नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टर उडानमा प्रतिबन्ध नलगाइएको बताएको छ।
केही दिनयता दुर्गमका विमानस्थलमा उडान गर्न नदिएको भन्दै विरोध भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अत्यावश्यक सेवाका लागि कुनै रोकटोक नरहेको जनाएको हो।
विमानस्थल सञ्चालन गर्न तोकिएको समयभित्र नियमित उडान भइरहेको र अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टर उडानमा कुनै प्रतिबन्ध नलगाइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।
'केही दिनयता सामाजिक सञ्जालमा दुर्गममा उडानका लागि प्राधिकरणले उडान गर्न दिएन भन्ने भ्रामक कुराहरू आइरहेका छन्,' उनले भने, 'व्यावसायिक उडानका लागि अपरेसन आवर तोकिएको हो। अन्य उडानमा कुनै रोकटोक छैन।'
साथै, आन्तरिक उडानमा ९० प्रतिशत दुर्घटना इनरूट वेदर (जहाज उडान हुने रूट) का कारण जहाज बादलभित्र छिरेकाले दुर्घटना भइरहेको महानिर्देशक अधिकारीले बताए।
यसको जोखिम नियन्त्रणका लागि प्राधिकरणले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको उनले बताए।
'यसअघि पनि नियम थियो तर परिपालना नहुँदा जोखिम झनै बढ्यो। यसलाई प्राधिकरणले मनसुन अवधिभर कार्यान्वयन गर्न लागेको हो,' महानिर्देशक अधिकारीले भने।
पछिल्लो समय नेपाली आकाशमा हवाई दुर्घटना बढेपछि प्राधिकरणले साउन १६ गते उडान सुरक्षामा कडाइ गर्दै उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको 'अपरेसन आवर' भित्र रही सम्बन्धित वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय गरेको थियो।
त्यस्तै, आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको अपरेसन आवरको समयभन्दा अघि र पछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त सयम उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय प्राधिकरणले गरेको थियो। तर प्राधिकरणले गरेको व्यवस्थापछि केही पर्यटन व्यवसायीले यसको विरोध गरिरहेका छन्।