नेपाल नागरिक उड्डयन प्राधिकरणका विरूद्धमा आवाज उठाउँदा आफ्नो कम्पनीलाई नै कारबाही गरेको सिम्रिक एयरले आरोप लगाएको छ।
समयमै बक्यौता नबुझाएको भन्दै प्राधिकरणले शुक्रबारदेखि सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक लगाएपछि कम्पनीले यस्तो आरोप लगाएको हो।
वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत रहेका क्याप्टेन रामेश्वर थापाले हवाइ सेवा कम्पनीहरूका विषयमा बोल्दा व्यक्तिगत रूपमै लक्षित गरी भ्रम सिर्जना गर्न खोजिएको विज्ञप्तिमार्फत बताएका छन्।
विज्ञप्तिमा लेखिएको छ, 'विगत केहि समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाइ कम्पनीहरूलाई निरुत्साहित गर्ने र यस व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक–पटक बिनाकारण दुःख दिँदै आएकोमा सोको विरुद्धमा संघका अध्यक्षको हैसियतले यस्तो प्रकारको बेथितिको सम्बन्धमा यस कम्पनीका अध्यक्षले आवाज उठाएको हुनाले निजलाई व्यक्तिगत रुपमै लक्षित निज आवद्ध संस्थाको गरिमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिन्छ।'
सिम्रिक एयरको नाममा प्राधिकरणले साउन २१ गते ७ दिनभित्र हिसाब मिलान गर्न आउन भनि पत्राचार गरी पत्रमा दिएको मिति अगावै वदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढगंले, प्रतिशोध साध्ने उद्देश्यले आफ्नो अधिकारको दुरूपयोग गरी यस संस्थाको गरिमामा आच पुर्याउने उद्देश्यले कपोलकल्पिक झुटा र भ्रामक समाचार सम्प्रेषण गरिएको कम्पनीको आरोप छ।
सिम्रिकले सेवा उपभोग गरे बापतको रकम प्राधिकरणलाई क्रमशः बुझाउँदै आएको र उक्त पत्र प्राधिकरणको खाताबन्दीका क्रममा देखिन आएको छुटफुट रकम भएको कम्पनीको दाबी छ।
सो रकम कम्पनीको उडान विवरण र हिसाबसँग रूजु भइ मेल खाएमा भुक्तानी गर्ने र नभए सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने सिम्रिक एयरले जनाएको छ।
प्राधिकरणले यसको क्षतिपूर्ति दिनुपर्ने भन्दै सिम्रिकले शुक्रबार प्रधानमन्त्री कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अख्तियार दुरूपयोग आयोग अनुसन्धानलाई बोधार्थ सहित प्राधिकरणलाई पत्र पठाएको छ।