नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुकभरका विमानस्थल आसपासमा उडान तथा हवाई सुरक्षामा असर पर्ने व्यक्तिगत तथा सार्वजनिक संरचना अध्ययन गर्ने भएको छ।
प्राधिकरणले ५४ वटा विमानस्थलमध्ये हाल उडान भइरहेका ३४ वटा विमानस्थलको तीन किलोमिटर आसपासमा निर्माण भएका सम्पूर्ण व्यक्तिगत तथा संस्थागत भौतिक संरचनाले विमानस्थलमा हुने उडान/अवतरणमा उडान सुरक्षा तथा हवाई सुरक्षामा पार्न सक्ने असरबारे अध्ययन गर्न प्राधिकरण, प्रधान कार्यालयस्थित हवाई सुरक्षा विभागका उपनिर्देशक, श्रीहरि भट्टको संयोजकत्वमा चार सदस्यीय सुझाव समिति गठन गरेको हो।
उक्त समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ र क्यान सिएआर-१४ बमोजिम विमानस्थलको वरिपरि हवाई सुरक्षामा गम्भीर असर गर्ने घर, भवन, टावर तथा अन्य संरचना अध्ययन गरी हटाउनुपर्ने सुझावसहित प्राधिकरण महानिर्देशक समक्ष सिफारिस गर्नेछ।
समितिले पहलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा हवाई सुरक्षामा असर पर्ने संरचनाहरूबाट विमानस्थलमा पर्नसक्ने बाधाबारे बृहत् अध्ययन गर्नेछ।
विमानस्थल वरिपरिका अग्ला संरचनाले कम उचाइमा उड्ने जहाज तथा हेलिकप्टर कम्पनीको सुरक्षामा असर गर्ने गरेको विमान चालकहरूले प्राधिकरण समक्ष पटक पटक गुनासो गर्ने गरेका छन्।