साता-दस दिनको समय मिलाएर कहीँ ट्रेकिङ जान मन छ। तर कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ?
तपाईं काठमाडौं उपत्यकामा बस्नुहुन्छ भने हामीले यो लेखमा आठवटा उपयुक्त गन्तव्यबारे छोटो जानकारी दिएका छौं।
यी गन्तव्यका विवरण हामीले पर्यटन व्यवसायीहरूको सुझावमा तयार पारेका हौं।
सगरमाथा आधार शिविर
पर्वतीय पर्यटनमा पहिलो नम्बर आउने मुख्य गन्तव्य सगरमाथा आधार शिविर नै हो। सगरमाथा आधार शिविरको पदयात्रा एभरेस्ट बेस क्याम्प ट्रेकिङका नामले चिनिन्छ। सगरमाथा क्षेत्रमा मकालु, नुत्से, माउन्ट चो ओयु जस्ता हिमालय शृंखलाहरूको मनोरम दृश्य हेर्न पाइन्छ।
आधार शिविरको यो यात्रा काठमाडौंबाट सुरू हुन्छ।
पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमा जान सकिन्छ। सोही दिन फाकदिङसम्म पुगिन्छ। दोस्रो दिन फाकदिङदेखि नाम्चे, तेस्रो दिन नाम्चेदेखि एभरेस्ट भ्यू प्वाइन्ट पुगेर खुम्दिङ भिलेज हुँदै नाम्चे नै आइपुगिन्छ।
चौथो दिन नाम्चेबाट दिबुचे हुँदै पाँचौं दिन दिबुचेदेखि दिङबोचे, छैटौं दिन दिङबोचेबाट लोबुचे पुगिन्छ।
सातौं दिन भने आधार शिविरका लागि यात्रा सुरू हुन्छ। यो दिन लोबुचेबाट गोरकसेप हुँदै आधार शिविर पुगिन्छ।
आठौं दिन गोरकसेपबाट काला पत्थर पुगिन्छ। सोही दिन फिरीचेसम्म आइपुगिन्छ।
नवौं दिन नाम्चे हुँदै लुक्ला आइपुगिन्छ।
दसौं दिन लुक्लाबाट काठमाडौं उडानमार्फत फर्किन सकिन्छ।
अन्नपूर्ण आधार शिविर
अन्नपूर्ण आधार शिविरलाई सगरमाथापछि दोस्रो लोकप्रिय पदयात्राका रूपमा लिइन्छ। एक सातासम्म स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य मन पराउनेहरूका लागि अन्नपूर्ण आधार शिविर रमाइलो पदयात्रा हो।
यहाँ जान शरद र वसन्त ऋतु उपयुक्त सिजन हो। अन्नपूर्ण पदयात्रामा विभिन्न दिशाबाट देखिने अन्नपूर्ण हिमालसँगै हिउँचुली, माछापुच्छ्रे, गंगापूर्ण, बराहा शिखर लगायत हिमशृंखला नजिकबाट नियाल्न पाइन्छ।
यो पदयात्रा कास्कीको पोखराबाट सुरू भएर सोही ठाउँमा टुंगिन्छ।
पहिलो दिन पोखरादेखि नयाँ पुलसम्म गाडीमा र त्यहाँदेखि घान्द्रुकसम्म हिँड्दै जानुपर्छ।
दोस्रो दिन घान्द्रुकदेखि छोमरोङ हुँदै सिनुवा र तेस्रो दिन सिनुवादेखि बाँस-दोभान-हिमालयन-देउराली पुगिन्छ।
चौथो दिन देउरालीदेखि एमबिसी हुँदै अन्नपूर्ण आधार शिविर पुगिन्छ।
पाचौं दिन अन्नपूर्ण आधार शिविरदेखि एमबिसी-देउराली हुँदै सोही ट्रेलमार्फत बाँस फर्किइन्छ।
छैटौं दिन बाँसदेखि झिनुसम्म, सातौं दिन मोक्यूदेखि नयाँपुल हुँदै पोखरा र सोही दिन गाडी अथवा उडानमार्फत काठमाडौं आइपुगिनेछ।
वा पोखरा बसेर भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ।
लाङटाङ/गोसाइँकुण्ड
गोसाइँकुण्ड र लाङटाङ एउटै ट्रेकिङमा पनि सम्भव छ।
लाङटाङ जान ६ दिन लाग्छ भने गोसाइँकुण्ड छुट्टै जान कम्तीमा ५ दिन लाग्छ। तर लाङटाङ जाँदा दुई दिन थप्नुभयो भने दुबै गन्तव्य पुग्न सकिन्छ। यसका लागि सुरूमा लाङटाङ त्यसपछि गोसाइकुण्ड पुग्न सकिन्छ।
काठमाडौंदेखि रसुवाको सदरमुकाम धुन्चेबाट एक हप्ताको प्याकेजमा दुवै गन्तव्य पुगिन्छ।
पहिलो दिन काठमाडौंदेखि गाडीमार्फत धुन्चे र स्याब्रुबेसी पुगिन्छ। यहीँबाट ट्रेकिङ सुरू हुन्छ। सोही दिन पदयात्रामार्फत पहिरो/बेम्बो पुगिन्छ।
दोस्रो दिन रिभर साइड हुँदै घोडे तबेला र लाङटाङ भिलेज पुगिन्छ।
तेस्रो दिन लाङटाङ भिलेजदेखि क्यान्जिन गुम्बादेखि क्यान्जिन री पिक र चर्गो री पिक पुग्न सकिन्छ। त्यहाँको दृश्य अवलोकनपछि सोही दिन ट्रेलमार्फत पहिरोसम्म फर्किन सकिन्छ।
चौथो दिन स्याब्रुबेसी झर्ने बाटोबाट ठूलो स्याब्रु हुँदै गोसाइँकुण्डको यात्रा सुरू हुन्छ।
पाचौं दिन चोलानपाटीसम्म र छैटौं दिन लौरीबिना हुँदै गोसाइँकुण्ड पुगिन्छ।
सातौं दिन भने गोसाइँकुण्डबाट धुन्चे हुँदै फर्किन सकिनेछ।
विशेषगरी गोसाइँकुण्ड पदयात्राले हिमालयको दृश्य, ताल, राष्ट्रिय निकुञ्जको मनोरञ्जन दिनेछ। लाङटाङ, लिरूङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू यो पदमार्गका क्रममा हेर्न सकिन्छ।
तिलिचो ताल
मनाङ जिल्लामा रहेको तिलिचो ट्रेकिङ जानेहरूको लोकप्रिय गन्तव्यमा पर्छ। यो ताल अन्नपूर्ण हिमालले घेरेको छ। यो ताल पदयात्राको अधिकांश पदयात्रा अन्नपूर्ण सर्किट मार्गमा छ। यसका लागि अक्टोबर, नोभेम्बर, मार्च र अप्रिल उपयुक्त समय मानिन्छ।
मनास्लु, लमजुङ, अन्नपूर्ण, गंगापूर्ण र तिलिचो हिमशृंखलाको मनोरम दृश्यका कारण पनि यो गन्तव्य लोकप्रिय छ। तिलिचो ट्रेकिङ कम्तीमा पनि एक साता लाग्छ। यसबाहेक जति धेरै समय लगाए पनि रमाइलो गर्न सकिन्छ।
पहिलो दिन काठमाडौंदेखि बेसीसहर र दोस्रो दिन बेसी सहर हुँदै चामेसम्म गाडीमार्फत जान सकिन्छ।
तेस्रो दिन पदयात्रा गर्दै चामे हुँदै मनाङ र चौथो दिन मनाङदेखि तिलिचो ताल पुगिन्छ।
पाचौं दिन तिलिचोबाट श्रीखर्क, छैटौं दिन श्रीखर्क हुँदै चामे र सातौं दिन चामे हुँदै काठमाडौं आइपुगिन्छ।
शे-फोक्सुन्डो ताल
पहिलो दिन काठमाडौंबाट नेपालगन्ज अनि नेपालगन्जदेखि जुफालसम्म जहाजमा जान सकिन्छ।
दोस्रो दिन सुलिघाटदेखि कागेनी हुँदै चुनुवार र तेस्रो दिन चुनुवारदेखि फोक्सुन्डो तालसम्म पुगिनेछ।
चौथो दिन फोक्सुन्डो भ्यू प्वाइन्टहरू पुग्न सकिन्छ।
त्यस्तै पाचौं दिन फोक्सुन्डोदेखि छेपकासम्मको पदयात्रा, छैटौं दिन छेपकादेखि जुफालसम्म आइपुगिन्छ।
भोलिपल्ट जुफालदेखि नेपालगञ्ज र काठमाडौंसम्म जहाजमा फर्किन सकिन्छ।
फोक्सुन्डोको विशेषता भनेको राष्ट्रिय निकुञ्ज अवलोकनसँगै पदयात्राका क्रममा देखिने रिग्म गाउँ, गुम्बा र चैत्य हुन्।
गोक्यो ताल
गोक्यो भ्याली सगरमाथा क्षेत्रमा रहेको साहसिक ट्रेकिङ गन्तव्य हो। यहाँबाट सगरमाथा, चो ओयु, ल्होत्से र मकालु हिमालहरू अवलोकन गर्न सकिन्छ। शरद र वसन्त ऋतुका ६ महिना यो ट्रेक उपयुक्त मानिन्छ।
दस दिनको यो ट्रेकिङका लागि पहिलो दिन काठमाडौंबाट लुक्लासम्म उडान र सोही दिन फाकदिङसम्म ट्रेकमार्फत जान सकिन्छ।
दोस्रो दिन फाकदिङदेखि नाम्चेबजार, तेस्रो दिन नाम्चे बजारदेखि थामे र चौथो दिन थामेदेखि खुम्जुङसम्म पुगिन्छ।
त्यस्तै पाचौं दिन खुम्जुङदेखि डोल हुँदै माछेर्मो र छैटौं दिन माछेर्मोदेखि गोक्यो ताल पुगिन्छ।
सातौं दिन गोक्योदेखि गोक्यो री ट्रेक त्यसपछि माछेर्मो र आठौं दिन माछेर्मोदेखि नाम्चेबजार फर्कन सकिन्छ।
नवौं दिन नाम्चेबजारदेखि लुक्ला पदयात्रा र भोलिपल्ट लुक्लाबाट काठमाडौं उडानमार्फत फर्कन सकिन्छ।
अप्पर चुम भ्याली
अप्पर चुम भ्याली अरू ट्रेकिङभन्दा अलि फरक छ। यसलाई 'हिडन भ्याली' अर्थात् लुकेको उपत्यका पनि भनिन्छ।
पहाड र फेदी पार गर्दै पुगिने यो गन्तव्यमा एउटा गाउँ छ। तिब्बतसँग व्यापारिक सम्बन्ध राख्ने र तल्लो भेगमा व्यापार गर्ने ऐतिहासिक गाउँ पनि हो। यो ठाउँबाट गणेश हिमाल, शृगी हिमाल लगायत थुप्रै हिमशृंखलाहरू अवलोकन गर्न सकिन्छ।
पहाडको भित्तामा गुफा भेटिन्छन्। करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मु गुम्बा यहाँको अर्को आकर्षण हो। फिल्म सिटीझैं लाग्ने यो उपत्यका आफ्नै मौलिक संस्कृतिले भरिएको छ।
यो ट्रेकिङका लागि पहिलो काठमाडौंबाट गाडीमार्फत गोरखा हुँदै माछा खोलासम्म यात्रा गर्नुपर्छ।
दोस्रो दिन माछा खोलादेखि जगतसम्मको पदयात्रा हुन्छ।
तेस्रो दिन जगतदेखि लोक्पासम्म, चौथो दिन लोक्पादेखि चुम्लिङ र पाचौं दिन चुम्लिङदेखि छेकम्पारसम्म पुगिन्छ।
सातौं दिन छेकम्पारदेखि नाइल र आठौं दिन नाइलदेखि मु गुम्बा पुगिन्छ। सोही दिन छेकम्पार फर्किन सकिन्छ।
नवौं दिन छेकम्पारबाट एक्ले भाटीसमम्म हिँड्ने र दसौं दिन एक्ले भाटीदेखि लापुबेसीसम्म आइपुग्न सकिन्छ।
भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ।
च्छोरोल्पा/दूधकुण्ड
दोलखामा रहेको च्छोरोल्पा ताल ट्रेकिङका लागि लोकप्रिय गन्तव्यमा पर्छ। यहाँबाट गौरीशंकर, रोल्वालिङ, मेलुङ्गत्से लगायत हिमशृंखला अवलोकन गर्न पाइन्छ।
यो ट्रेक रोल्वालिङ नदीको छेउमा भएको ट्रेलबाट सुरू हुन्छ। खोला, मानव बस्ती, घना जंगल, झोलुंगे पुल पार गर्दै यो यात्रा अघि बढ्छ।
पहिलो दिन गाडीमा काठमाडौंदेखि छेतछेतसम्म जान सकिन्छ। सोही दिन करिब दुई घन्टा हिँडेर सिमीगाउँ पुगिन्छ।
दोस्रो दिन सिमीगाउँदेखि थाङदिङ, तेस्रो दिन थाङदिङदेखि नागाउँ र चौथो दिन नागाउँदेखि च्छोरोल्पा पुगिन्छ।
यदि च्छोरोल्पाबाट दूधकुण्ड जाने हो भने नागाउँबाट पाचौं दिन सुरूमा दूधकुण्ड पुगेर त्यहाँबाट च्छोरोल्पा ताल हुँदै नागाउँ फर्किन सकिन्छ। दूधकुण्ड नपुग्ने हो भने च्छोरोल्पा ताल अवलोकन गरेर पाचौं दिनमै नागाउँ हुँदै क्याल्चेसम्म ओरालो लाग्न सकिन्छ।
दूधकुण्ड जाने हो भने नागाउँ अथवा बेदिङसम्म ओरालो झर्न सकिन्छ। छैटौं दिनमा त्यहाँबाट छेतछेतसम्म र भोलिपल्ट काठमाडौं आइपुगिन्छ।
यी पदयात्रा विभिन्न ट्राभल कम्पनीहरूमार्फत पनि जान सकिन्छ। त्यसरी जाँदा पाँच जनाको समूह बनायो भने जिपमा जान पाइन्छ। खाने र बस्ने व्यवस्था कम्पनीले गरिदिन्छ। साथमा एक जना ट्रेकिङ गाइड पनि व्यवस्था हुन्छ।
यहाँ बताइएको समय औसतमा लेखिएको हो। हिँड्ने क्षमताअनुसार ट्रेकिङ दिन फरक हुन सक्छ। सकेसम्म गाइड लिएर जाँदा उपयुक्त हुन्छ।
पदयात्रामा लाग्ने खर्च पनि निश्चित हुँदैन। कस्तो ठाउँमा बस्ने र कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ।