नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ।
निगमले आगामी भदौ १२ गते (२९ अगष्ट २०२३) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो।
भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरू गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ।
उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ।
साथै, ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै, कनेक्टिङ उडानमा चढ्नेछन्।
यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमका प्रवक्ता रमेश पौडेलले बताए।