नेपाल नागरिक उड्डयन प्राधिकरणले ३६ अर्ब रूपैयाँको बजेट पास गरेको छ।
यस वर्षको बजेट प्राधिकरणकाे सञ्चालक समितिले मंगलबार पारित गरेको हो।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब ६६ करोड रुपैयाँको अनुमानित आय–व्यय (बजेट) पास गरेको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष ४१ अर्ब ८५ करोडको बजेट ल्याएको थियो।
उक्त बजेटको तुलनामा चालु आर्थिक वर्ष प्राधिकरणको बजेट ५ अर्ब १९ करोडले घटेको छ। विशेषगरी, दुई राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा सञ्चालनमा आइसकेकाले पनि यसपाली बजेट घटेको प्रवक्ता निरौलाले बताए।
विमानस्थलको पूर्वाधार विकास, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा परेका छन्।