विक्रम बादे सानै छँदा मुखले हावा भरेर बलुन फुलाउँथे र खेल्थे।
भक्तपुर, ठिमीका स्थायी बासिन्दा उनले एक दिन आकाशमा बलुन उडेको देखे।
उनलाई बलुन सानो र हातले खेल्ने मात्र हुन्छ भन्ने लाग्थ्यो। आकाशमा उडेको त्यो विशाल बलुन देखेर तीन छक खाएका थिए।
बलुन अवतरण हुने बेलामा उनी ठिमीको धानबारीबाट दगुर्दै पुग्थे। झन् बलुनबाट मान्छे निस्केको देखेर चकितै हुन्थे।
'बलुन ल्यान्ड गर्ने समय र म स्कुल जाने समय एउटै हुन्थ्यो। म झोला बोकेर दगुर्दै हेर्न पुग्थेँ,' ती दिनहरू आज पनि विक्रमको स्मरणमा ताजै छन्।
सनराइज कम्पनीले उडाएको त्यो बलुन कीर्तिपुरबाट उडेर ठिमीमा अवतरण हुन्थ्यो। करिब २८ वर्षअघिको त्यो उडान आकाशमा ठाउँ नपुगेर ६ महिनामै बन्द भयो।
विक्रमको मन भने त्यही बलुनसँग उडिरहेको थियो। हुर्किँदै, पढाइमा व्यस्त हुँदै गएपछि सम्झना मात्र रह्यो। व्यवस्थापन विषयका विद्यार्थी उनी एकपटक भारत भ्रमणमा गएका थिए। त्यो भ्रमणमा उनले हट-एयर बलुन उडिरहेको देखे।
'मेरो बाल्यकालमा काठमाडौंमा उडेको बलुन सम्झेँ,' उनले भने, 'कुनै दिन म पनि यसरी नै बलुन उडाउँछु भन्ने लाग्यो।'
यसपछि उनले हट-एयर बलुन उडाउने व्यवसायी बन्ने सपना देखे। यसको सम्भावना कति छ भनेर खोजी गर्न थाले।
यही सिलसिलामा २०७१ सालमा उनी एक साथीसँग सिलिगुढी पुगे। ती साथी सिलिगुढीकै थिए। त्यहाँ हट एयर बेलुनबारे जानकारी लिन साथीको मद्दतमा 'माउन्टेनियरिङ एसोसिएसन इन्डिया' एक अधिकारीलाई भेटे। बेलुनमा उडेर अनुभव गरे।
विक्रम निकै ठूलो उत्साह साथ घर फर्के। आमाबाबुलाई हट-एयर बलुन उडाउन चाहेको बताए। सकारात्मक प्रतिक्रिया आएन।
'सुरूमा त मेरो कुरा सुन्नासाथ आमाबाबुले हुँदैन भन्नुभयो,' उनले भने, 'त्यस्तो बलुन उडाउने सपना देखेर हुँदैन। हामी गर्न सक्दैनौं। अरू नै व्यवसाय गर्नुपर्छ भन्नुभयो।'
उनले नजिकका साथीहरूसँग सल्लाह गरे। इन्टरनेटमा बलुनबारे खोजी गरे। फेरि भारतको गोवा गएर समुद्री किनारमा बलुन अवलोकन गरे। पाइलटसँग कुरा गरे।
यतिले पनि पुगेन। फेरि दिल्ली पुगे। त्यहाँ उनका एक साथी ट्राभल एजेन्सीमा थिए। साथीको सहयोगमा उनले दिल्लीका विभिन्न ठाउँ गए र बलुनमा उडे। यसबारे प्राविधिक जानकारी लिए। यो जानकारीले उनी निकै उत्साहित भए।
'हेर्ने र त्यसको प्रविधि बुझ्ने क्रममा धेरै ठाउँमा बलुनमा उडेर अनुभव लिएँ,' उनले भने।
त्यसपछि उनी आफ्नो योजनामा पक्का भए। २०७३ सालमा 'बलुन नेपाल' नामक कम्पनी दर्ता गराए।
'नगरकोटको डाँडामा बलुन उडाउने चाहन्थेँ। तर हवाई रूट पर्छ भनेर अनुमति पाइनँ,' उनले भने।
ठाउँ खोज्न उनी निकै भौंतारिए। हवाई रूट नपर्ने मार्खु, टोखा लगायत ठाउँमा जान सुझाव पाए। उपयुक्त गन्तव्यको खोजीमै एक वर्ष बित्यो। एक साथीले सौराहा वा पोखरा जस्ता पर्यटकीय गन्तव्य रोज्न सल्लाह दिए। विक्रम पोखरा गए।एक महिना पोखरा बसेर विभिन्न ठाउँहरूबारे बुझे। हवाई रूट नपर्ने र हिमशृंखला देखिने धम्पुस र ल्वाङघलेल पुगे।
अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यले उनको मन तान्यो। उनलाई धम्पुस सबभन्दा बढी उपयुक्त लाग्यो। प्रक्रिया अघि बढाए।
'पोखरा विमानस्थलले धम्पुसमा बलुन उडाउन सम्भव छ भनेर काठमाडौं विमानस्थललाई पत्र पठाइदियो,' उनले भने, 'अनुमति पाउने भएपछि धम्पुसमा बलुन उडाउन सम्भाव्यता अध्ययन भयो।'
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २०७४ कात्तिकमा हट एयर बलुन उडानको लाइन्सेन्स प्राप्त गरे। चीनको गोन्जाओबाट १६ लाख रूपैयाँमा एउटा बलुन ल्याए। भारतीय पाइलट झिकाए।
२०७५ सालमा पहिलोपटक धम्पुसबाट आफैं उडेर परीक्षण उडान गरे। त्यो उडानसँगै विक्रमको मन खुसीले उड्यो। आफ्नो संघर्षले सफलता पाएको अनुभव गरेर दंग भए।
यसपछि उनी 'एयर अपरेटर सर्टिफिकेट (ओसी)' को प्रक्रियामा अघि बढे। तर चिनियाँ बलुन उडाउने अनुमति पाएनन्।
'नेपालमा युरोपियन एभिएसन स्ट्यान्डर्डले स्वीकृत गरेको बलुन मात्र उडाउन पाइँदो रहेछ। कुरै नबुझी चीनबाट ल्याएर दुःख पाएँ। त्यो बलुन कोठातिर थन्क्याएर अर्को बलुनको खोजीमा लागेँ,' उनले भने।
घरबाट पाएको पैसा चिनियाँ बलुनमा डुब्यो। थप लगानीका लागि समस्या भयो। तर हार मानेनन्। ऋण खोजेर पनि बेलुन उडाएरै छाड्छु भनेर हिम्मत गरे।
उनले निकटका साथी सविन महर्जनलाई व्यावसायिक सहयात्री बनाए। विक्रम बलुन नेपालका अध्यक्ष हुन् भने सविन मार्केटिङ हेर्छन्।
ऋण–धन गरेर दुई जनाले ६० लाख रूपैयाँ जुटाए। स्पेनको अल्ट्रा म्याजिक कम्पनीबाट बलुन मगाएर अनुमति प्रक्रियामा अघि बढे। तर धम्पुसमा अनुमति पाएनन्।
'धम्पुसको लोकेसन र उडानबाट देखिने दृश्य साह्रै राम्रो थियो। तर उडान र अवतरण एकै ठाउँबाट हुने भएपछि समस्या देखिने भयो। अनुमति पाइएन,' उनले भने।
उनी अर्को उपयुक्त ठाउँ खोज्दै लौरूक पुगे। उडानका लागि लौरूक र अवतरणका लागि पामे उपयुक्त ठहरिए। यसैअनुसार अनुमति पाए।
अनि २०७५ सालको दसैंताका पोखरामा हट एयर बलुन उडान सुरू भयो।
पोखरा बजारबाट अलि टाढा उडान हुने भएकाले यो धेरै मानिसको नजरमा परेन। पोखरा भन्नासाथ लेकसाइडकै सम्झना हुन्छ। अरू साहसिक खेल र गतिविधि सहरबाटै देखिने ठाउँमा छन्। तर बलुन अलि पर भएकाले सुरूमा प्रचार हुन अलि बढी समय लागेको उनले बताए।
'बिस्तारै यात्रु संख्या बढ्दै थियो, कोरोनाले लगभग दुई वर्ष बन्द रह्यो,' उनले भने, 'लकडाउनपछि भने निरन्तर चलिरहेको छ। नेपालमा हट एयर बलुन उडाउने एक मात्र कम्पनी हो हाम्रो।'
अहिले कम्पनीले पोखरामा दुइटा हट एयर बलुन उडाउँदै छ। दैनिक कम्तीमा ४० जना उड्ने गरेका विक्रम बताउँछन्।
बलुन उडाउने पाइलट भियतनामी र अमेरिकी छन्।
'हाम्रा पाइलटसँग विभिन्न मुलुकमा बलुन उडाएको अनुभव छ,' उनी भन्छन्, 'पाइलटसहित पाँच जनाले एउटा बलुन कन्ट्रोल गर्छन्।'
हट एयर बलुनलाई लक्जरियस एड्भेन्चर मानिन्छ।
विक्रमका अनुसार यसमा यात्रुले बलुनभित्र उभिएर ६ हजार फिट उचाइबाट ३६० डिग्रीमा अर्थात् वरिपरिको दृश्य अवलोकन गर्न पाउँछन्। लौरूकबाट बिहान ५ः४० बजे पहिलो उडान सुरू हुन्छ। दिउँसो हावा बढी चल्ने भएकाले उडान हुँदैन। बिहान तीन र बेलुका (मौसम हेरेर) दुई पटक गरी दैनिक पाँच पटकसम्म बलुन यात्रु बोकेर उड्छ।
आधा घन्टाको उडानमा यात्रुले ६ हजार फिट माथिबाट वरपरका हिमशृंखला र पोखरा उपत्यका देख्छन्। उचाइमा पुगेर सूर्योदय र सूर्यास्त हेर्न पाउँछन्।
'यसको विशेषता भनेकै ६ हजार फिटमाथिबाट सूर्योदय हेर्न पाउनु हो,' विक्रम भन्छन्, 'सम्भव भएसम्म बेलुका पनि उडाउँछौं तर मौसममा भर पर्छ।'
बलुनले एकपटकमा ५२० किलोसम्म तौल बोक्छ। तौलअनुसार चार जनादेखि आठ जनासम्म उड्न सक्छन्। उमेरको हद कसिलो छैन, तीनदेखि ८० वर्ष उमेरसम्मका व्यक्ति उड्न पाउँछन्। उडान शुल्क स्वदेशी र विदेशी नागरिकका लागि फरक छ।
नेपालीले नौ हजार पाँच सय, सार्क नागरिकले १३ हजार र विदेशीले १७ हजार रूपैयाँ तिर्नुपर्छ।
साहसिक पर्यटन रूचाउने स्वदेशी र विदेशी दुवै पर्यटक यहाँ आउने विक्रमले बताए। यीमध्ये ९० प्रतिशत हाराहारी विदेशी हुन्छन्।
सिजनमा बुकिङ बढ्दै गएपछि कम्पनीले केही समयअघि एक करोड २० लाख रूपैयाँमा थप दुइटा बलुन ल्याएको छ।
'पोखरामा आएर बलुनमा उड्न चाहनेले पाउनुपर्छ भनेर दुइटा थपेका हौं,' उनले भने।
बलुनमाथिबाट स्काइ-डाइभिङ पनि गराउने तयारी छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति मागेको छ। अमेरिकाबाट पाइलट आइसकेका छन्।
स्काइ डाइभिङका लागि बलुनमा हुने बास्केटमुनि एउटा प्लेट राखिन्छ। बलुन उडेर नौ हजार फिटमाथि पुगेपछि स्काइ डाइभ सुरू हुन्छ।
'नेपालमा सञ्चालित स्काइ डाइभ महँगो छ। हामी सकेसम्म कम लागतमा गराउँछौं,' उनले भने।
सरकारबाट अनुमति पाए सन् २०२४ जनवरीमा स्काइ ड्राइभ सुरू हुनेछ। यसले एड्भेन्चर पर्यटनमा अर्को एक आयाम थप्ने उनको विश्वास छ।
'हामीकहाँ पर्यटनमा अथाह सम्भावना छ। अरू ठाउँमा पनि विस्तार गर्ने योजना छ,' उनले भने।