चार, पाँच वा ६ दिन समय मिलाउन सकिन्छ र ट्रेकिङ जान खोजिरहनुभएको छ?
छ भने कहाँ जाने भन्ने भएको होला।
तपाईंहरूलाई सहज होस् भनेर हामीले विभिन्न पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेर पाँच दिनको ट्रेकिङका लागि १० उपयुक्त ठाउँहरू यहाँ उल्लेख गरेका छौं।
खुमै डाँडा
खुमै डाँडा पछिल्लो समय धेरैले रूचाएको ट्रेकिङ गन्तव्य हो। नयाँ ट्रेकिङ ट्रेलका रूपमा चिनिएको खुमै डाँडा अहिलेको सिजनका लागि उपयुक्त मानिन्छ।
कास्कीमा रहेको खुमै डाँडा विशेषगरी हिमशृंखलाहरू मन पराउनेका लागि निकै राम्रो छ। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण र मर्दी हिमाल देखिन्छ। कोरचनबाट सूर्योदय र सूर्यास्त हेर्न पनि यो ठाउँ उपयुक्त मानिन्छ।
सामान्यतया यो गन्तव्यका लागि चारदेखि पाँच दिन छुट्याए पुग्छ।
पहिलो दिन काठमाडौं-पोखरा गाडी वा विमानमार्फत जान सकिन्छ।
दोस्रो दिन घाचोकदेखि सारिपाखासम्म सवारीमा र टुबु क्याम्पिङदेखि पदयात्रामार्फत हिले खर्का हुँदै गोथ चिमलेसम्म पुगिन्छ।
तेस्रो दिन खुमै डाँडा भ्यू-प्वाइन्ट पुगिन्छ। त्यहाँको दृश्य अवलोकनपछि सोही दिन घाचोकसम्म फर्किन मिल्छ।
चौथो दिन घाचोकदेखि पोखरासम्म र पाँचौं दिन पोखराबाट काठमाडौं फर्किन सकिन्छ।
कोरी ट्रेक
छोटो पदयात्राका लागि रूचाइएको ट्रेकमध्ये कोरी डाँडा ट्रेक पनि पर्छ। यो पदमार्गलाई सिक्लेस पदमार्ग समेत भनिन्छ। पोखरादेखि ४७ किलोमिटर पर रहेको सिक्लेस गुरूङहरूको सुन्दर गाउँ हो। घुमघामका लागि निकै रूचाइएको सिक्लेसबाट कोरी ट्रेक धेरैको रोजाइमा पर्न थालेको छ।
अन्नपूर्ण क्षेत्रमा रहेको यो ट्रेक पोखराबाट सुरू हुन्छ र सोही ठाउँमा टुंगिन्छ। लमजुङ, अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई आँखै अगाडि देख्न सकिन्छ। यस यात्राका क्रममा कम उचाइमा रहेको कपुचे ग्लेसियर ताल पनि हेर्न पाइन्छ।
पहिलो दिन काठमाडौंदेखि पोखरा र सिक्लेससम्म जानुपर्छ।
दोस्रो दिन हुगु गोठदेखि कपुचे तालसम्म पुगिन्छ। ताल अवलोकनपछि फेरि हुगु गोठमा आएर बास बस्न सकिन्छ।
तेस्रो दिन हुगु गोठदेखि नोहथासम्म, चौथो दिन नोहथादेखि कोरी डाँडासम्म, पाचौं दिन कोरीडाँडादेखि सिक्लेसम्म र छैटौं दिन सिक्लेसबाट पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ।
खोप्रा ट्रेक
कास्की र म्याग्दी जिल्लाको सिमानामा रहेको खोप्रा डाँडा ट्रेकिङका लागि उपयुक्त गन्तव्य हो। विशेषगरी धौलागिरि, अन्नपूर्ण, निलगिरि, टुकुचे लगायत हिमशृंखला हेर्न पाइने हुँदा खोप्रामा आजभोलि आन्तरिक पर्यटकको घुँइचो देखिन्छ। काठमाडौंदेखि जाने हो भने ६ दिनमा यो ट्रेकिङ सकिन्छ।
पहिलो दिन काठमाडौंबाट पोखरा नयाँ पुल हुँदै स्याउली बजार र किम्चेसम्म गाडीमा जान सकिन्छ। सोही दिन पदमार्गमार्फत घान्द्रुक पुगिन्छ।
दोस्रो दिन घान्द्रुकदेखि बयेली खर्क र तेस्रो दिन बयेली खर्कदेखि खोप्रा डाँडा पुगिन्छ। भोलिपल्ट खोप्रा डाँडादेखि स्वान्ता, पाचौं दिन स्वान्तादेखि घोरेपानीसम्म र छैटौ दिन घोरेपानीबाट पोखरा हुँदै काठमाडौं फर्किन सकिन्छ।
पिके पिक ट्रेक
पिके पिक ट्रेक पनि पछिल्लो समय चर्चामा आएको पदयात्रा रूट हो भन्दा फरक पर्दैन। यसलाई नयाँ तर सुन्दर पदयात्रा मार्ग मानिन्छ। सगरमाथा क्षेत्रका सबै हिमाल हेर्न सकिने भएकाले यसलाई तल्लो सगरमाथा पदयात्रा पनि भनिन्छ।
यो पदमार्गमा पदयात्रीहरूले जति दिनको यात्रा गर्न पनि सक्छन्। तर कम्तीमा ५ दिनमा पनि ट्रेकिङ भ्याउन सकिन्छ। पिके चुचुरोबाट मकालु हिमाल, कञ्चनजंघा, आमा दब्लम, ल्होत्से, नुप्तसे, नुम्बुर, गौरीशंकर, लाङटाङ र सुदूरपश्चिमतर्फ धौलागिरि जस्ता अग्ला हिमालको दृश्य पनि लिन सकिन्छ।
पिके पिक ट्रेकका लागि काठमाडौंदेखि पहिलो दिनको यात्रा सुरू हुन्छ। काठमाडौंबाट पातले डाँडा पुगिन्छ।
दोस्रो दिन पातले डाँडाबाट जाप्रेसम्म पुगिन्छ।
तेस्रो दिन जाप्रेदेखि पिके आधार शिविरसम्म पुगिन्छ।
चौथो दिन पिके आधार शिविरबाट फाप्लुसम्म पुगिन्छ र पाँचौं दिन फाप्लुबाट काठमाडौं फर्किन सकिन्छ।
गाउँका बस्ती नियाल्दै स्थानीय कला र संस्कृतिसँग घुलमिल हुँदै यो यात्रा सकिन्छ। यो यात्राका क्रममा स्थानीय अर्गानिक खानासँगै चियाघरमा बस्न पाइन्छ। विशेषगरी शेर्पा जाति, गुम्बाहरूको भव्य दृश्य हेर्दा हिमालयको मनोरम दृश्यको आनन्द लिन सकिन्छ। त्यस्तै तल्लो खुम्बु क्षेत्रका विभिन्न प्राचीन र सुन्दर गुम्बाहरूको भ्रमण गर्न सकिन्छ। सगरमाथाको अन्य पदयात्रा रूटको तुलनामा पिके चुचुरो रूटको लोकप्रियता बढ्दै गएको छ।
घोरेपानी, पुनहिल
नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट गन्तव्यमध्ये मानिन्छ। आफ्नो समयअनुसार ट्रेक लम्ब्याउन वा छोट्याउन सकिन्छ।
काठमाडौंदेखि पोखरासम्म पहिलो दिनको यात्रा हुनेछ।
दोस्रो दिन पोखराबाट डेढ घन्टा यात्रापछि नयाँपुलबाट पुनहिल पदयात्रा सुरू हुन्छ। उल्लेरी, घोरेपानी र घान्द्रुकका सुन्दर गाउँहरू हेर्दै पदयात्रा गर्न सकिन्छ।
तिखेढुंगामा पुगेर बसेपछि तेस्रो दिन घोरेपानी पुगिन्छ।
घोरेपानीबाट बिहानीको सूर्योदय अवलोकन गर्न पाइन्छ। साथमा यस पदयात्राबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, लमजुङ, बाराशिखर, निलगिरि, टुकुचे चुचुरो, हिउँचुली र मनास्लु हिमाल अवलोकन गर्न सकिन्छ।
यी हिमशृंखला अवलोकनसँगै सोही दिन फर्किएर टाडापानी आइपुगिन्छ।
पाँचौं दिन टाडापानीबाट घान्द्रुक हुँदै पोखरा र काठमाडौं फर्किन सकिन्छ।
गोसाइँकुण्ड
धार्मिक तीर्थस्थल गोसाइँकुण्ड पनि ट्रेकिङका लागि राम्रो रूट हो। लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइँकुण्ड ताल समुद्री सतहबाट ४३८० मिटरको उचाइमा छ। रसुवाको यस ताल हिमाली दृश्यले घेरिएकाले पदयात्रा गर्दा छुट्टै रमाइलो हुन्छ।
पहिलो दिन काठमाडौंबाट धुन्चे गई बास बस्न सकिन्छ।
दोस्रो दिन धुन्चेबाट पदयात्रा सुरू हुन्छ। त्यहाँबाट ठूलो चन्दनबारीसम्म जाने।
तेस्रो दिन चन्दनबारीबाट करिब ६ घन्टा हिँडेपछि गोसाइँकुण्ड पुगिन्छ। चौथो दिन गोसाइँकुण्डबाट ट्रेक गर्दै धुन्चेमा आएर बस्ने र पाँचौं दिन काठमाडौं फर्किन सकिनेछ।
विशेषगरी गोसाइँकुण्ड पदयात्राले हिमालयको दृश्य, ताल, राष्ट्रिय निकुञ्ज मनोरञ्जन दिनेछ। लाङटाङ, लिरुङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश हिमाल, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू गोसाइँकुण्ड घुम्दै गर्दा पदयात्रीहरूले हेर्न सक्छन्।
पाँच पोखरी
सिन्धुपाल्चोकमा रहेको पाँच पोखरीमा पछिल्लो समय पदयात्राका लागि जानेहरू बढेका छन्। काठमाडौं पाँच पोखरी जान ५ दिन छुट्याए पुग्छ। पाँच पोखरी ट्रेकिङका लागि अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर विशेष हुन्।
नेवार, ब्राह्मण, क्षेत्री र गुरूङ बस्तीहरू पार गर्दै यो गन्तव्य पुगिन्छ। गाउँका बस्ती, जंगल, पहाड, हिमनदी, हिमाल, खोला लगायतका कुरा अवलोकन गर्न पाइन्छ। यस बीचमा त्यहाँका स्थानीय कला संस्कृतिमा भुल्दै अर्गानिक खानेकुराको स्वाद लिन पाइन्छ।
पाँच पोखरी ट्रेकिङमा गौरीशंकर, दोर्जे लाक्पा, जुगल र रोल्वालिङ हिमालय शृंखला हेर्न पाइन्छ।
पाँचपोखरी दुइटा बाटो भएर पुग्न सकिन्छ। एउटा पदयात्रा सानो ओखरेनीबाट चौतारा हुँदै र अर्को भोताङबाट मेलम्ची हुँदै। भोताङ सबैभन्दा सजिलो र रूचाइएको मार्ग हो।
पहिलो दिन काठमाडौंबाट यात्रा सुरू हुन्छ। यो यात्रा भोताङ हुँदै मेलम्ची हुँदै देउरालीसम्म पुगिनेछ। संस्कृति कला र मौलिकता झल्कने बस्ती, प्राकृतिक, सुन्दर र मनमोहक दृश्य, वनस्पति र जीवजन्तुहरू हेर्दै यो यात्रा अघि बढ्नेछ।
दोस्रो दिन देउरालीबाट अगाडि नोसेम्पटी हुँदै लाहुरे भञ्ज्याङ पुगिन्छ। तेस्रो दिन लाहुरे भञ्ज्याङबाट पाँचपोखरी पुगिन्छ। यही दिन पाँचपोखरी अवलोकन गरेर यो यात्रा फिर्ता हुनेछ। बेलुका टाङ्गुमा बास बस्न पुगिन्छ।
चौथो दिन टाङ्गुबाट भोताङ पुगिन्छ भने पाँचौं दिन भोताङबाट मेलम्ची हुँदै काठमाडौं आइपुगिनेछ।
मर्दी हिमाल
हिमाली क्षेत्रको ट्रेकिङ सुन्नासाथ घन्चमन्चमा बसिरहेका अधिकांशलाई रमाइलो लाग्छ। मनमा उत्साह भरिन्छ। यस्तै उत्साहित हुनेहरूका लागि हो मर्दी हिमाल पदयात्रा। मर्दी हिमाल अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने पदयात्रा हो।
आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियाल्न सकिन्छ। त्यस्तै लमजुङ बजार, घान्द्रुक, लान्द्रुक लगायत ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। वर्षको दुई सिजन गरेर पाँच महिना यहाँ जान सबभन्दा उपयुक्त महिना हुन्; मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर। काठमाडौंबाट मर्दीसम्म जानेहरूले ५ देखि ७ दिनको समय छुट्याए पुग्छ।
पहिलो दिन काठमाडौंदेखि पोखरा पुग्न सकिन्छ। सोही दिन धम्पुस (अस्ट्रेलियन क्याम्प) पुगिन्छ। दोस्रो दिन धम्पुसबाट फरेस्ट क्याम्पसम्म पुगिन्छ।
तेस्रो दिन फरेस्ट क्याम्पदेखि लो क्याम्प, चौथो दिन कम शिविरदेखि उच्च शिविर, पाँचौ दिन उच्च शिविर पुगिनेछ। छैटौं दिन हाइ क्याम्पदेखि साइडिङ गाउँ र सातौं दिन साइडिङ गाउँबाट पोखरासम्म पदयात्रा हुनेछ।
मुल्दाई ट्रेक
मुल्दाई ट्रेकिङ अन्नपूर्ण क्षेत्रमा रहेको नयाँ पदमार्ग हो। अन्नपूर्ण, धौलागिरि, लमजुङ, फिस्टेल, गंगापूर्ण लगायत हिमालयको दृश्य ३६० डिग्रीबाट हेर्न पाइन्छ।
पाँच दिनमा भ्याइने यो ट्रेक पहिलो दिन काठमाडौंबाट पोखरा पुगिन्छ। उही दिन पोखराबाट किम्चेसम्म गाडीमा र घान्द्रुकसम्म पैदलयात्रा हुँदै जान सकिन्छ।
दोस्रो दिन घान्द्रुकदेखि टाडापानी र दोबाटो पुगिन्छ।
तेस्रो दिन मुल्दाई भ्यू-प्वाइन्ट पुगिन्छ। सोही दिन घोरेपानीसम्म फर्किन सकिन्छ। चौथो दिन हिल हुँदै पोखरासम्म आउन सकिन्छ। सोही दिन वा भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ।
आमा याङ्ग्री
सिन्धुपाल्चोकमा रहेको आमा याङ्ग्री हालसालै खोलिएको नयाँ पदमार्ग हो। तीन हजार ७७१ मिटरको उचाइमा रहेको अमा याङ्ग्रीको चुचुरोबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु र सगरमाथाको मनमोहक दृश्य हेर्न सकिन्छ। यो गन्तव्य छोटो ट्रेकिङमार्गमा पर्छ।
पहिलो दिन गाडीमार्फत टिम्बु पुगिन्छ। सोही दिन पदमार्गमार्फत टार्के ग्याङ पुग्न सकिन्छ।
दोस्रो दिन आमा याङ्ग्री पुगेर टार्के ग्याङ झर्न सकिन्छ।
तेस्रो दिन टार्गे ग्याङबाट टिम्बुसम्म र सोही दिन सवारीमा काठमाडौं फर्किन सकिन्छ।
यसरी तीन दिनमा पनि आमा याङ्ग्री घुम्न सकिन्छ। यही ट्रेकिङलाई पाँच दिन बनाएर पनि घुम्न सकिन्छ।
वसन्त ऋतुको मार्च, मे र शरद ऋतुको सेप्टेम्बर, अक्टोबर र नोभेम्बर गरी पाँच महिना यो गन्तव्य ट्रेकिङका लागि उपयुक्त मानिन्छ।
यहाँ बताइएको समय औसतमा लेखिएको हो। हिँड्ने क्षमताअनुसार ट्रेकिङ दिन फरक हुन सक्छ। सकेसम्म गाइड लिएर जाँदा उपयुक्त हुन्छ।
पदयात्रामा लाग्ने खर्च पनि निश्चित हुँदैन। कस्तो ठाउँमा बस्ने र कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ।
यी पनि पढ्नुहोस्- ट्रेकिङ जाँदै हुनुहुन्छ? यसरी गर्नुहोस् तयारी
साता-दस दिन ट्रेकिङ जाने सोच छ? यी हुन् उपयुक्त ८ गन्तव्य