पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक रहेको र एकीकृत प्रयास आवश्यक भएको विज्ञ तथा खेलाडीहरूले बताएका छन्।
खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा जनचेतना जगाउने उद्देश्यले हिमाली जिल्ला मनाङको उच्च स्थान (हाइअल्टिच्युड)मा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवसरमा यस क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरूले सो कुरामा जोड दिएका हुन्।
जैविक विविधता संरक्षण समाज (बायोकोस)नेपाल, आन्ट फाउण्डेशन र वाइल्ड एण्ड फ्री फाउण्डेशनको संयुक्त आयोजना र मनाङ जिल्लाका विभिन्न स्थानीय तहहरूको समन्वय तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो।
मनाङका तीन वटा स्थानीय टीम कजिनसरा याक, पिसाङ याक र मनाङ याकबीच भदौ २५ देखि २७ गतेसम्म मनाङका तिमाङ, पिसाङ र मनाङ मुङ्गजीमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो। खेलमा नेपालका ख्याती प्राप्त कलाकारहरू, खेलाडीहरू सहभागी थिए।
खेलहरू समुद्री सतहबाट २८ सय देखि ३६ सय मिटरसम्मको उचाईमा खेलाइएको थियो। तिमाङमा आयोजित खेलमा हिमालयन स्नो लेपर्डले टिम कजिनसरा याकलाई तीन गोलका विरुद्ध चार गोल गरी विजय हासिल गरेको थियो।
यस्तै, दोस्रो दिन पिसाङमा आयोजित खेलमा पिसाङ याक टीमलाई एकका विरुद्ध तीन र तेस्रो दिन मनाङ मुङ्गजी भ्राकामा आयोजित खेलमा मनाङ याकमाथि एकका विरूद्ध दुई गोल गर्दै तीनवटै म्याचमा हिमालयन स्नो लेपर्डले विजय हासिल गरेको थियो।
कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी शुप्रभा खनाल ढुङ्गेलले मनाङ पर्यटनको लागि अथाह सम्भावना रहेको बताइन्। यस प्रकारका खेलले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जानकारी दिइन्।
हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्या पर्यटनको प्रचार तथा प्रर्वद्धन, जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि लगायतका उद्देश्यसहित मैत्रीपूर्ण खेल आयोजना गरिएको बायोकोस नेपालका निर्देशक पारसविक्रम सिंहले बताए।
यस्तै, आयोजक आन्ट फाउण्डेशनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणका लाागि जनचेतना अभिवृद्धि एवं खेल पर्यटन/पर्या पर्यटनको प्रवर्द्धनको लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको जानकारी दिए।
मनाङ चिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा आयोजित यस कार्यक्रमले नेपालकै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए।
उक्त क्षेत्रमा लोपोन्मुख प्रजातीका करिब १२ देखि १५ वटासम्म हिमचितुवा रहेको छ। हिमचितुवाको मुख्य आहारका रुपमा रहेको नाउरहरू पनि लोप हुँदै जानेक्रम बढेकोले पनि हिमचितुवा संरक्षण र याक संरक्षणका लागि नाउरहरूको संरक्षण समेत आवश्यक रहेको यस क्षेत्रमा अध्ययन गरिरहेका विज्ञहरूको जोड छ।