आगामी दिनमा नेपाल घुम्न आउने पर्यटकको फ्लो अझ बढ्नेछ।'
पर्यटक आगमन उत्साहजनक रहे पनि आगामी दिनमा पर्यटक बढाउन थुप्रै कार्यक्रमहरू गर्नुपर्ने होटल संघ नेपालले जनाएको छ। मुलुकभर सुविधा सम्पन्न होटलहरू निर्माण भइरहेको अवस्थामा सरकारले पर्यटकका लागि प्याकेज नै बनाएर अघि बढ्नुपर्ने संघका अध्यक्ष विनायक शाह बताउँछन्।
उनका अनुसार नेपालमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन। तर पूर्वाधारले रोकेको छ। अधिकांश राजमार्गहरू फराकिला नभएकाले यात्रा लामो र झन्झटिलो भइरहेको छ। विमानस्थलको क्षमताले धानेको छैन।
'अहिले नै आधा घन्टादेखि एक घन्टासम्म होल्ड भइदिन्छ। यसले पर्यटकलाई निरूत्साहित गर्छ। हाम्रो देशमा सबै कुरा भए पनि व्यवस्थापन छैन,' उनले सेतोपाटीसँग भने, 'सरकारले यो क्षेत्रमा ध्यान दिने हो भने पर्यटन तथा होटल उद्योगमा नयाँ लगानीकर्ताको आकर्षण अझै बढ्छ।'
सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटक दशकका रूपमा मनाउने घोषणा पनि गरेको थियो। यसअवधिमा ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ। तर पर्यटकको आगमन यसरी नै बढ्दै र बढाउँदै जाने हो भने ३५ लाख पर्यटक भित्र्याउन एक दशक कुर्नु नपर्ने व्यवसायीहरू बताउँछन्।