बेडमा बसीबसी झ्यालको पर्दा खोल्नुहोस्, त्यसरी नै बन्द पनि गर्नुहोस्। यसरी नै झ्यालढोका खोल्नुहोस्, बन्द गर्नुहोस्। बत्ती बाल्ने र निभाउने काम पनि बसीबसी गर्न सक्नुहुन्छ।
शौचालयमा पनि केही काम स्वचालित रूपमै हुन्छ। तपाईंलाई यसो गर्न 'गुगल भ्वाइस कमान्ड' ले मद्दत गर्छ।
यसै अन्तर्गत ललितपुरको पुल्चोकस्थित 'स्क्वायर होटल' ले स्वचालित प्रविधि उपयोग गरेको छ।
होटलका प्रबन्ध निर्देशक रोमी अर्यालका अनुसार स्क्वायर होटलले विशेष किसिमका सुविधा दिएको छ।
'अरू होटलले नदिएको सेवासुविधाका लागि नै स्क्वायर आएको हो,' उनले भनिन्, 'हामीले अत्याधुनिक सुविधा दिएका छौँ।'
उनका अनुसार स्क्वायर लक्जरी बुटिक होटल हो। होटलको मुख्य विशेषता भनेकै उच्च प्रविधि हो।
'पाहुनाले कोठाको टेलिभिजन अन गरेर गुगलमार्फत सिधै कुरा गर्न सक्छन्,' रोमीले भनिन्, 'तपाईं बेडमा आराम गरिरहँदा गुगलसँग कुरा गर्दै झ्यालढोका खोल्न, बन्द गर्न र बत्ती बाल्न, निभाउन सक्नुहुन्छ। उठिरहनु पर्दैन।'
यस्ता कोठा अपांगता भएका व्यक्तिका लागि अझ बढी उपयोगी हुने उनी बताउँछिन्। होटलमा फरक क्षमता तथा अपांगता भएका व्यक्ति सजिलै आवजावत गर्न सक्ने पूर्वाधार भएको उनले बताइन्।
स्क्वायरमा आगन्तुकहरूका लागि कुल ३९ वटा कोठा छन्। सबैमा यस्तो सुविधा उपलब्ध छ। यहाँ किङ, क्वीन, ट्वीन, अपार्टमेन्ट र एक्जुकेटिभ स्विट कोठा छन् जसको नामअनुसार विशेषता फरक भएको महाप्रबन्धक विकास पौड्यालले बताए।
यी कोठामा एक रात बस्न १२ हजारदेखि १४ हजार रूपैयाँसम्म पर्छ।
होटलमा परिवार नै बस्न मिल्ने एउटा अपार्टमन्ट सुइट पनि छ। यसमा समूह तथा परिवार बस्न उपयुक्त हुन्छ। यसभित्र एउटा ट्वीन रूम, एउटा लिभिङ र एउटा किङ रूम छन्। यसमा बस्न ३५ हजार रूपैयाँसम्म पर्छ।
'अपार्टमन्ट स्विट विशेष गरी केही दिन बस्ने आगन्तुकका लागि उपयुक्त छ,' विकासले भने, 'विदेशी आगन्तुकहरूले रूचाउनुभएको छ। अहिले पनि यी रूम भरिभराउ छन्।'
यहाँ दुइटा एक्जुकेटिभ स्विट छन्। यिनमा एउटा बेड रूम, ज्याकुजी र साउना सुविधा छ। यस्तो कोठामा एक रात बस्न करिब ४० हजार रूपैयाँ लाग्छ।
पाँच रोपनी क्षेत्रफलमा फैलिएको स्क्वायरमा उच्च प्रविधियुक्त कोठासँगै अन्य सुविधा पनि छन्। कम्तीमा ५० वटा चारपांग्रे र कम्तीमा सयवटा दुईपांग्रे सवारीसाधन पार्किङको क्षमता छ।
भुइँ तलामा लबी छ जहाँ आगन्तुहरूले आराम गर्न पाउँछन्। भुइँ तलामै 'इमेरियल क्याफे' छ जहाँ एकपटकमा ५० जनाले ब्रेकफस्ट गर्न सक्छन्। क्याफे क्षेत्रमा बौद्ध परम्पराका 'माने' घुमाउन पाइन्छ। 'क्वाइन (सिक्का) म्युजियम' पनि छ।
रोमीका अनुसार क्वाइन म्युजियममा चाँदीका सिक्का सजाइएका छन्। यी सिक्का मल्लकालदेखिका हुन्। होटलमा प्रवेश गर्ने आगन्तुकलाई मल्लकालदेखि हालसम्मका नेपाली मुद्रा देखाउन यो म्युजियम बनाइएको हो।
'यहाँ हाम्रो परिवारले पुस्तौंदेखि संकलन गरेका चाँदीका सिक्का हेर्न पाइन्छ। यसले इतिहास पनि झल्काउँछ,' उनले भनिन्, 'यो म्युजियम हाम्रो होटलको एउटा विशेषता हो।'
भुइँतलामै 'नील' नाम राखिएको एउटा हल छ जसमा केही न केही कार्यक्रमहरू भइरहन्छन्। हलमा सय जनासम्म अटाउने क्षमता छ।
पहिलो तलाबाट कोठा सुरू हुन्छ। स्क्वायर स्ट्यान्डर्ड अन्तर्गत पहिलो तलामा ११ वटा कोठा छन्। यही तलामा दुइटा हल पनि छन्। एउटा हल सय जना अटाउने क्षमताको छ जसको नाम रूबी राखिएको छ। अर्को सिम्रिक नामक हलमा ६ सय जना अटाउने क्षमता छ।
दोस्रो तलामा १० वटा, तेस्रो तलामा ११ वटा र चौथो तलामा सात वटा कोठा छन्। तेस्रो तलामा फिटनेस, साउना, स्क्वायर एलिट लाउन्ज र बार पनि छन्।
चौथो तलामा 'पेब्बलस' रेस्टुरेन्ट छ। रूफटप यो रेस्टुरेन्टबाट स्वयम्भू, धरहराका साथै सहरका दृश्य देखिन्छ। यही तलामा एउटा स्वीमिङ पुल पनि छ। यो रेस्टुरेन्टमा एक पटकमा करिब डेढ सय जना बसेर खान मिल्छ।
स्क्वायरले नेपाली खानालाई प्राथमिकता दिएको रोमी बताउँछिन्। मेनुमा नेपाली मौलिक खानेकुराका परिकार समावेश छन्। स्पेसल नेपाली थालीसँगै इन्डियन, कन्टिनेन्टल, थाई, चाइनिज, इटालियन खाना पाइन्छ। विभिन्न देशमा अनुभव हासिल गरेका सेफले यी परिकार तयार गर्ने उनले बताइन्।
स्क्वायरले जनवरीदेखि सेवा सुरू गरेको हो। हाल ८० जना कर्मचारी छन्।
रोमीका अनुसार अहिले होटलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले कार्यक्रम गरिरहेका छन्। विदेशी पर्यटक भित्र्याउन ट्राभल एजेन्सीहरूसँग सहकार्य सुरू भएको छ।
यो होटल रोमीको परिवारिक लगानीको हो। उनको हस्पिटालिटी यात्रा यसैबाट सुरू भएको हो। उनका श्रीमान श्रीलदीप देवकोटाले स्क्वायरको अवधारणा ल्याएका हुन्। उनी सिभिल इन्जिनियर हुन्।
'यो परिवारको पुरानो सम्पत्ति हो। कसरी उपयोग गर्ने भन्ने सोचमा थिएँ,' श्रीलदीपले भने, 'मुख्य ठाउँमा भएकाले यसलाई होटल बनाएर एक नम्बर बनाउने सोचले अघि बढ्यौं।'
अत्याधुनिक सुविधायुक्त र खास विशेषता भएको होटल बनाउने उनको सोच धेरै पहिल्यैदेखिको हो।
'केही खास डिजाइनको होटल बनाउने भएपछि नाम पनि फरक चाहिने नै भयो। स्क्वायर भनेको आसपासका मानिसहरू जम्मा हुने चोक हो,' रोमीले भनिन्, 'चोक भनेको मिटिङ गर्ने ठाउँ पनि हो। यही आधारमा हामीले स्क्वायरको कन्सेप्ट तयार गर्यौं।'
२०१९ अक्टोबरमा निर्माण सुरू भएको थियो तर कोरोनाले काममा असर पुर्यायो। यही बेला होटल उच्च प्रविधियुक्त बनाउने सोच विकास भएको हो। कोरोनापछि खानेकुराको मेनु र भुक्तानी समेत डिजिटल भयो। रोमीका अनुसार कोरोनाले सामाजिक दुरी कायम गराउँदै गर्दा स्क्वायर होटलले 'टच फ्री' अवधारणा ल्यायो।
'होटलमा अत्याधुनिक प्रविधि भित्र्याएकै कोभिडले हो,' उनले भनिन्, 'कोभिड फैलिँदै गर्दा केही पनि छुन नपाए हुन्थ्यो, छोइहाले साबुनपानीले हात धोइहाल्नुपर्छ भन्ने भइसकेको थियो। त्यही परिस्थितिको उपज हो स्क्वायर होटल।'
यो होटल तीन वर्षमा निर्माण सम्पन्न भएको हो।
अहिले उनीहरू स्वदेशीसँगै विदेशी पर्यटक ल्याउने प्रयासमा छन्। रोमी–श्रीलदीप दम्पतीले नेपालमा पर्यटन र हस्पिटालिटीको राम्रो सम्भावना देखेको छ। सेवासुविधा बढाउँदै र परिष्कृत गर्दै धेरै विदेशी पर्यटक भित्र्याउन सकिने श्रीलदीपको विश्वास छ।
उनीहरू भन्छन्, 'हामी सधैं एकै लयमा हिँडिरह्यौं। अब केही नयाँ गर्न सक्नुपर्छ। नयाँपनबाट पर्यटकको संख्या बढाउनुपर्छ। यसरी नै नेपाल र नेपालीको समृद्धि सम्भव छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी