हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हो। साताको एक दिन मात्र हिँड्दा पनि मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ हुन मद्दत गर्छ।
काठमाडौं उपत्यकाबाट हाइकिङका लागि हरेक याममा उपयुक्त हुने ठाउँ छन्। वनजंगल, चराचुरूंगी तथा वनस्पति प्रेमीहरूका लागि यी हाइकिङ ट्रेलहरू विशेष नै मानिन्छन्।
अहिलेको मौसम पनि हाइकिङका लागि उपयुक्त छ। हामीले पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेर केही ठाउँहरू यहाँ सुझाएका छौं।
सिम्बा फल
सिम्बा फल अर्थात् सिम्बा झरना। खोला, जंगल र झरनामा रमाउनेहरूका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ।
सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा रहेको महांकाल गाउँपालिका वडा नम्बर १ बुखेलको खावा भञ्ज्याङ र वडा नम्बर २ को रिगिन खोलामा पर्छ।
यो झरनामा प्रायः शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ। सिम्बा फल काठमाडौंबाट एक दिनमा नै पुगेर फर्कन सकिन्छ।
ललितपुरको सातदोबाटोबाट चापागाउँ, लेले, भारदेव, चौघरे, गोटिखेल हुँदै मानिखेल पुगिन्छ। मानिखेलबाट पुगेपछि रिगिन दोभान हुँदै हिँडेर करिब एक घन्टाभन्दा कम समयमै झरना पुगिन्छ।
फूलचोकी
ललितपुरमा रहेको फूलचोकी अर्को लोकप्रिय हाइकिङ गन्तव्य हो। काठमाडौं उपत्यकाबाट प्राय: शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन फुलचोकी हाइकिङ जानेहरू धेरै हुन्छन्। यहाँ जाडो मौसममा हिउँ पर्ने हुँदा काठमाडौं सहरवासीको रोजाइमा पर्ने हाइकिङ गन्तव्यभन्दा फरक पर्दैन।
सातदोबाटोबाट करिब २१ किलोमिटरमा फूलचोकी पुगिन्छ। यहाँसम्म सवारी वा पैदलयात्रा हुँदै जान सकिन्छ। गोदावरी राष्ट्रिय उद्यान नजिकैबाट करिब तीन घन्टाको उकालो हिँड्नुपर्छ।
सुन्दर हिमालय शृंखला र पहाडी दृश्य अवलोकन गर्न सकिन्छ। फूलचोकीबाट अन्नपूर्ण तथा गौरीशंकर हिमाल देखिन्छ।
बेथानचोक
धुलिखेलबाट २५ किलोमिटर र काठमाडौंबाट ५५ किलोमिटर टाढा काभ्रेको दक्षिणी भागमा रहेको बेथानचोक हाइकिङका लागि लोकप्रिय बनेको छ।
काठमाडौंबाट सिधा बस वा काभ्रेबाट लोकल बसबाट ढुङ्खर्क पुग्नुपर्ने हुन्छ। ढुङ्खर्कदेखि बेथानचोक, नारायणथान पहाडको टुप्पोसम्मको करिब चार/पाँच घन्टाको यात्रा हुन्छ।
यो गन्तव्य एक दिनमै पुगेर फर्किन सकिन्छ। सूर्योदय र सूर्यास्तका लागि पनि यो ठाउँ रमाइलो छ। यहाँ जाडोमा हिउँ पनि पर्छ।
बल्थली
काभ्रेमा रहेको बल्थली पनि हाइकिङका लागि उपयुक्त गन्तव्यमा पर्छ। हाइकिङका क्रममा तामाङ, नेवार, बाहुन, क्षेत्री लगायत बस्ती भेट्न सकिन्छ। मौसमको अनुकूलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि सगरमाथा लगायत हिमशृंखला देख्न सकिन्छ।
काठमाडौंबाट ३९ किलोमिटरको दुरीमा रहेको बल्थली पुग्न खोपासीबाट कच्ची सडकमा जानुपर्छ। खोपासीबाट १ घन्टा पैदल यात्रा हुन्छ। मनोरम दृश्य नियाल्दै साढे ३ किलोमिटरको यात्राबाट बल्थली पुगिन्छ।
चिसापानी
चिसापानी अर्थात् चिसो पानी। यो पदयात्रा काठमाडौं उपत्यका नजिकैको पदमार्ग हो। हिमालय शृंखला हेर्न र प्रकृतिको आनन्द लिन छोटो पदयात्रामध्ये पर्छ।
काठमाडौं पुरानो बसपार्क हुँदै सुन्दरीजल पुग्न सकिन्छ। सुन्दरीजलबाट उकालै उकालो शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ लाग्नुपर्छ। शान्त जंगलसम्मको उकालो पैदल यात्रामा चराको चिरबिर आवाजले आनन्दित बनाउँछ। स्थानीय मानिसहरूको जीवनशैली, संस्कृति र परम्पराहरू अवलोकन गर्न पाइन्छ।
चिसापानी हाइकिङ कति समय लाग्छ भन्ने कुरा पदयात्रीको रोजाइमा भर पर्छ। सामान्यतया ५ घन्टामा पुग्न सकिन्छ।
दुई दिनको यात्रा पनि गर्न सकिन्छ। पहिलो दिन काठमाडौंदेखि चिसापानी। दोस्रो दिन चिसापानीबाट नगरकोट हुँदै काठमाडौं।
एक रातको बसाइपछि भोलिपल्टको सूर्योदय अवलोकन गर्नु यहाँको अर्को आकर्षण हो। चिसापानी र नगरकोट दुवै लाङटाङ हिमाल चुचुरो हेर्ने उत्कृष्ट ठाउँ हुन्। यसबाहेक गणेश, लाङटाङ लिरुङ, गौरीशंकर, दोर्जे लाक्पा, जुगल लगायत हिमाल देखिन्छ।
शिवपुरी
काठमाडौं उपत्यकाबाट नजिकै भएकाले शिवपुरीमा प्रायः शनिबार भिड नै हुन्छ।
शिवपुरी डाँडामा पुग्ने तीनवटा बाटा छन्। बुढानीलकण्ठबाट चेकपोस्ट र नागी मठ हुँदै जाने मार्ग धेरै चल्तीमा छ। यात्रामा बुढानीलकण्ठ मन्दिरका साथै बौद्ध नागी गुम्बा पनि देखिन्छ।
अर्को रूट बुढानीलकण्ठबाट चेकपोस्ट भएर सिधै शिवपुरी पुग्ने हो। यो रूटमा उकालो सिँढी चढ्नुपर्छ। यो बाटो अघिल्लोभन्दा केही छोटो छ।
त्यस्तै तेस्रो रूट बुढानीलकण्ठबाट डाँडागाउँ, भञ्ज्याङ हुँदै शिवपुरी पुग्ने हो। यो रूट भने पहिले राजमार्गका रूपमा प्रयोग हुँदै आएको थियो। नयाँ राजमार्ग बनाएपछि यहाँबाट भञ्ज्याङसम्म पैदल यात्रा गर्न सकिने भएको हो। भञ्ज्याङबाट हिमाल देख्न सकिन्छ।
जंगलमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमशृंखला देख्न सकिन्छ। चराचुरूंगी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे जान्न पनि शिवपुरी हाइकिङ उपयुक्त मानिन्छ।
चम्पादेवी
चम्पादेवीको हाइकिङ पछिल्लो समय युवाहरूमाझ निकै लोकप्रिय छ। उपत्यकाको दक्षिण–पश्चिममा रहेको चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सिमाना हो।
चोभारको टौदहबाट हाइकिङ सुरू गरेर दक्षिणकाली मन्दिर हुँदै नजिकको पुरानो नेवारबस्ती फर्पिङ हेर्दै पुग्न सकिन्छ। चम्पादेवी जान अन्य पदमार्ग पनि छन्। भञ्ज्याङ हुँदै सार्वजनिक यातायात प्रयोग गर्दा पनि हुन्छ। भञ्ज्याङबाट हात्तीवन रिसोर्टसम्म पुगिन्छ।
रिसोर्टबाट हरियाली जंगल हुँदै चम्पादेवी पहाडको चुचुरोमा पुग्न सकिन्छ। यो पदयात्रा वैकल्पिक रूपमा फर्पिङ गाउँबाट पनि सुरू गर्न सकिन्छ।
चम्पादेवी जाने अर्को रूट कीर्तिपुरको मच्छेगाउँबाट पनि छ।
चन्द्रगिरि
कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरू गरेर छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ। चन्द्रागिरिको डाँडा निस्किने अर्को बाटो थानकोटको गोदामचौरबाट पनि छ। काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म गाडीमा जान सकिन्छ।
गोदामबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै भालेश्वर पुगिन्छ। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा गर्न सकिन्छ। यो पदयात्रा दुरी जम्मा १६ किलोमिटरको छ। मन्दिर वरिपरि रेस्टुरेन्ट र भ्युटावरसँगै पार्कहरू छन्। भ्युटावरबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धौलागिरि हिमालसम्मको वरिपरिको दृश्य देख्न सकिन्छ।
चन्द्रागिरिबाट सगरमाथा, मकालु, कञ्चनजंघा, मनास्लु लगायत हिमाल देखिन्छ। चन्द्रगिरिमा भालेश्वर महादेव रहेकाले पदयात्रापछि दर्शनका लागि पनि जानेहरू पनि हुन्छन्। दर्शनका लागि केबलकारबाट यात्रा गर्न सकिन्छ।
मणिचुड
मणिचुड हाइकिङ युवापुस्ता माझ लोकप्रिय छ। यहाँको मुख्य आकर्षण दह हो। काठमाडौंबाट मणिचुड हाइकिङका दुइटा रूट छन्।
साँखुबाट बज्रबाहिनी मन्दिर र त्यहाँबाट सहिदपार्क हुँदै मणिचुड पुगिन्छ।
अर्को रूट चाबहिलबाट थली, इन्द्रायणी चोक हुँदै गागलफेदी बजारबाट सुरू हुन्छ। गागलफेदी बजार हुँदै यात्रापछि मणिचुड पुग्न सकिन्छ।
साँखु वा गागलफेदी जुन रूटबाट पनि जान सकिन्छ।
मणिचुडबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वयम्भू डाँडा, मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य र महामञ्जुश्रीको डाँडा देख्न सकिन्छ।
हाइकिङ जाँदा पकाउन नपर्ने तयारी खानेकुराहरू र पर्याप्त पानी बोक्नुपर्छ। ह्याट वा क्याप, चस्मा, हिँड्न सजिलो हुने जुत्ता लाउनु उपयुक्त हुन्छ। मौसमअनुसारको ज्याकेट बोक्न पनि भुल्नु हुँदैन।