नेपालमा यतिबेला पर्यटकीय सिजन सुरू भइसकेको छ। मनसुन रोकिएर पर्यटकीय सिजन सुरू भएसँगै पर्यटकको चहलपहल पनि बढ्न थालेको छ।
पर्यटकका लागि सिजन मानिने सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँछन्। यी सबै गन्तव्यका लागि यतिबेला पर्यटकहरूले अग्रिम बुकिङ थालिसकेका छन्।
सिजनका लागि विभिन्न हिमाल आरोहणका लागि खुला भइसकेको छ। पर्यटन विभागका अनुसार गत शुक्रबारसम्म विभिन्न १९ वटा हिमाल चढ्नका लागि तीन सय ९५ जनाले अनुमति लिइसकेका छन्।
विभागकाअनुसार शरद ऋतुका लागि उत्तम मानिने मनास्लु हिमाल चढ्न अहिलेसम्म सबैभन्दा धेरैले अनुमति लिएका छन्। मनास्लुका लागि तीन सय एक जनाले अनुमति लिएका हुन्। जसमा दुई सय ३६ जना पुरूष र ६५ जना महिला छन्।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा निरू शेर्पाका अनुसार कोभिडपछि यसपाली हिमाल आरोहणमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ। सेप्टेम्बरको सुरूवातदेखि नै पर्यटकहरूले आरोहण अनुमति लिइरहेको उनले बताए।
'सेप्टेम्बर पहिलो साताबाटै पर्यटकहरू हिमाल आरोहणमा निस्किसकेका छन्,' उनले भने, 'अहिले पनि अनुमति लिने र हिमाल चढ्न जानेको क्रम चलिरहेकै छ।'
यता पर्यटक आगमन बढ्न थालेपछि कोभिडका कारण थलिएको पर्यटन उद्योग पुरानै लयमा फर्कने संकेत देखिएको व्यवसायीहरूले बताएका छन्।
यसपालि सन् २०१९ को हाराहारीमा पर्यटकीय गतिविधि हुने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले बताए।
'सिजन सुरू हुँदैछ। पर्यटकीय चहलपहल बढेको छ,' उनले सेतोपाटीसँग भने, 'आगामी अक्टोबर र नोभेम्बरका लागि बुकिङ निकै राम्रो छ।'
यसपालि अघिल्लो महिना (अगस्ट) देखि नै पर्यटकको संख्या बढेको उनले बताए। चीनले आफ्ना नागरिकहरूलाई भ्रमणका लागि खुला गरे पनि यता नेपालमा आशा गरेअनुसार चिनियाँ पर्यटक अझै बढ्न नसकेको उनको भनाइ छ।
गत महिना चीनबाट पाँच हजार बढी पर्यटक आएका थिए। जब कि कोभिडअघि चीनबाट मासिक १५ हजार बढी पर्यटक आउँथे।
'ट्रेकिङका साथीहरूले युरोपेली पर्यटकहरूको बुकिङ राम्रै छ भन्नुभएको छ,' उनले भने, 'टुरका लागि भारतीय पर्यटकहरू बढेका छन्। चीनबाट बढ्न सकेको छैनन्।'
शरद ऋतुमा विशेषगरी पर्यटकहरू ट्रेकिङकै लागि आउने भएकाले ट्रेकका लागि बुकिङ बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष प्रदीप पण्डित बताउँछन्।
'यो सिजनमा एड्भेन्चरकै लागि आउने भएकाले पनि ट्रेकिङमा राम्रै बुकिङ आइरहेको छ,' उनले भने, 'कोभिडअघिकै लयमा यसपालि पर्यटक आगमन हुने देखिन्छ।'
उनका अनुसार कोभिडअघि ट्रेकिङ जाने पर्यटक संख्या निकै राम्रो थियो। तथ्यांकअनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले पदयात्रा तथा पवर्तारोहण गरेका थिए। कोभिडका कारण सन् २०२० यो संख्या घटेर ३५ हजार ८ सयमा झर्यो। सन् २०२१ मा १५ हजार पाँच सय पर्यटक पदयात्रामा गएका थिए। त्यस्तै सन् २०२२ मा ६१ हजार ७०१ पर्यटक हिमाल आरोहण र ट्रेकिङ गएका थिए।
सेप्टेम्बरको मध्यबाट सुरू हुने पर्यटकीय सिजनका लागि देशभरको होटलहरूमा हालसम्म ५० प्रतिशत बुकिङ आएको होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए।
विभिन्न गन्तव्यमा जान पर्यटकहरू काठमाडौं आउनुपर्ने भएकाले काठमाडौंका होटलहरूमा भने अकुपेन्सी बढेको उनी बताउँछन्।
'बाहिरतिरका होटलमाभन्दा काठमाडौंमा अकुपेन्सी राम्रो छ,' उनले भने, 'धेरैजसो पर्यटकहरूले ट्रेकिङ र ट्राभलका लागि पहिल्यै बुकिङ गरे पनि होटलमा एक/दुई दिनअघि मात्र बुकिङ आउँछ।'
पर्यटकीय गन्तव्यहरू चितवन, पोखरा, भैरहवा लगायतमा भने पर्यटकको चहलपहल नरहेको व्यवसायीहरूले बताएका छन्। सबै गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन सरकारी तहबाटै योजना बनाएर अघि बढ्नुपर्ने होटल संघका अध्यक्ष विनायक शाह बताउँछन्।
सरकारले नीति र कार्यक्रम कार्यान्वयन गर्न नसक्दा जति पर्यटक भित्र्याउनुपर्ने हो त्यति ल्याउन नसकेको उनले गुनासो गरे। सन् २०२३ लाई पर्यटन वर्ष घोषणा गर्ने र पर्यटन दशक पनि सुरू हुने भए पनि अहिलेसम्म कुनै पनि कार्यक्रमहरू अघि नबढेको उनले बताए।
कोभिडपछि अन्य मुलुकले पर्यटक भित्र्याउन योजना र प्याकेज घोषणा गरेर तेब्बरको संख्या पर्यटक बढाइसकेको बताउँदै उनले भने, 'पर्यटन भित्र्याउने मात्र भनेर हुँदैन। सरकारको योजना खोइ? यसमा निजी क्षेत्रमा मात्र अघि बढेर हुँदैन।'