नेपालस्थित चिनियाँ दूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहआयोजनामा सञ्चालित छ महिने चिनियाँ भाषा तालिम सम्पन्न भएको छ।
नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौ चिनियाँ भाषा तालिम आयोजना गरिएको हो।
तालिममा पर्यटन बोर्डका कर्मचारी सहित ४० जना पर्यटन व्यवसायीहरू सहभागी थिए।
तालिमको समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै यो तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताए।
मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनियाँ भाषा तालीम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ।
नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ जिनले भाषा तालिमले भाषाको मात्र नभई चिनियाँ कला संस्कृतिका बारेमा समेत जानकारी आदान प्रदान भएको बताए।
उनले पर्यटन बोर्डसँगको सहकार्यमा हालै पोखरामा आयोजित 'नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल' सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य जारी रहने उल्लेख गरे।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने जानकारी दिए।
उनले पर्यटन प्रवर्द्धनका लागि दूतावाससँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू भइरहेको बताउँदै यो भाषा तालिमले नेपाली पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि हुने अपेक्षा गरेको बताए। तालिम समापनका अवसरमा सहभागीहरूले विभिन्न चिनियाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए।