भारतको पश्चिम बंगालका नगारिकलाई पोखरा घुम्न व्यवसायीहरूले निम्ता दिएका छन्। सिलगुडीमा आयोजित 'बंगाल ट्राभल मार्ट' मा सहभागी भएर पोखरेली व्यवसायीले भारतीय नागरिकलाई पोखरा घुम्न निम्ता दिएका हुन्।
ट्राभल मार्टमा नेपाली पर्यटन व्यवसायीले स्टल राखेर नेपालको प्रर्वद्धन गरिरहेको छ। स्टलमा व्यवसायीले पोखरा, मुक्तिनाथ, पदमार्ग लगायतको डकुमेन्ट्री प्रदर्शन गरेका छन् भने स्टल घुम्न आउने भारतीय नागरिक तथा व्यवसायीलाई पोखरा घुम्न निम्ता गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए।
'बंगाल ट्राभल मार्टमा आएका भारतीय नागरिक र व्यवसायीलाई हामीले पोखरा घुम्न निम्ता दिएका छौं,' उनले भने, 'उहाँहरूले पोखरा र आसपासका ठाउँ घुम्न चासो दिनुभएको छ ।'
ट्राभल मार्टमा नेपाल, भुटान र भारतका विभिन्न राज्यका पर्यटन व्यवसायी सहभागी छन्। अधिकारीका अनुसार एक अर्का देशका व्यवसायीबीच टुर प्याकेज बिक्री बिटुबी र स्टलमा आएका पर्यटकलाई पोखरा घुम्ने प्याकेज बिक्री बिटुसी गरेको अध्यक्ष अधिकारीले बताए।
मार्टमा पोखरा, काठमाडौं, कोशी प्रदेश लगायतका स्थानबाट पर्यटन व्यवसायी सहभागी छन्। नेपालबारे चासो राखेका विदेशी पर्यटक र पर्यटन व्यवसायीले नेपालको सडकको अवस्था खराब भएको गुनासो गरेका थिए। निर्माणाधीन पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको अवस्था खराब हुँदा पोखरा पुग्नै मुश्किल परेको उनीहरूको गुनासो छ।
राजमार्ग निर्माणको चरणमा भएकाले केही अप्ठ्यारो भए पनि अब वर्षा सकिएपछि सजिलो हुने भन्दै अध्यक्ष अधिकारीले आश्वस्त पारेका थिए।
सातौं संस्करणमा आयोजित बंगाल ट्राभल मार्टमा पोखरेली पर्यटन व्यवसायी विगतदेखि नै सहभागी हुँदै आएका छन्। नेपालको सिमावर्ती सहरमा पोखरालाई प्रवर्द्धन गर्न सके भारतीय पर्यटक अझै बढ्न सक्ने नाट्टा गण्डकीका महासचिव संगीता पौडेलले बताइन्।
'अहिले पोखरा घुम्न आउने भारतीय पर्यटक अधिकांश सीमावर्ती सहरकै छन्,' उनले भनिन्, 'सीमावर्ती सहरमा अझै पोखराको प्रवर्द्धन गर्न हामी बंगाल गएका हौं।'
कोभिड–१९ महामारीपछि पोखरा आउने अधिकांश पर्यटक भारतीय छन्। गत जनवरीदेखि असार पहिलो सातासम्म मात्र ५१ हजार भारतीय पर्यटक मुक्तिनाथ घुम्न गएका थिए। भारतका सहरहरूमा पोखराको प्रवर्द्धन गर्न सके पर्यटकको संख्या अझै बढ्न सक्ने पौडेलले बताइन्।
इस्ट हिमालयन ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसनको आयोजनामा भएको ट्राभल मार्टमा डेढ सय बढी स्टल छन्। उक्त स्टलहरूमा नेपाल, भारत र भुटानका पर्यटकीय स्थलहरूका बारेमा जानकारी गराइएको छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको पर्यटनमा भारतीय पर्यटकको योगदान बढेको बताए।
'कोभिडपछि नेपाल घुम्ने भारतीय पर्यटक बढेका छन्। यसले नेपाली व्यवसायीलाई राहत दिएको छ,' उनले भने, 'पोखराका पर्यटन व्यवसायी भारतसहित सबै देशका व्यवसायीसँग सहकार्य गर्न चाहन्छ।'
बंगाल ट्राभल मार्टमा पोखराका व्यवसायी विगतदेखि नै सहभागी हुँदै आएको भन्दै यस्ता कार्यक्रमले व्यवसायीबीच सहकार्य र पर्यटकलाई सही सूचना दिन सफल भएको बताए।
मार्टको शनिबार साँझ उद्घाटन गर्दै सिलगुडीका मेयर गौतम देवले पर्यटनले अर्थतन्त्र चलायमान बनाउने बताए। एक देशका पर्यटक अर्को देशमा जाँदा नयाँ अनुभवसँगै अर्थतन्त्रलाई फाइदा पुग्ने भन्दै उनले पर्यटनमा सहकार्य आवश्यक रहेको बताए।