नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरूसँग आग्रह गरेको छ।
नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरूको टोलीसँग सोमबार बोर्डमा आयोजित भेटघाट कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका हुन्।
उनले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेकाले त्यसबारेमा पहल गरिदिन सांसदहरूलाई आग्रह गरे।
'नेपाल नेचर, कल्चर र एडभेन्चरका लागि विश्वभरकै पर्यटकका लागि आर्कषणको केन्द्र हो। धेरै युरोपियनहरू नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहन्छन्। तर, सिधा हवाइ सम्पर्कको अभावका कारण त्यो हुन सकिरहेको छैन,' उनले भने, 'हवाइ सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्दर्भमा युरोपियन आकाशको प्रतिबन्ध हटाउन यहाँहरूको भूमिका महत्वपूर्ण रहन सक्छ। त्यसो भयो भने स्वीडेनका तर्फबाट नेपालीका लागि ठूलो उपहार हुनेछ।'
यस्तै, सिइओ डा. रेग्मीले स्वीडेन डेभलपमेन्ट को-अपरेशसन एजेन्सिज (सिडा)सँग नेपालको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने बताउँदै त्यसको लागि समेत आवश्यक समन्वयका लागि टोलीसँग अनुरोध गरे।
भेटका अवसरमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समय देखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै यस विषयमा पहल गर्ने आश्वासन दिए।
यस्तै सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरू पहिचान गरी आवश्यक पहल गर्ने बताए।
बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको थिए। त्यस्तै सन् २०२३ को जनवरीदेखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए।