नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा अपरेसन आवरपछि पनि निश्चित मापदण्ड पालना गरेर उडान अनुमति दिने भएको छ।
यसअघि प्राधिकरणले साउन १६ गते विभिन्न विमानस्थलमा 'अपरेसन आवर' (बिहान ६:३० देखि दिउँसो १२ बजेसम्म)पछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको थियो।
तर, व्यवसायीहरूले यसको विरोध गरेपछि प्राधिकरणले बिहीबार पहाडी क्षेत्रमा अवस्थित छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलहरूमा उडानका लागि चारवटा निर्णय गरेको छ। स्टोल विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित गर्न तत्काल लागू हुने गरी प्राधिकरणले चार निर्णय गरेको हो।
प्राधिकरणले स्टोल विमानस्थलबाट उडान गर्दा प्रत्येक उडानमा सिएए 'कार (२)' मा भएका 'भिएमसी' (भिजिबिलिटी एण्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को सुनिश्चितता गरी चालक र डिस्प्याचरको लिखित घोषणापछि मात्र उडान अनुमति दिइनेछ।
त्यस्तै, स्टोल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाइ मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको 'भिएमसी मिनिमा' कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि मात्रै उडान अनुमति प्रदान गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नेपालगञ्ज विमानस्थलबाट पहाडी क्षेत्रका स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्य रूपमा उडान सञ्चालन अधिकारी (एफओओ)को व्यवस्था गर्नुपर्नेछ। त्यसपछि उडान सञ्चालनको सम्पूर्ण कार्य सोही अधिकारीमार्फत् गर्नुपर्ने पनि प्राधिकरणले निर्णय गरेको छ।