यसपालि हेलिकप्टर व्यवसाय कोभिड अघिकै लयमा फर्किएको व्यवसायीहरूले बताएका छन्।
सिजनमा विभिन्न हिमाल आरोहण तथा अवलोकनका लागि पर्यटकहरूले हेलिकप्टर चार्टर गर्ने भएकाले यतिबेला हेलिकप्टर कम्पनीलाई उडानमा भ्याइनभ्याइ छ।
कैलाश, एयर डाइनेष्टी, सिम्रिक, हेलि एभरेष्ट, प्रभु र अल्टिच्युड हेलिकप्टरले खुम्बु, मनास्लु, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ, अन्नपूर्ण, मकालु, आमादब्लम लगायतका गन्तव्यहरूमा पर्यटकीय गन्तव्यहरूमा उडान गरिरहेका छन्।
अक्टोबरको सुरूआतदेखि नै हेलिकप्टर चार्टर उडान सुरू भएको कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए। कैलाशसँग हाल तीनवटा हेलिकप्टर उडानमा छन्।
'अक्टोबरदेखि नै पूर्ण क्षमताअनुसार उडान भइरहेको छ,' उनले भने, 'यस्तो उडान कोभिडअघि मात्र थियो। त्यसयता अकुपेन्सी खासै थिएन।'
एउटा हेलिकप्टर दैनिक पाँचदेखि ६ घण्टा उड्न पाउछ। सोहीअनुसार दैनिक चार÷पाँच वटा उडान भइरहेको उनले बताए।
कोभिडपछि यसपालि सिजनमा मासिक एक लाख हारहारीमा पर्यटक भित्रिरहेका छन्। पर्यटकको उत्साहजनक आगमनले हेलिकप्टर व्यवसायमा पनि उत्साह छाएको हेलि एभरेष्टका निर्देशक प्रनिश श्रेष्ठले बताए।
उनकाअनुसार अक्टोबरबाट सुरू भएको सिजनको चार्टर उडान आगामी डिसेम्बर पहिलो सातासम्म बुकिङ नै छ।
'यो अवधिमा पर्यटकको आवतजावत धेरै हुने भएकाले चार्टरका लागि सबैजसो हेलिकप्टरमा पूरा अकुपेन्सी छ,' उनले सेतोपाटीसँग भने, 'बुकिङ हेर्ने हो भने हेलिकप्टर व्यवसाय कोभिडअघिकै लयमा आएको देखिन्छ।'
वर्षमा दुई पटक हुने पर्यटकीय सिजनमा विदेशीहरू हिमाल आरोहण, ट्रेकिङ, एडभेन्चर, टुर एण्ड ट्राभलका लागि आउने गर्छन्। यो सिजन (अक्टोबर, नोभेम्बर र डिसेम्बर)का लागि पर्यटकहरू ट्राभल एजेन्सीमार्फत् हेलिकप्टर कम्पनीसम्म पुग्छन्।
दुबै सिजनमा पर्यटकहरू फरक हिमाल चढ्न आउने भएकाले एउटै मात्र गन्तव्य पर्यटकको रोजाइमा पर्दैन। यद्यपी सगरमाथा आधार शिविर तथा खुम्बु क्षेत्र भने पर्यटकहरूले दुबै सिजनमा रूचाउँछन्।
हेलि एभरेष्टसँग हाल दुइटा हेलिकप्टर उडानमा छन्। अर्को सिजनबाट उडान थाल्ने गरी दुईवटा हेलि थप्ने तयारी गरिरहेको छ।
'क्षमताअनुसार फुलफेजमा उडान भइरहेको छ। यो क्रम अझै डेढ महिनासम्म रहिरहन्छ,' उनले थप भने, 'अकुपेन्सी राम्रो भएसँगै अर्को सिजनका लागि दुइटा हेलिकप्टर थप्दै छौं।'
कोरोनाअघि हेलिकप्टरमा घुम्नेहरू विदेशी पर्यटक मात्र हुन्थे। कोरोनाअघिसम्म नेपालीहरूले बिरामी पर्दा र उद्दारका लागि मात्र हेलिकप्टर चार्टर गर्थे।
वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीका अनुसार कोरोनापछि नेपालीहरू पनि चार्टर गरेर घुम्न जान थालेका छन्।
'कोरोनाले नेपालीहरूमा हेलिकप्टरमा घुम्न जाने ट्रेन्ड बनाइदियो। यो बढ्दै पनि छ' संघका महासचिव कार्की भन्छन्, 'नेपालीहरू धार्मिक गन्तव्यहरूमा चार्टर उडानमार्फत् जान थालेका छन्।'
उनकाअनुसार यसरी नेपालीहरू हेलिकप्टरमा सबैभन्दा धेरै पुग्ने धार्मिक गन्तव्यमा हो।
गोसाइँकुण्ड, पाथीभारा, मुक्तिनाथलगायत उच्च भेगमा रहेका धार्मिक गन्तव्य आन्तरिक पर्यटकको रोजाइमा परेका छन्। यस्ता गन्तव्यमा स–परिवार जान मिल्ने भएकाले पछिल्लो समय दर्शनयात्रामा हेलिकप्टर चार्टर रूचाइएको उनी बताउँछन्।
नेपालीहरूले उद्दार, खाद्यान्न तथा स्वास्थ्य सामग्री ओसारपसारका लागि प्रयोग गरिरहेको हेलिकप्टर पर्यटनका पनि प्रयोग हुन थालेपछि यो उद्योग सुधारोन्मुख भएको कार्कीले बताए।
हेलिकप्टर उडानको वर्षमा दुई मुख्य सिजन हुन्छ। पहिलो सिजन दुई महिना हुन्ः अप्रिल र मे। दोस्रो सिजन तीन महिनाः अक्टोबर, नोभेम्बर र डिसेम्बरको पहिलो सातासम्म। यो समयमा विभिन्न रूटमा पदयात्रा र पवर्तारोहणका लागि जाने पर्यटक बढ्छन्, हेलिकप्टर उडानमा पनि चाप हुन्छ।
हेलिकप्टर कम्पनीहरूले नेपालीहरूका लागि काठमाडौंदेखि विभिन्न ३४ वटा गन्तव्यका लागि भाडादर तय गरेको छ।
यसअघि असोज १४ गतेदेखि लागू हुने गरी तयार भएको भाडादर अनुसार काठमाडौं–गोसाइकुण्ड–काठमाडौं चार्टर एक लाख ४० हजार रूपैयाँ रहेको छ। त्यस्तै काठमाडौं–मुक्तिनाथ–काठमाडौं चार लाख ७५ हजार रूपैयाँ, काठमाडौं–जोमसोम–काठमाडौं चार लाख रूपैयाँ रहेको छ।
त्यस्तै, काठमाडौं–रारा–काठमाडौं चार्टरका लागि नौ लाख रूपैयाँ रहेको छ।
हिमालहरू हेर्न हेलिकप्टरको माउन्टेन फ्लाइट पनि उपलब्ध छ। काठमाडौं–माउन्टेन–काठमाडौं चार्टर उडानका लागि चार हजारदेखि चार हजार पाँच सय डलर पर्छ।
हेलिकप्टर चार्टर गरेर कहाँ जान कति लाग्छ भाडा?
हेलिकप्टर कम्पनीहरूले भाडादर डलर मूल्यमा निर्धारण गर्छन्। अमेरिकी डलरको आज (सोमबार) को विनिमय दरअनुसार यस्तो छ भाडादर:
काठमाडौं–लुक्ला–काठमाडौं: तीन लाख ५६ हजारदेखि तीन लाख ८२ हजार रूपैयाँ।
काठमाडौं–फाकदिङ–काठमाडौं: तीन लाख ६९ हजारदेखि तीन लाख ९६ हजार रूपैयाँ।
काठमाडौं–अन्नपूर्ण–दिङबोचे: चार लाख ३५ हजार रूपैयाँ।
काठमाडौं–लोबुचे–लुक्ला: चार लाख ६२ हजार रूपैयाँ।
काठमाडौं–मकालु आधार शिविर–काठमाडौं: ६ लाख ७ हजार रूपैयाँ।
काठमाडौं–कञ्चनजंघा आधार शिविर–काठमाडौं: सात लाख ९२ हजार रूपैयाँ।
काठमाडौं–मनास्लु आधार शिविर–काठमाडौं: तीन लाख ९६ हजार रूपैयाँ।
काठमाडौं–हिमलुङ्ग आधार शिविर–काठमाडौं: पाँच लाख २८ हजार रूपैयाँ।
काठमाडौं– तिलिचो–काठमाडौं: पाँच लाख २८ हजार रूपैयाँ।
काठमाडौं–मुक्तिनाथ–काठमाडौं: पाँच लाख एक हजार रूपैयाँ।
काठमाडौं–जोमसोम–काठमाडौं: चार लाख ७५ हजार रूपैयाँ।
काठमाडौं–गोसाइकुण्ड–काठमाडौं: एक लाख ७१ हजार रूपैयाँ।